अब जति बिजुली बाल्यो, उति कम शुल्क

आस्था राउतलाई थुनामा राख्नु गलत : कोमल वली

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छन्। सभाको विशेष समयमा बोल्दै उनले अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्धामा यस्तो अवस्था नभएपनि थुनामा राख्नु गलत भएको बताइन्।

‘कानुनको मिसयुज भएको छ। फैजदारी अभियोगमा माफि पाएर उन्मुक्ति पाउनुपर्छ भन्ने छैन्। तर उसले गैर कानुनी कार्य गरेको छ की छैन्। आस्थाले कानुनले निषेध गरेको कार्य गरेको छ छैन भन्ने हेरिनुपर्छ। गालि गलौच गरेको पनि छैन्। अपशब्द पनि गरेको छैन्। कानुननले जे जे गर्नुहुन्न भनेको छ त्यो गरेको देखिँदैन त्यो अवस्थामा थुनामै राख्नुपर्ने अवस्था देखिएको छैन्’, वलीले भनिन्।  बदनियत राखेर थुनामा राखिएको उल्लेख गर्दै उनले यसबाट स्वतन्त्र रुपमा बयान नहुन सक्ने तर्फ आशंका व्यक्त गरिन्।

प्रमुख जिल्ला अधिकारीले एक वर्ष भन्दा बढी कैद गर्ने अधिकार नभएको बताउँदै वलीले राउतलाई तारेखमा राखेर अनुसन्धान गर्न सकिने भएपनि त्यसो नगरिएको बताइन्।

आस्था राउत धरौटीमा रिहा

काठमाडौं- गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा उनी रिहा भएकी हुन्।

अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीमाथि उजुरी परेको थियो।

सभामुख सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौं- सभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ज्यान मुद्दा लागेका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न भन्दै दायर गरेको रिटमा न्यायाधीश सपना मल्लको इजलासले यस्तो आदेश गरेको हो।

सोमबार उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। मंगलबार पक्ष र विपक्षाका वकिलको वहस पछि यस्तो आदेश भएको हो।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सभामुख सापकोटाविरुद्ध मुद्दा छ।

‘पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई’

काठमाडौं- मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुले परीक्षा दिनुपर्ने प्रावधानको सत्तापक्ष र विपक्षी दलका नेताहरुले पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका छन्।

राष्ट्रियसभाका सदस्यहरुले पत्रकारिता पेशामा नयाँ आउनेहरुका लागि लाइसेन्स परीक्षाको व्यवस्था हुनुपर्ने प्रावधान विधेयकमा राखेको प्रावधानको पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई दिनुपर्ने बताए। दक्षिण एसियाका कुनै पनि देशमा यो अभ्यास नभएको र अहिले नेपालमा यस्तो अभ्यासको आवश्यकता नरहेको उनले बताए। ‘पाठक, दर्शक र स्रोतालाई नै छुट दिनुपर्छ। कुन पत्रकारले कस्तो कुरा गर्दैछ भन्ने कुरा पाठकलाई किन नछोड्ने?  यो अनुपयुक्त कुरामा हामीले अभ्यास गरिरहेका छौँ। जुन कुरा साउथ एसिया, बेलायत, अमेरिका कुनै पनि देशम छैन्। हरेक कुराको परीक्षण हामीले किन गर्ने ? राष्ट्रियसभाबाट यो पास हुने अवस्था छ तर हामी विरोध गर्छौँ’, उनले भने।

विप्लवका कार्यकर्ता नियन्त्रणमा लिनेक्रममा बर्दियामा गोली चल्यो, एक प्रहरी घाइते

बर्दिया – प्रतिवन्धित नेकपा विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा वर्दियामा गोली चलेको छ। विप्लव समूहका कार्यकर्ताले चलाएको गोली लागि प्रहरी जवान गंगा चौधरी घाइते भएका छन्। मधुवन नगरपालिका स्थित इलाका प्रहरी कार्यालय ढोढरीमा कार्यरत जवान चौधरीको तिघ्रामा गोली लागेको छ।

वर्दियामा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई नेपालगञ्ज रिफर गरिएको छ। घटनास्थलबाट दुई जना पक्राउ परेका छन्। प्रहरीले गोली प्रहार गर्ने प्रतिवन्धित विप्लव समूहका रोहित सुनार र जयबाहादुर ठाडामगरलाई पक्राउ गरेको हो।

सरकारले गलत मनसायले कानुन ल्याउन खोजेको छ : कांग्रेस नेता पौडेल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्याएको बताएका छन्।

नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा उनले अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकुल वातावरण नभएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखे। नेकपा एकदलीय निरङ्कुसता तर्फ बढने आदर्शका साथ अगाडि बढेको भएपनि जनताको बहुदलसँग जोडेर आफुलाई जनवादसँग जोड्न लागेको आरोप लगाए। ‘नेकपाको आफ्नो आदर्श र सिद्धान्त एकातिर छ। जनमतको दबावम बाहाना अर्कोथरी गर्नुपरेको छ। बहुदल नमान्ने एकदलीय निरङ्कुसता लिएर देशलाई परिवर्तन गर्छु भन्ने संकल्प लिएर आएको कम्युनिस्ट शक्तिले आफुलाई बहुदलसँग जोडेर, बहुदलीय जनवादसँग भनेर जनताले बहुदल माग्या छन् भने त्यतै तिर आफुलाई जोड्ने प्रयास गरेको छ’, उनले भने।

अधिकांश आयोजनाका काम अलपत्र

बर्दिया- जिल्लाको विकासले फड्को मार्ने आशा लाग्दा आयोजनाका कामले तीव्रता पाउने बेलामा अधिकांश आयोजनाका काम यतिखेर अलपत्र परेको छ। चार महिना अघिदेखि सरकारको प्राथमिकतामा परेका आयोजनाका काम अलपत्र अवस्थामा छ।

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत हुलाकी सडक, सरकारको प्राथमिकतामा परेको कर्णाली नदी नियन्त्रण आयोजना र सघन सहरी कार्यक्रम अन्र्तगतको गुलरिया नगरपालिकाभित्र डेढ अर्बको कामले गति लिन सकेको छैन।
त्यस बाहेकका गुलरिया नगरपालिकाभित्रमा पर्ने फोर लेन सडक र ८ वटा स्थानीय तहमा सञ्चालित सडक पुल निर्माण जस्ता अधिकांश विकासका काम अघि बढ्न सकेको छैन। निर्माण कम्पनी, आयोजना कार्यालय प्रमुख र स्थानीय प्रशासनको समन्वय हुन नसक्दा विकासका अधिकांश काम प्रभावित भएका छन्।

