खेलाडीहरुबीच भयो हानाहान !

सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदकाे त्रास

काठमाडौं – विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ। संसद्मा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुने खालको कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको हो। विकास तथा प्रविधि समितिले पास गरिसकेको उक्त विधेयक संसद्मा विचाराधीन छ।

विधेयकको दफा ९६ उपदफा २८ मा राज्यविरुद्धको अपराध गर्नेलाई जन्मकैदसम्मको सजाय गर्न सकिने व्यवस्था गरिएको हो। उपदफा २८ मा लेखिएको छ, ‘दफा ८८ को उपदफा (१) को कसुरमा कसुरदारलाई प्रचलित कानुनबमोजिम राज्यविरुद्धको अपराधमा सजाय हुनेछ।’ दफा ८८ को उपदफा (१) मा लेखिएको छ, ‘कसैले विद्युतीय माध्यमको प्रयोग गरी नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा संघीय एकाइबीचको सुसम्बन्धमा खलल पर्न सक्नेगरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै कामकारबाही गर्ने वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सम्बन्ध खलल गर्नु वा गराउनुहुँदैन।’ विधेयकमा उल्लेख गरिएको प्रचलित कानुन भनेको मुलुकी अपराध संहिता ऐन, २०७४ हो। मुलुकी अपराध संहितामा राज्यविरुद्धको अपराध गर्नेलाई पाँच वर्ष कैद, ५० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको व्यवस्था छ।

भक्तपुर नगरपालिकाद्वारा शैक्षिक कर्जा वितरण

भक्तपुर– भक्तपुर नगरपालिकाले शैक्षिक कर्जा वितरण सुरु गरेको छ।

पहिलो चरण अन्तर्गत नगरपालिकाले ९१ जना विद्यार्थीलाई शैक्षिक ऋण दिएको होे। उच्च शिक्षा अध्ययनका लागि नगरपालिकाले शैक्षिक ऋण प्रदान गरेको हो।

नगरपालिकाको अनुसार इन्जिनियरिङ्ग र एमविवीएस पढ्नेका लागि समेत ऋण माग भएको छ।

‘शैक्षिक ऋण दिएपछि इन्जिनियरिङ्ग संकायमा पढ्न सजिलो हुनेछ’ विद्यार्थी श्रेयस्का सुवाल भनिन्, ‘नगरपालिकाले यो राम्रो काम गरेको छ।’

शिक्षा समितिका सदस्य तथा भक्तपुर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले यस वर्ष जम्मा एक सय १० जना विद्यार्थीहरुले शैक्षिक ऋणको लागि आवेदन भरेको जनकारी गराए। त्यसमा अन्तर्वार्ता लिएर ९१ जना  छनौट गरेको उनले बताए।

शैक्षिक ऋण भक्तपुर नगरका स्थायीवासीले मात्र पाउने ज्याख्वले बताए। कार्यक्रम अन्तर्गत नगरपालिकाले १ विद्यार्थीका लागि ५ लाखसम्म कर्जा दिने छ। भक्तपुर नगरपालिकाले शैक्षिक ऋणका लागि यस वर्ष ५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।

शैक्षिक ऋण ३ किस्तामा प्रदान गरिने ऋणको वार्षिक व्याजदर ६ प्रतिशत रहेको छ। शैक्षिक ऋण लिएको १ वर्षमा २५ प्रतिशत, २ वर्षमा ५० प्रतिशत, ३ वर्षमा ७५ प्रतिशत र ४ वर्षमा शतप्रतिशत तिर्नुपर्ने व्यवस्था गरिएको छ

जाडो छल्न युरोपबाट रारा आइपुगे चरा

मुगु– रारा तालमा यति बेला अगन्तुक चराचुरुङ्गीले भरिभराउ भएको छ। जाडो छल्न युरोप, साईबेरिया, तिब्बेत र भारत लगायतका स्थानबाट चराहरु रारा क्षेत्रमा आएका हुन्।

रारामा बर्सेनी ४९ प्रजातिका चरा आउने गर्दछन्। यसपटक रारामा २० प्रजातीका चरा बसाइसराई गरि आएका छन्। रारा राष्ट्रिय निकुञ्जका अनुसार थप चरा आउने क्रम जारी छ।

