गिरिजा देखि रामवरणको सेवा गरें, नेताहरु इमान्दार पाइनः हरि शर्मा

पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवका राजनीतिक सल्लाहकार रहिसकेका हरि शर्माले नेपालको राजनीतिक वर्ग इमान्दार नहुँदा मुलुकले दुःख पाएको बताएका छन्।

संवैधानिक कानुन व्यवसायी मञ्चले काठमाडौमा गरेको नेपालको संविधानमा भू–राजनीतिको प्रभाव विषयको संवैधानिक संवाद कार्यक्रममा राजनीतिक विश्लेषक शर्माले भने, ‘जिपी कोइरालादेखि रामवरणसम्मको सेवा गरें। ‘पोलिटिकल क्लास डिसअनेष्ट’९राजनीतिक वर्ग इमान्दार नभएको० पाएँ।’

नेपालको राजनीतिक वर्गले हिजो उठाएका एजेन्डा क्षणिक समयभित्रै स्वामित्व नलिइकन ठूला ठूला गफ चुट्दै हिंडेको स्मरण गर्दै शर्माले भने, ‘नेताको कानमा कानेगुजी थुप्रिएको छ। जनताले झिरले ननिकालेसम्म उनीहरुले सुन्ने छैनन्।’

‘नेतृत्वले प्रक्रिया मिच्छ। झूट कुरा बोल्छ। बोलेको कुरा जनताका अगाडि जवाफ दिनुपर्छ भनेर भन्न सक्तैन। विकासको सपना देखाउँछ। एजेन्डामा इमान्दार हुँदैन’ राजधानीका सडकका खाल्डो पुर्छौ भनेर आफैंले बोलेको महिनौं भइसक्दा समेत त्यतिकाम नगरि रेल ल्याउने सपना बाँड्ने नेताका गल्ती औंल्याउँदै शर्माले भने, ‘जनतालाई खान पुगेको छ। ठूलो सपना देखाउन पर्दैन। समयको गतिले हरेक मुलुकले विकास गरेका छन्।’

राजनीति शास्त्रका प्राध्यापक एवं पूर्व राजदूत लोकराज बरालले नेताहरु इमान्दार नभइकन खाओवादी र कुर्सीवादी भएकाले मुलुकले गति नलिएको बताए। नेताहरुले दिल्ली, बेइजिङ वा न्यूयोर्क पुगेर कुम जोड्दै फोटो खिचेर मुलुकका लागि केहि नहुने बताउँदै प्राध्यापक बरालले त्यस्ता भ्रमणमा नेताहरुले बाह्य मुलुकलाई हस्तक्षेपका लागि आमन्त्रण गर्दा रहेछन् अनि स्वदेश फर्केर चर्का कुरा गरेर राष्ट्रवादी बन्ने गरेको बताए। मुलुकका आन्तरिक मामिला स्वयंले व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए। यो संविधान कार्यान्वयन नभएमा अहिले असन्तुष्ट देखिएको पक्षले अर्को राजनीतिक क्रान्ति गर्नसक्ने बताए।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हिमालय शम्शेर जबराले जनताको दुःखलाई संविधानले सम्बोधन नगरेको उल्लेख गर्दै अहिले विद्रोही देखिएका विप्लव र सिके राउतको उदय हुनसक्ने बताए।

राजनीतिशास्त्री प्रा. कृष्ण खनालले लोकतान्त्रिक केन्द्रीयताबाट संघीयता चल्न नसक्ने बताए। पार्टीको केन्द्रीय नेतृत्व संविधान मान्न इमान्दार नभएसम्म संघीयता सफल नहुने खनालले बताए। उनले अन्तर राज्यपरिषदको बैठक रद्ध गर्नुले अहिलेको सरकारको मानसिकतामा केन्द्रीयता नै हावी भएको बताए।

संविधानविद् निलाम्बर आचार्यले संविधान कार्यान्वयनको समिक्षा अहिले नै गर्नु हतार हुने बताए।

संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष ललितबहादुर बस्नेतको सभापतित्वमा भएको सो संवादमा छलफलको आधार पत्र प्रस्तुत गर्दै प्रा।डा।सूर्य ढुंगेलले संविधानले सृजना गरेका आकांक्षाहरु पुरा हुने लय नदेखिएको बताए।