एउटा व्यक्तिको मुद्दा उचालेर कसैलाई फाइदा हुँदैन : डा. भट्टराई

काठमाडौं- समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराएका छन्। संसद वैठकमा बोल्दै सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उनले ध्यानाकर्षण गराएका हुन्। उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो। तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडि राख्यौँ’।

नीति निर्माण हुने थलो प्रतिनिधिसभा भएपनि कानुन बनाउने भन्दा कानुनको व्याख्या गर्ने मर्यादाक्रममा अगाडि रहेको उनले बताए। उनले भने, ‘न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने ऐन कानुनको व्याख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिकका प्रमुख भन्दा माथि राखेर लोकतन्त्रको गरिमालाई अवमूल्यन गरिरहेका छौँ। यहाँको नेतृत्वमा यो विषयमा ध्यान पुगोस भन्ने आग्रह गर्दछु।’

सुपारी, केराउ र मरिचपछि तस्करीको पालो छोकडा

वीरगन्ज – विदेशबाट आयात गरेर भारततर्फ अवैध निकासी हुने वस्तुमा सुपारी, मरिच र केराउपछि छोकडा देखिएको छ।

भारतमा अवैध निर्यात गर्न स्वदेशी मागको तुलनामा यस्ता वस्तु धेरै परिमाणमा आयात भएका छन्। पाँचवर्ष अगाडि तस्करीकै लागि आयात गरिने वस्तुको रुपमा सुपारी देखापरेको थियो। सुपारी तस्करीको विषय धेरै चर्चामा आएपछि त्यसको अवैध निकासीमा कडाइ गर्न सुरक्षा निकाय बाध्य भयो। त्यसपछि सीमावर्ती क्षेत्रबाट अवैध निकासी र पैठारीका धन्दा चलाउने गिरोह सुपारी छोडेर मरिचतिर मोडिए। मरिचपछि केराउ अर्को यस्तै वस्तु बनेको थियो। अहिले छोकडा तस्करीको बिगबिगी देखिएको छ।

वीरगन्जको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले माघ ८ मा ना५च ३२४५ नम्बरको महिन्द्रा पिकअप गाडीबाट अवैध निकासी गर्न लागिएको ३२ बोरा छोकडा बरामद ग-यो। त्यो छोकडाको तौल १६ क्विन्टल थियो। वीरगन्जको रानीघाटमा रहेको कृष्णा आटा तथा मसला उद्योगबाट भुजाखरिद गरेको बिल देखाएर छोकडा लैजान खोज्ने चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम ग्रामीण नाकातिर जान लागेको अवस्थामा वीरगन्जको जगरनाथपुरबाट वडाको टोलीले गाडी नियन्त्रण लिएका थिए।

नाडालको विजयात्रा जारी

मेलबर्न – निक किर्गियोगलाई स्तब्ध बनाउँदै राफाइल नाडाल अस्ट्रेलिया ओपन क्वार्टरफाइनलमा पुगेसँगै रोजर फेडेररको कीर्तिमानी ग्रान्ड स्लाम उपाधिलाई बराबरी गर्ने लक्ष्य जारी राखेका छन्। गत वर्ष आफूमाथि निकै आलोचना गरेका अस्ट्रेलियन प्रतिद्वन्द्वी निकलाई हराउँदै स्पेनिस स्टार नाडालले अन्तिम आठमा स्थान बनाएका हुन्। निकै प्रतिस्पर्धा बनेको खेलमा विश्व नम्बर एकसमेत रहेका नाडालले निकलाई ६–३, ३–६, ७–६(८÷६) र ७–६(७÷४) ले पराजित गरे।

बास्केटबलका महान् खेलाडी कोबे ब्रायन्टलाई विश्व टेनिसका स्टारले शोक व्यक्त गरेको दिनमा निकसँगै १५ वर्षीया कोको गउफले आफ्नो महिला डबलको प्रशिक्षणका क्रममा श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्। रोड लाभेर एरिनामा निकले भने कोबे ब्रायन्टको पूर्वक्लब एलए लकर्सको जर्सी लगाएका थिए। सर्वाधिक २४ ग्रान्ड स्लाम च्याम्पियन मार्गरेट कोर्टलाई सम्मानित गरेको दिन उनी रुष्ट देखिएकी थिइन्।

सोही दिन निक र नाडालबीचको खेलपश्चात् पनि केही गर्मागर्मी हुने आंकलन गरिए पनि दिन यसपटक सामान्य अवस्था रह्यो। खेलअवधिभर नाडालका हरेक चुनौतीमा कडा रूपमा प्रस्तुत भएका निक खेल सम्पन्नपश्चात् हात मिलाउने क्रममा केही नरम मुद्रामा देखिएका थिए।

जसले पछिल्लो वर्ष यी दुईबीचको तनावपूर्ण सम्बन्ध बिर्र्सिएको अवस्था देखिएको थियो। ‘जब उनले (निक) आजको खेलशैलीअनुरूप सकारात्मक स्वभाव देखाउँछन् भने उनले खेलक्षेत्रलाई धेरै योगदान दिन सक्नेछन्। उनी यस टुर्समा निकै प्रतिभावान् खेलाडी हुन्। प्रतियोगिता अवधिभर उनको खेलशैली निकै राम्रो छ,’ स्पेनिस स्टार नाडालले भने। १९औं पटक ग्रान्ड स्लाम च्याम्पियन नाडालले क्वार्टरफाइनलमा अस्ट्रियाका डोमिनिक थिमविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

‘राजसंस्थाभन्दा ठूलो पितृसंस्था रैछ’

दीपक मनाङेद्वारा एन्फा कास्की अध्यक्ष गुरुङलाई मञ्चमै मुक्का प्रहार

पोखरा- गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेका छन्। गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन्।

पटक/पटक विवादमा आइरहने गुण्डा नाइकेका रुपमा परिचित राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मुक्का प्रहार गरेका थिए। मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा सहभागि हुन भनेर सांसद मनाङे कार्यक्रममा पुगेका थिए। आयोजकले उनलाई आसनग्रहणका लागि बोलायो।