विदेशी चरा रारा आउन थालेसँगै रारामा पर्यटकीय गतिविधि पनि बढ्दै गएको छ। निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार हाँस जात्तीका चरा जाडो सुरु भएदेखि मंसिर महिना देखि नै आउने गर्दछन्। ‘कुनै चरा चैत पछी गर्मीमा फर्किर्ने  र कुनै चरा गर्मीपछी पनी आउने गरेका छन्’ संरक्षण अधिकृत भण्डारीले भने, ‘सबैभन्दा बढी भारत, तिब्बत र युरोपका विभिन्न तालमा बस्दै आएका चरा रारामा आउने गरेका छन्।’
चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराको आकर्षणमा परेको उनको भनाई छ।
पश्चिमी मूलुकबाट आएका चरा करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने गर्दछन्। अहिले रारा चरामय बनेको भण्डारीको भनाइ छ। तालदेखि जंगल क्षेत्रसम्म विदेशी चरा देख्न सकिन्छ।

बजेट संविधानको मर्म अनुसार ल्याउन सकिएन : रक्षामन्त्री

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको स्वीकार गरेका छन्।

संविधानले तीन वटै तहका सरकारको कामहरु परिभाषित गरेपनि कामगर्ने शैलीमा पुरानै आचरण हावी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिट अनुसार आउन नसकेको बताए। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था र त्यसलाई कार्यन्वयनमा लैजानेहरुबीच द्धन्द हुँदा विकास निर्माणका गतिविधिमा समेत अवरोध भएको बताए। उनले राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानून र संरचनाहरु अझैपनि पूर्णरुपमा निर्माण नभएकाले व्यवहारीक रुपमा अन्तर  विरोध भइरहेको र त्यसको असर बजेट र नीति तथा कार्यक्रममा परेको बताए।

त्यस्तै समावेशी आर्थिक विकासका लागि तीन वटै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरिक्षणमा जानुपर्नेमा उनको जोड थियो। उपप्रधानमन्त्री पोखरेलले विकास मैत्री सरकारी नीति र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमान्दार कर्मचारीतन्त्रको विकास भएमात्र आर्थिक विकास र समृद्धि सम्भव भएको बताए।

हेटौंडा राजधानी तोक्ने तयारीविरुद्ध दोलखामा प्रदर्शन

दोलखा – प्रदेश ३ को राजधानी हेटौंडा तोक्ने तयारी विरुद्ध दोलखावासी आन्दोलित भएका छन्। सत्तारुढ नेकपा सचिवालयको निर्देशन लगत्तै राजधानी हेटौंडा तोक्ने तयारी भएपछि आक्रोसित स्थानीयले मंगलबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन्।

अपायक स्थानमा राजधानी तोक्न लागिएको भन्दै नागरिक दबाव अभियानले प्रदर्शन गरेको हो। सातदोबाटो चोकबाट शुरु भएको जुलुसले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। जुलुसका सहभागीले पायक पर्ने स्थानमा राजधानी तोक्न र हालको अस्थायी राजधानी हेटौंडा खारेज गर्न माग गर्दै नारा लगाएका थिए।

सरकारसँग जनताहरु असन्तुष्टः प्रदेशमन्त्री सोनल

बारा– प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जीतेन्द्र सोनलले राजनितिक परिवार्तनको लागि आन्दोलन गरेका नेपाली जनताहरु अहिलेका सरकारहरुसँग असन्तुष्ट बन्दै गएको बताएका छन्।

सोमबार कलैयामा आयोजना गरिएको मुख्य मन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्र्तगत छोरी शिक्षा बिमा शिविर सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै राजनितिक परिवर्तन गर्नमा लडेका जनतहरुले तीनै तहका सरकारसँग असन्तुष्ट बन्दै गएमा धेरै सघर्षबाट स्थापित भएको उपल्बधीहरु गुमने डर समेत रहेको सोनलले बताए।

सिम्रोनगढ नाकाबाट १९ क्विन्टल छोकडा बरामद

बारा– भन्सार छलेर भारत निकासी गर्न लागिएको ३८ बोरा छोकडा बारा प्रहरीले बरामद गरेको छ।

सिम्रौनगढ नगरपालिका–२ श्रीनगर बैरियाबाट सोमबार राती प्रहरीले उक्त परिमाणको छोकडा पक्राउ गरेको हो।

बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले अबैध तरिकाले नेपालबाट भारत लैजान लागिएको १९ क्विन्टल छोकडा नियन्त्रणमा लिइएको जानकारी दिए।

बेवारिसे अवस्थामा फेला परेको उक्त छोकडालाई वीरगन्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए।
उक्त नाकाबाट अवैध निकासी बढ्दै गएको प्रहरीको भनाई छ।

महिना दिन अघि भरततर्फ तस्करी भइरहेको सामान नियन्त्रणमा लिन गएको शसस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा झडप समेत भएको थियो।

चालककै कारण दुुर्घटना बढ्दो

पाल्पा- जिल्लामा ट्राफिक नियम पालन नगरी सवारीसाधन सञ्चालन गर्ने बढी देखिएका छन्। ट्राफिक नियम नियम विपरीत सवारी सञ्चालन गर्दा दुर्घटना बढेको देखिएको छ।

चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन्। चालकले मदिरा सेवन गरी सवारीसाधन चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। यही पुस १३ देखि १९ गतेसम्म सञ्चालित कार्यक्रममा ३ सय ८९ सवारी कारबाहीमा परेका छन्।

सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालित अवधिमा १३ सवारी दुर्घटनामा नौ जना घाइते भएका छन्। उन्नाइस सवारीसाधनमा दुर्घटनाबाट क्षति भएको छ। प्रहरीले मोटरसाइकल र स्कुटी ५८, जिप, कार र भ्यान ७३, बस, टिप्पर र ट्रक २०२, ट्र्याक्टर ५६ प्रहरी उक्त जाँचका क्रममा चालकले नियम पालना नगरेको देखिएको थियो।

बिचौलियाको मारमा किसान

बाँके – बाँकेको खजुरा तरकारीमा आत्मनिर्भर बन्दै गएको क्षेत्र हो। पछिल्लो समय खजुरा क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानको संख्या बढ्दैछ। तरकारी खेतीमा आकर्षण बढिरहेका बेला यस क्षेत्रका किसान बिचौलियाको मारमा परेका छन्।

खजुरा गाउँपालिका ‘ए’ गाउँमा तरकारी खेती गरिरहेका अगुवा किसान लालबहादुर खत्री भन्छन्, ‘नेपाली किसानको प्रमुख समस्या बजार हो। बिचौलियाको हातमा छ बजार। किसानले सहि मूल्य पाउँदैनन्। ठ्याक्कै आधा रकम बिचौलियाले एक दिनमा आम्दानी गर्छन्। किसान र उपभोक्ता दुवै ठगिएका छन्। उपभोक्ताले महँगोमा किन्न परिरहेको छ।’

दोस्रो मनमोहन क्रिकेट प्रतियोगिता, एपिएफको जित

इटहरी,  विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा विजयी भएको छ ।

एपिएफले सोमबार स्थानीय मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवालाई ८३ रनले पराजित गरेको हो । जितका बावजुद पनि एपिएफको सेमिफाइनल सम्भावना कमजोर रहेको छ । मंगलबार हुने खेलमा इनरुवाले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेमा एपिएफ र आर्मीमध्ये नेटरनरेटमा अघि हुने टोली सेमिफाइनल प्रवेश गर्नेछ । इनरुवा क्रिकेट मैदानमा भएको खेलमा एपिएफले पहिले ब्याटिङ गर्दै २ सय ४ रन बनायो । जबाफी ब्याटिङ गरेको इनरुवाले ३६.२ ओभरमा १ सय २१ रन मात्र बनाउन सक्यो । इनरुवाको ब्याटिङमा रवि रोयले सर्वाधिक २६, रूपेश श्रीवास्तवले २३ तथा विवेक मेहताले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफको बलिङमा देब्रेहाते स्पिनर सूर्य तामाङले सर्वाधिक ४ विकेट लिए । त्यस क्रममा ८.२ ओभरमा २ मेडन राख्दै २५ रन खर्चिए ।  यस्तै कप्तान वसन्त रेग्मीले ३ विकेट लिन ७ ओभरमा १ मेडन राख्दै मात्र १० रन खर्चिए । यज्ञमान कुमालले २ तथा अमरसिंह रौटेलाले १ विकेट लिए ।