अब डाइरेक्सन गर्ने इच्छा छ – कामेश्वर चौरसिया

चीनबाट आयातित ‘मास्क’ उतैतिर निर्यात

पोखरा – छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिएपछि नेपालमा रहेका चिनियाँले आफन्त र साथीभाइलाई मास्क कोसेली पठाउन थालेको छ। अहिले धमाधम कोसेलीका रूपमा पठाइँदै गरेका ती मास्क कुनैबेला चीनबाटै आयात गरिएका हुन्। अहिले व्यापारिक रूपमै चीनका विभिन्न सहरमा मास्क निर्यात हुन थालेपछि पोखरामा मास्क अभाव हुन थालेको छ।

पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका चिनियाँ व्यवसायीले चीनका विभिन्न सहरमा मास्क निर्यात गरिरहेका छन्। चिनियाँ व्यवसायीद्वारा लेकसाइडमा सञ्चालिन हेल्लो वल्र्ड जर्नीले सोमबार चीन पठाउने मास्क धमाधम ट्रकमा लोड गरिरहेके। हेल्लो वल्र्ड जर्नीमा कार्यरत कर्मचारी पवन अधिकारीले अहिलेसम्म दुई ट्रक मास्क चीनमा पठाइसकेको जानकारी दिए। सोमबार तेस्रो चरणको निर्यातका लागि ट्रकमा मास्क लोड गरिरहेका उनले अहिलेसम्म २५ लाखजति मास्क हेल्लो वल्र्डमार्फत चीन पठाइएको जानकारी दिए।

पोखरामा सञ्चालित विभिन्न मेडिकलबाट ती मास्क संकलन गरेर चीन निर्यात गरिरहेको उनले बताए। ‘पोखरामा बसिरहेका कतिपय चिनियाँले चीनमा रहेका आफन्त र साथीभाइलाई मास्क कोसेलीका रूपमा पठाइरहेका छन् भने केहीले यहाँ खरिद गरेर चीनमा बिक्री गरिरहेका छन्,’ उनले भने, ‘चीनबाट अर्डर आएबमोजिम यहाँ मास्क संकलन गरिएको छ।’ अधिकारीका अनुसार ५० वटा दरले प्याकेट बनाएर चीनका विभिन्न ठाउँमा पठाइएको छ। ५० पिसको प्याकेटलाई पोखरामा ३ सय रुपैयाँमा खरिद गरेको उनले बताए। चीनमा कति मूल्यमा निर्यात भइरहेको भन्नेबारे भने चिनियाँले बताउन चाहेनन्।

ल्याब परिक्षण गर्न प्रदेशबाट स्वास्थ्यकर्मी खटिए

बाजुरा- हिमाली गाउँपालिका-६ मा देखिएको ज्वरोको संक्रमण नियन्त्रणमा नआएपछि उपचारका लागि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटाईएको छ । संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य कार्यालय बाजुराले चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाएको हो । एक जना चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाईएको वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

डाक्टर राजुराज जोशी नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी र एक जना ल्याप टेक्नीसियनलाई गाउँ पठाउन लागिएको अधिकृत पन्तले बताएका छन् । सिअहेव कुलबहादुर रावल र हस्त कठायत गाउँ पुगीसकेका छन् । भने परिक्षण उपकरणसहित डाक्टर राजुराज जोशी र ल्याब टेक्नीसियन भोली मात्र गाउँ पुग्ने बताईएको छ ।

ल्याब परिक्षण उपकरण र प्राविधिक प्रदेशबाटै नेपालगञ्ज हुँदै कोल्टीबाट बोल्डीक जाने अधिकृत पन्तले जानकारी दिएका छन् । संक्रमण एकपछि अर्को व्यक्तिमा देखिन थालेकोले त्यसको ल्याप टेष्टका लागि काठमाडौंमा नै पठाउने गरि स्वास्थ्यकर्मी उपकरणसहित जान लागेको पन्तको भनाई छ ।

‘जनप्रतिनिधिहरु नै ठेकेदार भएका कारण समस्या’