अन्नपूर्ण पदमार्गको हिमपहिरो : पदयात्री खोज्न सेना परिचालन

पोखरा- अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्नका लागि सेनाको टिम परिचालन गरिएको छ। सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थलमा पुगेको प्रहरीले बताएको छ। हिमपातमा परेर चार कोरियाली र तीन नेपाली सहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार सेनाका कर्णेल अमित गुरुङको कमाण्डमा १२ जना सैनिक पहिरोस्थलमा परिचालन भएको छ। सेनाले त्यहाँ रहेका स्थानीयसँग समन्वय गर्दै खोजीमा जुट्ने कार्कीले बताए। ‘पहिरोस्थलभन्दा झन्डै एकसय मिटर टाढा सेनाको टिम बसेको छ। हेलिप्याड बनाएर हेलिकप्टर अवतरण गराएर सेनाको टिम पुगेको हो,’ कार्कीले भने, ‘सुरक्षा अपनाएर त्यहाँ रहेका स्थानीयसँगको समन्वयमा सेना खोजीमा जुट्नेछ।’

एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षका नेताको एउटै बोली

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन्।

रिपोर्टस क्लबमा भएको साक्षत्कार कार्यक्रममा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन चाहेकोले पनि यो पारित हुने बताए। प्रतिपक्षी दल पनि पारित गर्नुपर्ने पक्षमा रहेको र प्रधानमन्त्रीको चाहाना पनि पारित हुनुपर्छ भन्ने भएपछि संसदमा ह्विप लागु गरेर पनि एमसीसी पारित हुने उनको भनाई थियो।

एमसीसी नेपालमा लागु भएपछि गरिबी निवारण हुन्छ भन्ने नभएको तर ५५ अर्ब रुपैयाँ अनुदान गुम्न नदिने पक्षमा आफु रहेको उनको भनाई छ। अनुदान निशर्त हुने भएका परियोजनामा भएका शर्तहरु खारेज हुनुपर्ने उनको भनाई छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सत्तापक्षले एमसीसी पास गर्नुपर्ने बताए। प्रावधानमा भएका कमिकमजोरीहरुका विषयमा छलफल गर्न सकिने भन्दै उनले बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्न पनि सुझाव दिए। उनले भने, ‘सबैले यसलाई स्वीकार्नुपर्छ। अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ। यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमिकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ। एमसीसीका बारेमा बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्नुहोला। हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालिन नेकपा एमालेले विरोध गर्यो। त्यो त्यतिकै कोलाप्स भयो। त्यो लागु भएको भए धेरै राम्रो हुन्थ्यो।’’

बलात्कार आरोपमा वडा सचिव पक्राउ

बारा- शौच गर्न रातीको समयमा घर बाहिर निस्केकी रौवाहीका एक महिला गत आईतबार राति बलात्कारको सिकार भएको घटना सर्वजनिक भएको छ।

देवताल गाउँपालिका ६ का वडा सचिव रहेका रौवाहीकै बलिराम मण्डलाई ती महिलालाई  बलात्कार गरेको आरोपमा प्रकाउ गरेको बारा प्रहरीले जनाएको छ।

घरबाट निस्केर गाउँ बाहिर  शौच गर्न जाँदै गर्दा मण्डलले ती महिलालाई नजिकै रहेको उखुबारीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको  बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताएका छन्।

वडा सचिव मण्डलले ती महिलालाई जर्बजस्ती करणी  गरेको जानकारी पाए लगतै प्रहरीले मण्डललाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको मिश्रले बताए।

जर्बजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट मण्डललाई ५ दिन म्याद थप गरि घटना बारे थप अनुसन्धान सुरु गरिएको मिश्रले बताए।

घरमा शौचालय नहुँदा रातिको समयमा घर बाहिर निस्कने महिलाहरु बालत्कारको सिकार हुने गरेको घटनाहरु पटक पटकमा सार्वजनिक हुँदै आएको छ।

आमाबुबाले १२ वर्षपछि पाए माया मारिसकेको छोरा

भैरहवा- अभिभावकले माया मारीसकेको छोरा रुपन्देहीबाट १२ वर्षपछि फेला परेका छन्। १२ वर्षअघि रोजगारीको शिलशिलामा भारतबाट हराएको छोरा सन्तोस सुनार प्रहरी र विभिन्न संघ-सस्थाको सहयोगमा परिवारले जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट बुझेका हुन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका—४ बैजापुर बस्ने अमरबहादुर सुनार र लक्ष्मी सुनार परिवारले १२ वर्षअघि भारतको लुधियाना ट्रेनबाट छोरा हराएका थिए। २०६४ सालमा सुनार परिवार रोजगारीको शिलशिलामा भारतको लुधियाना जादै गर्दा ७ वर्षिय सन्तोसकुमार सुनार रेलमा छुट्न गई हराएपछि परिवारले आफ्नो क्षमताअनुसार भारतको विभिन्न शहर र रेलवे स्टेशनमा खोजे पनि भेटाएका थिएनन्।

हराएको ७ वर्षिय बालक सन्तोस सुनारसहित विजय तामाङ, राजेश कुमार र सुमित कुमार भारतको लखनउस्थित बालगृहमा बस्दै आएका थिए, ती बालकलाई नेपाली राजदूतावाससहित नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्चको सक्रियतामा २०७५ सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देही महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ल्याइएको थियो।

महिनावारीलाई सहज मान्छन् अभिभावक

उदयपुर- १३ वर्षीया किशोरी रीमावुङ राईलाई राजश्वला (महिनावारी) हुँदा परिवार र समाजबाट कुनै समस्या छैन। छोरी किशोरावस्थामा पुगेको थाँहा पाएका बाबुआमाले पहिलो महिनावारी हुनुअघि नै सचेत गराउदै विभिन्न सल्लाह दिएकाले उनलाई पहिलो महिनावारीमा पनि कुनै अप्ठेरो महसुस भएन।

उनीजस्तै १२ वर्षीया तयामी राईलाई पनि महिनावारीको पीडा अहिलेसम्म महसुस भएको छैन। शिक्षित बाबुआमा र खुल्ला पारिवारिक वातावरण भएकाले उनीहरुलाई महिनावारीको समस्या नपरेको हो। महिनावारी हुँदा उनीहरुलाई भान्सा जान, खाना नास्ता पकाउन कुनै रोकटोक हुदैन न त देवता कोठामा जान, पुजा गर्न र बाउ आमासँग बस्न, सुत्न नै बन्देज हुन्छ।

मानव जगतको सर्जक महिलामा हुने अनुपम प्राकृतिक घट्नाक्रम महिनावारी भए पनि सामाजिक अन्धविश्वासले छाउगोठ बस्नुपर्दा पश्चिम नेपालका धेरै किशोरी, युवती र महिलाले अकालमा ज्यान गुमाउदै आएको समाचार छताछुल्ल भईरहेको छ। प्रकृतिको बरदान मान्नुपर्ने महिनावारीलाई रुढीग्रस्त समाजको अन्धविश्वास, परम्परागत सोच र धार्मिक मान्यताले अनिवार्य छाउगोठ बस्नुपर्दा वर्षेनी कैयौं महिलाको अकालमा ज्यान जाने गरेपछि अहिले अछाममा छाउगोठ भत्काउने अभियान चलाउनु परेको छ।

