‘हजूर मेरो त चिल्ली बिल्ली पारिदियो’

‘मेरो त चिल्ली बिल्ली पारिदियो हजुर । अब केहि रहेन’ यस्तै भन्दै थिइन अर्जुन भण्डाराकी आमा शिवकला भण्डारा।
महाराजगंज मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसियुमा पुग्दा शिवकलाले यस्तै सुनाइन। भाद्र ७ गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको विरोधमा चर्किएको आन्दोलनमा प्रहरीले हानेको गोली लागेर अर्जुन भण्डारा घाइते भएका थिए । दाँया खुट्टामा लागेको गोलीको असर र धेरै रगत बगेका कारण उनको खुट्टा नै काट्नु परेको छ।
शिवकला छोरालाइ हेर्न भनी भदौ १८ गते काठमाण्डौ आएकी हुन्। महेन्द्रनगरको महाकाली अञ्चल अस्पतालमा गोली लागेर रगताम्य देख्दा आफुलाई सम्हाल्न नसकेकी शिवकला छोरोलाई काठमाण्डौ अस्पताल पुर्याएको खवरसमेत अरुबाट सुनेकी थिइन्।
उनका दुःखका दिन कहिले पनि सकिएनन् । पन्ध्र वर्ष अघि श्रीमान गुमाएकी शिवकलाले दुई छोरीहरुको चाडै विवाह गराइनन् । तीन जना छोरा पढाउने आर्थिक भार उनकै काँधमा थियो । समान्य साक्षर । दैनिक गुजारा चलाउने साहारा एउटा सानो पसल मात्र छ । जेठो छोरा योगेन्द्रले भाइको पढाइ राम्रो भएका कारण आफ्नो पढाइ छोडे । अर्जुनलाई पढाउने भन्दै योगेन्द्रले भर्खरै व्यापार सुरु गरेका थिए ।
शिवकलाका सबैभन्दा कान््छो छोरा ११कक्षामा पढ्छन् । अर्जुन १२पास गरेर इन्जिनियर पढ्ने तयारीमा थिए । उनले परिक्षाका लागि फारम पनि भरेका थिए । शिवकला भन्दै थिइन् ‘खाना खाएर बसेको छोरा । साथीले घुम्न जाउ भनेर निस्कीएको थियो । बजार पुग्ने बित्तिकै गोली लाग्यो भनेर छिमेकीले भन्यो’ अस्पतालमा छोराको छटपटी देखेर उनी आफै बेहोस भइन् ।
आन्दोलनकै क्रममा भदौं ७ गते प्रहरीले गोली चलाउँदा अर्जुनसँगै ५ जना आन्दोलनकारी र २ जना प्रहरीसमेत घाइते भएका थिए । प्रहरी भने आन्दोलनकारीको ढुंगा लागेर घाइते भएका थिए। अर्जुनसँगै घाइते भएका केही उपचारपछि घर गइसकेका छन् भने एक जना शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् ।
भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलन भएको थियो। आन्दोलनका क्रममा भदौं ८ गते १३ वर्षीय बालक शन्नी खुनाको मुत्यु भएको थियो ।
शिवकलाका आँशुसँगै धेरै गुनासो पनि थिए । प्रहरीले चलाएको गोली लागेर दाँया खुट्टा गुमाएका अर्जुनले जीवनभर अरुको भरमा बस्नु पर्ने भयो । उसको इन्जिनियर बन्ने सपना अधुरै रह्यो । त्यत्तीमात्रै होइन बलत्कारमा परेकी गरिवको छोरीले कहिले न्याय पाउदैनन् ? प्रहरीलाइ अब कसरी विश्वास गर्ने? जनतालाई गोली किन हानियो ? अहिलेसम्म बलात्कारी किन पक्रेको छैन, उनी प्रश्न माथी प्रश्न तेर्साउदै थिइन्।’ यी प्रश्नको उत्तर अन्योलको भुमरीभित्रै छ।
मनमोहन कार्डियोथोरापिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका कार्यकारी निर्देशक उत्तम श्रेष्ठका अनुसार अर्जुनको अवस्था सुधारउन्मुख छ।
खुट्टाको अपरेशन गर्दा बेहोस बनाएका अर्जुनको १४ दिन वितिसक्दा पनि होस आएको छैन ।निर्मला पन्तको वास्तविक बलत्कारी र हत्यारा ४२ बितिसक्दा पनि अझै प्रहरीले पत्ता लगाउन सकेको छैन।