काठमाडौं – कमशल निर्माण सामाग्री प्रयोग गरी कमजोर संरचना निर्माण गर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा निर्माण व्यववसायीहरुसँग छलफल गर्दै सांसदहरुले गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही गर्नु उचित भएको बताएका हुन्।

समिति सभापति कल्याणीकुमारी खड्काले भुलवस कमशल सामाग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने बताउँदै अहिले सम्मको स्थिति हेर्दा व्यवसायीहरुले मिलेमतोमा कमशल निर्माण सामाग्री प्रयोग गर्ने गरेको पाइएकाले त्यस्ता निर्माण व्यवसायीहरुलाई कालोसूचिमा राख्ने व्यवस्था उचित भएको बताइन्। उनले जनप्रतिनिधिहरु नै ठेकेदार भएका कारण मिलेमतो बढी हुने गरेको बताइन्। उनले भनिन् ‘जनप्रतिनिधिलाई ठेकेदार बनाउन पाइदैन, जनप्रतिनिधले अब ठेकेदारी गर्नुहुँदैन, ठेकेदारी गर्ने हो भने ठेकेदारी नै गर्नुपर्छ अथवा निर्माण व्यववसायी नै हुनुपर्छ, उ व्यवसायी हुनुपर्छ।’

सांसद गणेशकुमार पहाडीले सम्झौता भएपछि कुनैपनि काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पनि कारबाही गर्नुपर्ने बताए। उनले कुनै पनि बाहनामा काम नसक्ने प्रवृतिको अन्त्य गर्नका लागि पनि कारबाही गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘सम्झौता भइसकेपछी कुनै पनि काम ‘टाइम सेड्युल’ अनुसार काम भएन भने निर्ममतापूर्वक कारबाहीमा जानुपर्छ। हामीले पनि सरकारलाई यो भन्दा अगाढि पटक पटक भनेका छौं र यसमा निर्माण व्यवसायीहरुपनि तयार हुनुपर्छ।’ उनले निर्माण व्यवसायीहरुको क्षमतामा समेत प्रश्न उठाए। उनले भने ‘तपाईहरुले आफ्नो क्षमतामा पनि वृद्धि गर्नुप-यो र कार्यतालिका अनुसार काम गर्नुपर्छ।’

जलाइएको शव फेला

सुरुङ्गा- झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

तीनै जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सुषमाका श्रीमान हराउनु र परालमा जलेको अवस्थामा शव भेटिएको सन्दर्भमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले भने,  ‘जलेका व्यक्तिको हुलिया खुल्न नसकेर थप अनुसन्धानका लागि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानबाट तालीम प्राप्त कुकुर झिकाएर अहिले अनुसन्धान भइरहेको छ ।’

स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘घटनाको विषयमा अनुसन्धान हुँदै छ । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँन लागेका छौंँ ।’ रासस

लुम्बिनीको बृहत्तर विकास गर्न २ खर्बको प्राधिकरण आवश्यक : मन्त्री भट्टराई

भैरहवा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकास गर्नका लागि करिब २ खर्बको बजेट भएको प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् । लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्तिनगरको कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बृहत्तर लुम्बिनी क्षेत्रको परिकल्पना कार्यान्वयन गर्न बृहत्तर लुम्बिनी विकास प्राधिकरण गठन आवश्यक रहेको बताए ।

अहिलेको लुम्बिनी विकास कोषले आफ्नो नियमित काम गर्दै आएको छ, बृहत्तर लुम्बिनी विकासको योजना लाई कार्यान्वयन गर्न सम्पुर्ण अधिकार सम्पन्न हुने गरी बृहत्तर लुम्बिनी विकास प्राधिकरणको रुपमा आउनका लागि छलफल गरिरहेको बताए । लुम्बिनी विकास कोषको नियमित कामहरुलाई असर नपर्ने गरि बृहत्तर लुम्बिनीको विकासको लागी मात्रै काम गर्ने गरि करिब २ खर्वको बजेट भएको प्राधिकरण गठन गर्नुपर्ने उनले बताए ।