उदयपुरमा पछिल्लो दुई वर्षयता प्रायः सबै विद्यालयमा महिनावारीमा सहज पार्न प्याड वितरण र निर्माण अभियान नै चलाइएको छ। महिनावारी हुँदा छात्राहरु पढ्न नआउने समस्या टार्न सुरुमा गैरसरकारी संस्थाको अगुवाईमा नियमित विद्यालय उपस्थित गराउन उनीहरुलाई प्याड उपलब्ध गराइएको थियो। तर, पछिल्लो एक वर्षयता धेरै विद्यालयले छात्राकै सक्रियतामा स्कुलमा प्याड बनाएर प्रयोग गर्न थालेपछि नियमित स्कुल आउँने र पठनपाठन सहज भएको पाइएको छ।

प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन

काठमाडौं- विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपीको मंगलबार उद्घाटन गरे।

उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताए। उनले समकक्षी मोदीलाई नेपाल भ्रमणको समेत निम्ता दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यी विकासका मोडल नेपाल भारत मित्रता र तिब्र विकासका नमुना भएको बताए। छिमेक पहिलो आफ्नो सरकारको प्राथमिकता भएको बताउँदै उनले क्रस वोर्डर कनेक्टिभिटीलाई बढाउनु यसको काम भएको बताए।
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका डेपुटी निर्देशक हरिकृष्णा मिश्राका अनुसार उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ जानेर भारतबाट पनि सामान बोकेको ट्रक नेपाल भित्रिएका छन्।

विवादमा श्रद्धा

मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री श्रद्धा कपुरले ‘मिटु’ आरोपित निर्देशक लभ रञ्जनको फिल्ममा काम गर्ने भएसँगै विवादमा तानिएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री दीपिका पादुकोणले यौन दुर्व्यवहारको आरोपितसँग काम नगर्ने बताएपछि अभिनेत्री श्रद्धाले लभ रञ्जनको फिल्म खेल्ने भएकी हुन्।

‘निर्देशक लभ रञ्जनको नयाँ फिल्ममा काम गर्दैछु। उनको यसअघिका फिल्महरू मलाई मनपरेका हुँदा काम गर्ने भएकी हुँ। यस फिल्ममा हाम्रो पुस्ताको उत्कृष्ट अभिनेता रणवीर कपुरसँग काम गर्ने मौका मिलेको छ,’ उनले भनिन्। उनले मार्चबाट फिल्मको सुटिङमा सहभागी जनाकारी गराएकी छन्।

यसअघि अभिनेत्री पादुकोणले भनेकी थिइन्, ‘यौन दुर्व्यवहारको आरोपितसँग म काम गर्दिन्।’ केही समयअघि बलिउड अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनको घरमा देखिएपछि उनीविरुद्ध ‘नटमाईदीपिका’ ह्यासट्याग ट्वीटरको टेन्डिङमा परेको थियो। उनी र अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनले भेट गरेका थिए। भेटपछि रञ्जनको फिल्ममा अभिनेत्री पादुकोणले काम गर्न लागेको खबर एकाएक बाहिर आएको थियो। निर्देशक रञ्जनसँग अभिनेत्री पादुकोणले काम गर्न लागेको चर्चा भएपछि ट्वीटरमा यसको विरोध भएको थियो।

‘कर्णाली उज्यालो कार्यक्रम’ का लागि वैकल्पिक उर्जासँग समझदारी

सुर्खेत- प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग संझौता गरेको छ। मंगलबार मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले ५० करोड ९ लाख रुपैयाँ छुट्याएको छ। कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यान्वयन ईकाई स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलव्ध गराउने उल्लेख छ।

पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पुरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ। ति आयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमवाट वजेट व्यवस्था गर्ने समझदारी–पत्रमा उल्लेख छ।

राष्ट्रिय भलिबल प्रतियोगिता हुने

दुलेगौँडा(तनहुँ)- दुलेगौँडाको पञ्चमुनिदेव माध्यमिक विद्यालयको आयोजनामा राष्ट्रब्यापी विद्यालयस्तरिय भलिबल प्रतियोगिता हुने भएको छ। विद्यालयले स्वर्ण महोत्सवको अवसरमा प्रतियोगिताको अयोजना गरेको हो।

बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। तीन दिनसम्म हुने प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र दिइने विद्यालयका सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिए। उनका अनुसार द्धित्तिय र तृतीय हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमश :  ३० हजार र २० हजार रुपैयाँ नगद प्रदान गरिनेछ।

१६ टिमले सहभागिता जनाउने उनले बताए। विद्यालयले माघ ५ गते आईतबारदेखि स्वर्ण महोत्सवको सन्दर्भमा विभिन्न कार्यक्रम गरिरहेको छ। स्वर्ण महोत्सवको मुख्य कार्यक्रम माघ १२, १३ र १४ गते हुनेछ।
१४ गते स्वर्ण महोत्सव समारोहलाई प्रथम राष्ट्रपति रामवरण यादवले सम्बोधन गर्ने प्रधानध्यापक धुर्वकुमार मल्लले बताए।

राष्ट्रिय कलाकारहरुको सांगितीका प्रस्तुती, शैक्षिक सामाग्रीको प्रर्दशन, रक्तदान कार्यक्रम, नाटक मञ्चन र खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउने उनको भनाई छ।

सार्वजनिक बसभित्र अश्लील हर्कत: एक वर्षपछि पक्राउ परे युवक

यसरी पक्राउ परे सार्वाजनिक सवारीमा अश्लील गतिविधि गर्ने रवीन रुचाल

काठमाडौँ- सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन्।

विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो। गत वर्ष साउनमा खिंचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ।

चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले आइतबार अपराह्न चितवनको भरतपुरबाट उनलाई पक्राउ गरी थप कारवाहीका लागि काठमाडौँ ल्याएको थियो। महाशाखा प्रमुख सहकुलबहादुर थापाले ठूलो मेहनत गरेर एक वर्षपछि नै भए पनि घटनाका अभियुक्त पक्राउ गर्न सफल भएको बताउँदै साइबार अपराधमा मुद्दा चलाइने जानकारी दिए। “पहिचान नभएको अभियुक्त हो, पत्ता लगाउन ठूलो मेहनत गरेका छौँ, गुगल र फेसबुकसँग आइपी एड्रेस मागी पत्ता लगाएर पक्राउ गर्न सफल भयौँ”, थापाले भने।

यही अवस्‍थामा कसरी पदबाट राजीनामा दिने ?

काठमाडौं- उपसभामुख शिवमायाँ तुम्वाहाङ्फेले आफुनै सभामुख पदको दावेदार भएको बताएकी छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले  यो स्वभाविक भएको समेत बताएको छन्। ‘उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ ? छैन’, भन्दै प्रश्न गरेकी छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई पदबाट राजीनामा दिन भने पनि तुम्वाहाङ्फेले त्यसलाई चुनौति दिदै आएकी छन्। उनले भनेकी छन्, ‘सभामुख पदको दावी गर्नु त अनौठो मान्नु पर्दैन स्वभाविक नै हो।’

उनले अहिले सभामुख बन्ने आफ्नो इच्छा नभई आवश्यकता भएको बताएकी छन्। ‘आवश्यकता कसरी हो भने सभामुख जो निवर्तमान सभामुख हुनुहुन्थ्यो उहाँ कुनै एक घटनासंग जोडिनुभयो उहाँ निस्किनुभयो। उहाँले यहाँबाट राजिनामा गरेपछाडि म उपसभामुख मैले केही बदमासी काम त गरेको छ छैन्। मैले पाँच वर्ष काम गर्न पार्टीले पठायो २ वर्ष वित्यो अव ३ वर्ष बाँकि छ। अवको तीन वर्ष पुरा गर्न मैले किन नपाउने। म उपसभामुख भएर काम गरिराखेको छु मैले कुनै फट्याई त गरेको छैन बदमासी गरेको छैन, यौन दुराचार गरेको छैन्, भ्रस्टाचार गरेको छैन भने के चार्ज लगाएर मलाई दलले निकाल्छ मिल्छ?’, उनले भनेकी छन्।

सुपुर्दगी सन्धिमा चिनियाँ चासो

काठमाडौं – चिनियाँ पक्षले गृहमन्त्री रामबहादुर थापाको चीन भ्रमणका अवसरमा नेपालसँग हुने भनिएको सुपुर्दगी सन्धिबारे चासो राखेको छ। गत पुस २० देखि २५ गतेसम्म भएको गृहमन्त्री थापाको भ्रमण क्रममा चिनियाँ पक्षले नेपाल–चीन सीमाबाट आपराधिक गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न सुपुर्दगी सन्धि आवश्यक रहेको तर्क राखेको थियो।

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच सुपुर्दगी सन्धि गर्नेगरी छलफल अगाडि बढाएको भए पनि त्यति बेला ‘आपराधिक विषयहरुमा पारस्परिक कानुनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीच सन्धि हुने’ भन्ने समझदारीमात्रै भएको थियो। त्यही समझदारीमा टेकेर गृहमन्त्री थापाको भ्रमणको समयमा पनि चिनियाँ पक्षले चासो व्यक्त गरेको हो। ‘चिनियाँ पक्षले सीमा सुरक्षा र व्यवस्थापनबारे चासो राखेको हो। राष्ट्रपति सीको भ्रमणका बेला भएका समझदारीलाई कार्यान्वयन गर्ने सवालमा कुराकानी भएको छ’, गृहमन्त्रीको भ्रमणमा सहभागी एक सदस्यले भने। भ्रमणका बेला कुनै पनि लिखित सम्झौता भने नभएको उनले बताए।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

सर्लाही- सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

मंगलबारबाट लागू हुने गरी जिल्ला अदालतबाट ठगी मुद्दा अन्तर्गत अनुसन्धान गर्न पाँच दिनको म्याद लिइएको सर्लाही प्रहरी प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए। ‘यादवविरुद्ध तत्कालका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाएका थियौं’, प्रउ पोखरेलले मंगलबार नागरिकँग भने, ‘यसबीच यादवविरुद्ध निकै प्रमाणहरु जुटाइसकेका छौं, त्यसैले आजबाट जिल्ला अदालतबाटै म्याद लिएर ठगी मुद्दामा अनुसन्धान सुरु गरेका छौं।’

प्रहरी हिरासतमै रहेका यादवको बरहथवा नगरपालिका–१० सितापुरस्थित घरमा सोमबार मध्यान्ह सुरक्षाकर्मीको टोलीले छापा मारेको थियो। अनुसन्धानका क्रममा आवश्यक कागजात संकलन गर्न अभियुक्त यादवको घरमा खानतलासी गरिएको प्रहरीले जनाएको छ। ‘अभियुक्त यादवविरुद्धको आरोपसँग सम्बन्धित कागजात संकलनका लागि खानतलासी गरेका हौं’, प्रउ पोखरेलले भने, ‘खानतलासीबाट अनुसन्धानमा आवश्यक पर्ने प्रमाणजन्य कागजातहरु नियन्त्रणमा लिएका छौं।’ प्रहरी टोलीले झण्डै दुई घण्टा यादवको घरमा खानतलासी गरेर ऋण लगानी गरेको तमसुक, चेकबुक लगायत विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ।

दुई महिनाभित्र रेल आउँछ : मन्त्री नेम्वाङ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने बताएका छन्।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन्। ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खगरिका लागि अर्डर समेत भइसकेको उनले बताए। जी टु जी माध्यमबाट रेल खरिद गरिने छ। २ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनम आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन उनले आग्रह गरे। ‘यति दिन भनेर मिति तोक्न सक्दिन तर चाडै नेपालमा रेल सञ्चालन भएको देखिन्छ। रेलको बाटो निर्माण भएको देखिन्छ। रेल ऐन आइसकेको छ’, उनले भने।

सरकारले संघ अन्तर्गत पर्ने बाटोहरुको पूर्ननिर्माणका कामहरु गरिरहेको उनले बताए। खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उनले बताए। संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको कामभइरहेका र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उनले बताए।

भारतीय नयाँ राजदूतको रुपमा आउँदै विनय मोहन

काठमाडौं- नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्वत्रा आउने भएका छन्। मन्जिव सिंह पुरीले आफ्नो कार्यकाल पुरा गरे पछि विनय मोहनलाई नेपाल पठाउन लागिएको हो। उनी यस अघि फ्रान्समा थिए।

स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयबाट एग्रीमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा आइसकेको छ।

सम्भवत उनले फेव्रुअरीबाट आफ्नो कार्यभार सम्हाल्ने छन्। विनय मोहन सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए।