लुम्बिनीलाई विश्व पर्यटनको शहरको रुपमा स्थापित गर्न, स्थानीयको जीवनस्तर, आयु बृद्धि गर्नका लागि लुम्बिनीसहित कपिलवस्तु र नवलपरासीलाई जोडेर स्थानीयको ल्याण्ड पोलिङ शर्तमा नयाँ कार्यायोजनाको अवधारणाका साथ लुम्बिनीको विकास गर्न १० वर्षको समयावधि तोक्न सकिने बताए ।

८ करोड लिई फरार भएका सहकारी सञ्चालक अझै समातिएनन्

वीरगंज- वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब ८ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ फरार भएको झण्डैले वर्ष लाग्न थाल्यो । पैसा लिएर भागेको भन्ने आरोपीहरुलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । प्रहरी र जिल्ला प्रशासन कार्यालयले बेवास्ता गर्दा यस्तो भएको पीडितहरुको भनाई छ । उक्त संस्थाले बचतकर्ताको पैसा मात्र होइन ऋणीहरुले बन्धक राखेको जग्गा समेत हिनामिना गरेको  प्रमाण भेटिएको छ ।

श्रीमानको मृत्युपछि एकल जीवन बिताइ रहेकी वीरगन्ज २ छप्कैकि ५० वर्षे सैनाहा खातुन भिक्षा मागेर बिहान बेलुकाको छाक टार्ने गर्छिन् । ‘बचत गर्नु भइपरी आएको बखत पैसाको लागि समस्यामा परिदैन,’ अभनी गाउँकै खैरुल नेसाले उनलाई प्रेरित गरेपछि सहकारीमा उनले खाता खोलेर दैनिक बचत थालिन् । करिब १३ हजार रुपैयाँ बचत पुगेको उनको पासबुकमा देखिन्छ । वीरगन्ज, छपकैयाकै देवनारायण भडेलका परिवारमा ३ जनाको नाउमा रहेको बचत खातामा डेढ करोड रुपैयाँ जम्माको थियो, सोही सहकारीमा । दुबैको पिडा भने उस्तै उस्तै छ । उनीहरुजस्तै सयौं सर्वसाधारणलाई सहकारीका सञ्चालक अलप हुँदा समस्या छ ।

सहकारीबाट पीडितहरूले प्रहरी प्रशासनले साथ नदिएको दुखसो पोख्ने गरेका छन् । ११ महिना अगाडि २०७५ चैत २० मा सहकारीको लिंकरोडस्थित कार्यालयमा ताल्चा लगाएर अध्यक्ष राजेशकुमार पटेल, कोषाअध्यक्ष रहेकी उनकी श्रीमती रिता पोखरेल तथा अन्य पदाधिकारी र जिम्मेवार कर्मचारीहरु सम्पर्कविहीन भए । उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय पर्सामा २०७५ चैत २८ मा पीडितले संयुक्त उजुरी दिए । लगत्तै उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा समेत त्यसैगरी जाहेरी दिए । जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट आफूहरुलाई असहयोग भइरहेको पीडितहरुको साझा आरोप छ ।

अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो ! कसैले रोकेर रोकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन्।  पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे।

उनले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिँदै भने, “परिवर्तन र कम्युनिष्टविरोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थाहसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन। यो काम हाम्रो सङ्गठनले मात्रै गर्न सक्छ ।”

वर्तमान सरकारले विकासनिर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उनले बताए।  सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने, “म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो। कसैले रोकेर रोकिँदैन। रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ।”

अध्यक्ष ओलीले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे। उनले भने, “पार्टीमा अध्यक्ष छु। प्रधानमन्त्री छु। निर्णयहरु एकता र सहमतिका साथ गरिएको छ। को बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा हाम्रो ध्यान छैन।”