भक्तपुर–नगरकोट सडक, ६ वर्षसम्म निर्माण सम्पन्न भएन

कविराज कार्की
काठमाडौं – भक्तपुर–नगरकोट सडक खण्ड अस्तव्यस्त बन्दै गएको छ। उक्त सडक खण्ड तीनवर्षमा काम सकिनुपर्ने ६छ वर्षसम्म पनि उस्तै समस्या रहेको छ। भक्तपुर–नगरकोट सडक खाल्डाखुल्डी भएर सिचाई कुलो जस्तै भएको छ। सडकमा ग्राभेल उम्किँदै गएपछि खाल्डा बढ्दै गएको स्थानीयको भनाइ छ। सडक मर्मतका लागि सरोकारवालाले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्।

नगरकोटका स्थानीय दिनेश ढकालले उक्त सडक अस्तव्यस्त बन्दै गएको र सडककै कारणले दिन प्रतिदिन पर्यटक घट्दै गएको बताए। उक्त सडक भक्क्तपुर हुँदै नगरकोटसम्म पुग्ने गर्दछ। यो सडकमा बढी मात्रामा बस र मोटरसाइकल चल्ने गर्छन्। भक्तपुरदेखि नगरकोटसम्मको करिब १६ किलोमिटर मिटर सडक अहिलेसम्म कालोपत्रे हुने सकेको छैन। यहाँ ग्राभेल पनि उप्किँदै गएको छ। सडकमा रहेका खाल्डाखुुल्डीले यात्रुलाई सास्ती हुने गरेको छ।

सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए। सम्झौताअनुसार काम सम्पन्न नगरी अहिलेसम्म तीन पटक म्याद थप गरिएको भएपनि काम सम्पन्न हुन नसकेको भक्तपुर–नगरकोट–सिपाघाट सडक योजनाले जनाएको छ। अहिलेसम्म करिब ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ।

कर्मचारीको रोजाइमा पर्न छाड्यो मालपोत

टीकापुर – कुनै बेला मालपोत कार्यालय कर्मचारीको पहिलो रोजाइमा पथ्र्यो। उनीहरू त्यहाँ जान माथिल्लो तहमा भनसुन गर्थे। कतिपय कर्मचारीले आर्थिक चलखेलसमेत गर्ने गरेको पाइन्थ्यो। तर अहिले समय फेरिएको छ। धेरैजसो कर्मचारी मालपोत कार्यालय जान चाहँदैनन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नजिकबाट नियालिरहेका कारण त्रासले कर्मचारीको रोजाइमा मालपोत कार्यालय पर्न छाडेको हो। मालपोतमा कार्यरत कतिपय कर्मचारी अख्तियारको फन्दामा परिसकेका छन्। स्रोतका अनुसार अख्तियारले धमाधम समात्न थालेपछि कर्मचारी मालपोत जान डराएका हुन्।

कर्मचारी आउन नमानेपछि टीकापुरस्थित मालपोत कार्यालयमा समेत विगत लामो समयदेखि दरबन्दीअनुसारको पद रिक्त छ। कार्यालयमा नासुतर्फ ६ दरबन्दीमध्ये ३ जना र खरिदारतर्फ ५ दरबन्दीमध्ये एकजनाको पद रिक्त छ। अख्तियारले कार्यालयमा कार्यरत एक नासु र एक खरिदारलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा साउन १९ गते पक्राउ गरेको थियो। कार्यालयले दुवैजनाको दरबन्दी विभागमा कायम गरेर अन्य कर्मचारीलाई काजमा खटाइदिन अनुरोध गरेको छ। स्रोतका अनुसार रिक्त पदमा अहिलेसम्म कोही आउन मानेका छैनन्।

छाउगोठ भत्काउन प्रहरी र जनप्रतिनिधिको सक्रियता

बाजुरा – छाउपडी प्रथाविरुद्ध सरकारले अभियान सुरु गरेसँगै जिल्लाको बडिमालिका नगरपालिकामा छाउगोठ भत्काउन सुरु गरिएको छ। जनप्रतिनिधि र प्रहरीको सक्रियतामा नगरपालिकामा छाउगोठ भत्काउन थालिएको हो। बडिमालिका नगरपालिकाको रतुडामा अहिलेसम्म ५ गोठ भत्काइएको छ।

बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले छाउगोठमा बस्दा महिलाले विभिन्न समस्या भोग्नुपरेकाले भत्काउन थालिएको बताए। महिनावारी हुँदा महिलाहरू लुकीछिपी गोठमा बस्ने गरेको पाइएपछि छाउगोठ भत्काउन थालिएको बडिमालिका–८ का वडाअध्यक्ष प्रकाश रावलले बताएका छन्।

बडिमालिका–७ मा पनि वडा कार्यालय र प्रहरीले छाउगोठ भत्काउने अभियान थालेको छ। वडाअध्यक्ष धर्मराज पाध्यायले टोल–टोलमा पुगेर छाउगोठ भत्काइने बताए।बडिमालिका नगरपालिकामध्ये सबैभन्दा बढी वडा नम्बर ७, ६, ५ र १ मा छन्। जिल्लाभरी ३ सयभन्दा बढी छाउगोठ रहेको बताइएको छ।

गत वर्ष बडिमालिका–३, रजालीलाई जिल्लाकै पहिलो छाउगोठमुक्त वडा घोषणा गरिएको थियो। माघभित्रै वडा नम्बर ९ लाई छाउगोठमुक्त घोषणाको तयारी थालिएको वडाअध्यक्ष विनोदकुमार बिकले बताएका छन्। सर्वपक्षीय अनुगमनपछि वडामा छाउगोठ नभेटिएकाले माघभित्रै वडालाई छाउगोठमुक्त घोषणा गर्न लागिएको वडाअध्यक्ष बिकले बताए।

सागका खेलाडी र प्रशिक्षकलाई सम्मान

मकवानपुर- १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले सागमा चार स्वर्ण, चार रजत र पाँच काँस्य पदक विजेतासहित १३ जना खेलाडी र  पाँच जना प्रशिक्षकलाई मंगलबार नगदसहित सम्मान गरेको हो।

खेलाडी तर्फ स्वर्ण पदक विजेता फुटबलका सुनिल बल, तेक्वान्दोका संजिवकुमार ओझा र निशा दर्नाल, कराँतेका महसुस मोक्तान, रजत पदक विजेता बाँस्केटबलकी माया स्याङ्तान र निकेश मगर, उसुकी शीलु डंगोल तथा हेन्डबलकी देवकुमारी बाँस्कोटा र काँस्य पदक विजेता कराँते रीता कार्की, बक्सिङका पुरन राई र विकास लामा, उसुका हरिप्रसाद गोले तथा खोखोका राजन बललाई सम्मान गरिएको थियो।

त्यस्तै, प्रशिक्षकहरुमा बक्सिङका लालबहादुर पौडेल, कराँतेका नरेन्द्र श्रेष्ठ, तेक्वान्दोका माधव कोइराला, फुटबलका विजयलाल श्रेष्ठ र उसुका राष्ट्रिय प्रशिक्षक विमल थापा मगरलाई सम्मान गरिएको थियो।

खेलाडीहरुबीच भयो हानाहान !

सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदकाे त्रास

काठमाडौं – विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ। संसद्मा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुने खालको कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको हो। विकास तथा प्रविधि समितिले पास गरिसकेको उक्त विधेयक संसद्मा विचाराधीन छ।

विधेयकको दफा ९६ उपदफा २८ मा राज्यविरुद्धको अपराध गर्नेलाई जन्मकैदसम्मको सजाय गर्न सकिने व्यवस्था गरिएको हो। उपदफा २८ मा लेखिएको छ, ‘दफा ८८ को उपदफा (१) को कसुरमा कसुरदारलाई प्रचलित कानुनबमोजिम राज्यविरुद्धको अपराधमा सजाय हुनेछ।’ दफा ८८ को उपदफा (१) मा लेखिएको छ, ‘कसैले विद्युतीय माध्यमको प्रयोग गरी नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा संघीय एकाइबीचको सुसम्बन्धमा खलल पर्न सक्नेगरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै कामकारबाही गर्ने वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सम्बन्ध खलल गर्नु वा गराउनुहुँदैन।’ विधेयकमा उल्लेख गरिएको प्रचलित कानुन भनेको मुलुकी अपराध संहिता ऐन, २०७४ हो। मुलुकी अपराध संहितामा राज्यविरुद्धको अपराध गर्नेलाई पाँच वर्ष कैद, ५० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको व्यवस्था छ।

भक्तपुर नगरपालिकाद्वारा शैक्षिक कर्जा वितरण

भक्तपुर– भक्तपुर नगरपालिकाले शैक्षिक कर्जा वितरण सुरु गरेको छ।

पहिलो चरण अन्तर्गत नगरपालिकाले ९१ जना विद्यार्थीलाई शैक्षिक ऋण दिएको होे। उच्च शिक्षा अध्ययनका लागि नगरपालिकाले शैक्षिक ऋण प्रदान गरेको हो।

नगरपालिकाको अनुसार इन्जिनियरिङ्ग र एमविवीएस पढ्नेका लागि समेत ऋण माग भएको छ।

‘शैक्षिक ऋण दिएपछि इन्जिनियरिङ्ग संकायमा पढ्न सजिलो हुनेछ’ विद्यार्थी श्रेयस्का सुवाल भनिन्, ‘नगरपालिकाले यो राम्रो काम गरेको छ।’

शिक्षा समितिका सदस्य तथा भक्तपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले यस वर्ष जम्मा एक सय १० जना विद्यार्थीहरुले शैक्षिक ऋणको लागि आवेदन भरेको जनकारी गराए। त्यसमा अन्तर्वार्ता लिएर ९१ जना  छनौट गरेको उनले बताए।

शैक्षिक ऋण भक्तपुर नगरका स्थायीवासीले मात्र पाउने ज्याख्वले बताए। कार्यक्रम अन्तर्गत नगरपालिकाले १ विद्यार्थीका लागि ५ लाखसम्म कर्जा दिने छ। भक्तपुर नगरपालिकाले शैक्षिक ऋणका लागि यस वर्ष ५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।

शैक्षिक ऋण ३ किस्तामा प्रदान गरिने ऋणको वार्षिक व्याजदर ६ प्रतिशत रहेको छ। शैक्षिक ऋण लिएको १ वर्षमा २५ प्रतिशत, २ वर्षमा ५० प्रतिशत, ३ वर्षमा ७५ प्रतिशत र ४ वर्षमा शतप्रतिशत तिर्नुपर्ने व्यवस्था गरिएको छ

जाडो छल्न युरोपबाट रारा आइपुगे चरा

मुगु– रारा तालमा यति बेला अगन्तुक चराचुरुङ्गीले भरिभराउ भएको छ। जाडो छल्न युरोप, साईबेरिया, तिब्बेत र भारत लगायतका स्थानबाट चराहरु रारा क्षेत्रमा आएका हुन्।

रारामा बर्सेनी ४९ प्रजातिका चरा आउने गर्दछन्। यसपटक रारामा २० प्रजातीका चरा बसाइसराई गरि आएका छन्। रारा राष्ट्रिय निकुञ्जका अनुसार थप चरा आउने क्रम जारी छ।

विदेशी चरा रारा आउन थालेसँगै रारामा पर्यटकीय गतिविधि पनि बढ्दै गएको छ। निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार हाँस जात्तीका चरा जाडो सुरु भएदेखि मंसिर महिना देखि नै आउने गर्दछन्। ‘कुनै चरा चैत पछी गर्मीमा फर्किर्ने  र कुनै चरा गर्मीपछी पनी आउने गरेका छन्’ संरक्षण अधिकृत भण्डारीले भने, ‘सबैभन्दा बढी भारत, तिब्बत र युरोपका विभिन्न तालमा बस्दै आएका चरा रारामा आउने गरेका छन्।’
चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराको आकर्षणमा परेको उनको भनाई छ।
पश्चिमी मूलुकबाट आएका चरा करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने गर्दछन्। अहिले रारा चरामय बनेको भण्डारीको भनाइ छ। तालदेखि जंगल क्षेत्रसम्म विदेशी चरा देख्न सकिन्छ।

बजेट संविधानको मर्म अनुसार ल्याउन सकिएन : रक्षामन्त्री

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको स्वीकार गरेका छन्।

संविधानले तीन वटै तहका सरकारको कामहरु परिभाषित गरेपनि कामगर्ने शैलीमा पुरानै आचरण हावी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिट अनुसार आउन नसकेको बताए। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था र त्यसलाई कार्यन्वयनमा लैजानेहरुबीच द्धन्द हुँदा विकास निर्माणका गतिविधिमा समेत अवरोध भएको बताए। उनले राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानून र संरचनाहरु अझैपनि पूर्णरुपमा निर्माण नभएकाले व्यवहारीक रुपमा अन्तर  विरोध भइरहेको र त्यसको असर बजेट र नीति तथा कार्यक्रममा परेको बताए।