गाउँगाउँमा सहरीकरण, सडकछेउ बसाइँ सर्ने बढे

पाँचथर – केही वर्षअघिसम्म घरमा थोरै थोरै मात्र सुन्तला बेचेको अनुभव सुनाउने सिस्ने गाउँपालिका–४ लाम्बाकोटकी ममता बुढाले यो वर्ष फले जति सबै सुन्तला बेच्न पाएको सुनाइन्। रुकुमकोट बजारमा बिहानै सुन्तला बेच्न १२ जना बसेका थिए। एकै गाउँका उनीहरू हरेक बिहान सुन्तला बेच्न ल्याउने र दिउँसो फर्किने गरेको अनुभव सुनाउँथे। ‘सडक आएपछि बजार बढ्यो, यहाँ बोकेर ल्याउँदा बढी दाम पाउने भएकाले ल्याएका हौं,’ बुढाले भनिन्, ‘अहिले त तरकारी पनि बिक्छ।’ सँगै रहेकी हिरा बुढाले थपिन्, ‘पहिला कहाँ यसरी बिक्थ्यो र !’

उनीहरू झै पुष्पलाल (मध्यपहाडी) लोक मार्गको सडक बनेसँगै पहाडी जिल्लाका विभिन्न ग्रामीण ठाउँमा सहरीकरण हुँदै गरेको देख्न पाइन्छ। पुराना बजार सहरमा परिणत हुँदै गएका छन् भने नयाँनयाँ बजार, चोक निर्माण हुन थालेका छन्। गाउँका बासिन्दा सडकछेउ उक्लिन थालेका छन्। सडकले छोएका क्षेत्रमा नयाँ घर बनिरहेका देख्न पाइन्छ भने जग्गाको भाउ बढ्दै गएको छ। अचेल फलाउन सके बिक्छ भन्ने धारणा विभिन्न क्षेत्रका बासिन्दाको छ। लोकमार्गसँग जोडिएका ग्रामीण क्षेत्रमा बजार बन्ने क्रम बढेको छ। सरकारले मध्यपहाडी क्षेत्रका १० वटा सहरलाई नयाँ सहर बनाउने अवधारणा अघि सारी सानातिना काम गरिरहेको छ। तर, सरकारको प्राथमिकतामा नपरेका विभिन्न ठाउँहरूमा साना बजार स्थापना हुने तथा पुराना बजार विस्तार हुने क्रममा छन्।

आन्दोलनको तयारीमा किसान

मसुरिया (कैलाली) – गरिमा धान नफलेपछि पीडित बनेका किसानले आन्दोलनको तयारी थालेका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्ति नदिएको भन्दै उनीहरु संगठित भएर आन्दोलनको तयारी थालेका हुन्। सोमबार मसुरियाको साझा बजारमा भेला भएका किसानले समिति गठन गरेर आन्दोलनको तयारी थालेका छन्। चार महिना बितिसक्दा पनि सरकारले गरिमा धानबाट पीडित बनेका किसानलाई उचित क्षतिपूर्ति नदिएको भन्दै आन्दोलनका लागि छलफल जारी राखेका छन्। उनीहरुले माघ २२ गते प्रदेशको कृषि मन्त्रालय घेराउ गर्ने बताएका छन्।

गरिमा धान पीडित किसान संघर्ष समितिका संयोजक बासुदेव गुरागाईंको अध्यक्षतामा बसेको बैठकले २२ गते कृषि मन्त्रालय घेराउ गर्नुका साथै कृषिमन्त्री र मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको छ। बैठकले गौरीगंगा नगरपालिकाका गरिमा धान पीडित किसान सबै धनगढीस्थित कृषि मन्त्रालयमा जाने र ध्यानाकर्षण पत्र बुझाउँदै चाँडै उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने संघर्ष समिति संयोजक गुरागाईंले बताए।

ग्यास महँगियो, डिजेल र पे­ट्रोल सस्तियो

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमले ग्यासमा सिलिन्डरमा २५ रुपैयाँ बढाएको हो।

ग्यासको मूल्य सिलिन्डरको १३ सय २५ रुपैयाँ पुगेको छ। पेट्रोलको मूल्य लिटरको एक १० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको निगका प्रवक्ता वीरेन्द्र गोइतले बताए। नयाँ मूल्य सोमबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ।

१ फेव्रअरी २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही घटेर आएकोले मूल्य घटाएको निगमले जनाएको छ। एलपी ग्यासमा औषत खरीद मुल्य बढेकाले ग्यासको मूल्य बढाएको निगमको दाबी छ।