त्यस्तै समावेशी आर्थिक विकासका लागि तीन वटै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरिक्षणमा जानुपर्नेमा उनको जोड थियो। उपप्रधानमन्त्री पोखरेलले विकास मैत्री सरकारी नीति र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमान्दार कर्मचारीतन्त्रको विकास भएमात्र आर्थिक विकास र समृद्धि सम्भव भएको बताए।

हेटौंडा राजधानी तोक्ने तयारीविरुद्ध दोलखामा प्रदर्शन

दोलखा – प्रदेश ३ को राजधानी हेटौंडा तोक्ने तयारी विरुद्ध दोलखावासी आन्दोलित भएका छन्। सत्तारुढ नेकपा सचिवालयको निर्देशन लगत्तै राजधानी हेटौंडा तोक्ने तयारी भएपछि आक्रोसित स्थानीयले मंगलबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन्।

अपायक स्थानमा राजधानी तोक्न लागिएको भन्दै नागरिक दबाव अभियानले प्रदर्शन गरेको हो। सातदोबाटो चोकबाट शुरु भएको जुलुसले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। जुलुसका सहभागीले पायक पर्ने स्थानमा राजधानी तोक्न र हालको अस्थायी राजधानी हेटौंडा खारेज गर्न माग गर्दै नारा लगाएका थिए।

सरकारसँग जनताहरु असन्तुष्टः प्रदेशमन्त्री सोनल

बारा– प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जीतेन्द्र सोनलले राजनितिक परिवार्तनको लागि आन्दोलन गरेका नेपाली जनताहरु अहिलेका सरकारहरुसँग असन्तुष्ट बन्दै गएको बताएका छन्।

सोमबार कलैयामा आयोजना गरिएको मुख्य मन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बिमा शिविर सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै राजनितिक परिवर्तन गर्नमा लडेका जनतहरुले तीनै तहका सरकारसँग असन्तुष्ट बन्दै गएमा धेरै सघर्षबाट स्थापित भएको उपल्बधीहरु गुमने डर समेत रहेको सोनलले बताए।

सिम्रोनगढ नाकाबाट १९ क्विन्टल छोकडा बरामद

बारा– भन्सार छलेर भारत निकासी गर्न लागिएको ३८ बोरा छोकडा बारा प्रहरीले बरामद गरेको छ।

सिम्रौनगढ नगरपालिका–२ श्रीनगर बैरियाबाट सोमबार राती प्रहरीले उक्त परिमाणको छोकडा पक्राउ गरेको हो।

बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले अबैध तरिकाले नेपालबाट भारत लैजान लागिएको १९ क्विन्टल छोकडा नियन्त्रणमा लिइएको जानकारी दिए।

बेवारिसे अवस्थामा फेला परेको उक्त छोकडालाई वीरगन्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए।
उक्त नाकाबाट अवैध निकासी बढ्दै गएको प्रहरीको भनाई छ।

महिना दिन अघि भरततर्फ तस्करी भइरहेको सामान नियन्त्रणमा लिन गएको शसस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा झडप समेत भएको थियो।

चालककै कारण दुुर्घटना बढ्दो

पाल्पा- जिल्लामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन्। ट्राफिक नियम नियम विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको देखिएको छ।

चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन्। चालकले मदिरा सेवन गरी सवारीसाधन चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। यही पुस १३ देखि १९ गतेसम्म सञ्चालित कार्यक्रममा ३ सय ८९ सवारी कारबाहीमा परेका छन्।

सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालित अवधिमा १३ सवारी दुर्घटनामा नौ जना घाइते भएका छन्। उन्नाइस सवारीसाधनमा दुर्घटनाबाट क्षति भएको छ। प्रहरीले मोटरसाइकल र स्कुटी ५८, जिप, कार र भ्यान ७३, बस, टिप्पर र ट्रक २०२, ट्र्याक्टर ५६ प्रहरी उक्त जाँचका क्रममा चालकले नियम पालना नगरेको देखिएको थियो।

बिचौलियाको मारमा किसान

बाँके – बाँकेको खजुरा तरकारीमा आत्मनिर्भर बन्दै गएको क्षेत्र हो। पछिल्लो समय खजुरा क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानको संख्या बढ्दैछ। तरकारी खेतीमा आकर्षण बढिरहेका बेला यस क्षेत्रका किसान बिचौलियाको मारमा परेका छन्।

खजुरा गाउँपालिका ‘ए’ गाउँमा तरकारी खेती गरिरहेका अगुवा किसान लालबहादुर खत्री भन्छन्, ‘नेपाली किसानको प्रमुख समस्या बजार हो। बिचौलियाको हातमा छ बजार। किसानले सहि मूल्य पाउँदैनन्। ठ्याक्कै आधा रकम बिचौलियाले एक दिनमा आम्दानी गर्छन्। किसान र उपभोक्ता दुवै ठगिएका छन्। उपभोक्ताले महँगोमा किन्न परिरहेको छ।’

दोस्रो मनमोहन क्रिकेट प्रतियोगिता, एपिएफको जित

इटहरी,  विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा विजयी भएको छ ।

एपिएफले सोमबार स्थानीय मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई ८३ रनले पराजित गरेको हो । जितका बावजुद पनि एपिएफको सेमिफाइनल सम्भावना कमजोर रहेको छ । मंगलबार हुने खेलमा इनरुवाले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेमा एपिएफ र आर्मीमध्ये नेटरनरेटमा अघि हुने टोली सेमिफाइनल प्रवेश गर्नेछ । इनरुवा क्रिकेट मैदानमा भएको खेलमा एपिएफले पहिले ब्याटिङ गर्दै २ सय ४ रन बनायो । जबाफी ब्याटिङ गरेको इनरुवाले ३६.२ ओभरमा १ सय २१ रन मात्र बनाउन सक्यो । इनरुवाको ब्याटिङमा रवि रोयले सर्वाधिक २६, रूपेश श्रीवास्तवले २३ तथा विवेक मेहताले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफको बलिङमा देब्रेहाते स्पिनर सूर्य तामाङले सर्वाधिक ४ विकेट लिए । त्यस क्रममा ८.२ ओभरमा २ मेडन राख्दै २५ रन खर्चिए ।  यस्तै कप्तान वसन्त रेग्मीले ३ विकेट लिन ७ ओभरमा १ मेडन राख्दै मात्र १० रन खर्चिए । यज्ञमान कुमालले २ तथा अमरसिंह रौटेलाले १ विकेट लिए ।