सार्वजनिक बसभित्र अश्लील हर्कत: एक वर्षपछि पक्राउ परे युवक

यसरी पक्राउ परे सार्वाजनिक सवारीमा अश्लील गतिविधि गर्ने रवीन रुचाल

काठमाडौँ- सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन्।

विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो। गत वर्ष साउनमा खिंचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ।

चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले आइतबार अपराह्न चितवनको भरतपुरबाट उनलाई पक्राउ गरी थप कारवाहीका लागि काठमाडौँ ल्याएको थियो। महाशाखा प्रमुख सहकुलबहादुर थापाले ठूलो मेहनत गरेर एक वर्षपछि नै भए पनि घटनाका अभियुक्त पक्राउ गर्न सफल भएको बताउँदै साइबार अपराधमा मुद्दा चलाइने जानकारी दिए। “पहिचान नभएको अभियुक्त हो, पत्ता लगाउन ठूलो मेहनत गरेका छौँ, गुगल र फेसबुकसँग आइपी एड्रेस मागी पत्ता लगाएर पक्राउ गर्न सफल भयौँ”, थापाले भने।

यही अवस्‍थामा कसरी पदबाट राजीनामा दिने ?

काठमाडौं- उपसभामुख शिवमायाँ तुम्वाहाङ्फेले आफुनै सभामुख पदको दावेदार भएको बताएकी छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले  यो स्वभाविक भएको समेत बताएको छन्। ‘उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ ? छैन’, भन्दै प्रश्न गरेकी छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई पदबाट राजीनामा दिन भने पनि तुम्वाहाङ्फेले त्यसलाई चुनौति दिदै आएकी छन्। उनले भनेकी छन्, ‘सभामुख पदको दावी गर्नु त अनौठो मान्नु पर्दैन स्वभाविक नै हो।’

उनले अहिले सभामुख बन्ने आफ्नो इच्छा नभई आवश्यकता भएको बताएकी छन्। ‘आवश्यकता कसरी हो भने सभामुख जो निवर्तमान सभामुख हुनुहुन्थ्यो उहाँ कुनै एक घटनासंग जोडिनुभयो उहाँ निस्किनुभयो। उहाँले यहाँबाट राजिनामा गरेपछाडि म उपसभामुख मैले केही बदमासी काम त गरेको छ छैन्। मैले पाँच वर्ष काम गर्न पार्टीले पठायो २ वर्ष वित्यो अव ३ वर्ष बाँकि छ। अवको तीन वर्ष पुरा गर्न मैले किन नपाउने। म उपसभामुख भएर काम गरिराखेको छु मैले कुनै फट्याई त गरेको छैन बदमासी गरेको छैन, यौन दुराचार गरेको छैन्, भ्रस्टाचार गरेको छैन भने के चार्ज लगाएर मलाई दलले निकाल्छ मिल्छ?’, उनले भनेकी छन्।

सुपुर्दगी सन्धिमा चिनियाँ चासो

काठमाडौं – चिनियाँ पक्षले गृहमन्त्री रामबहादुर थापाको चीन भ्रमणका अवसरमा नेपालसँग हुने भनिएको सुपुर्दगी सन्धिबारे चासो राखेको छ। गत पुस २० देखि २५ गतेसम्म भएको गृहमन्त्री थापाको भ्रमण क्रममा चिनियाँ पक्षले नेपाल–चीन सीमाबाट आपराधिक गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न सुपुर्दगी सन्धि आवश्यक रहेको तर्क राखेको थियो।

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच सुपुर्दगी सन्धि गर्नेगरी छलफल अगाडि बढाएको भए पनि त्यति बेला ‘आपराधिक विषयहरुमा पारस्परिक कानुनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीच सन्धि हुने’ भन्ने समझदारीमात्रै भएको थियो। त्यही समझदारीमा टेकेर गृहमन्त्री थापाको भ्रमणको समयमा पनि चिनियाँ पक्षले चासो व्यक्त गरेको हो। ‘चिनियाँ पक्षले सीमा सुरक्षा र व्यवस्थापनबारे चासो राखेको हो। राष्ट्रपति सीको भ्रमणका बेला भएका समझदारीलाई कार्यान्वयन गर्ने सवालमा कुराकानी भएको छ’, गृहमन्त्रीको भ्रमणमा सहभागी एक सदस्यले भने। भ्रमणका बेला कुनै पनि लिखित सम्झौता भने नभएको उनले बताए।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

सर्लाही- सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

मंगलबारबाट लागू हुने गरी जिल्ला अदालतबाट ठगी मुद्दा अन्तर्गत अनुसन्धान गर्न पाँच दिनको म्याद लिइएको सर्लाही प्रहरी प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए। ‘यादवविरुद्ध तत्कालका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाएका थियौं’, प्रउ पोखरेलले मंगलबार नागरिकँग भने, ‘यसबीच यादवविरुद्ध निकै प्रमाणहरु जुटाइसकेका छौं, त्यसैले आजबाट जिल्ला अदालतबाटै म्याद लिएर ठगी मुद्दामा अनुसन्धान सुरु गरेका छौं।’

प्रहरी हिरासतमै रहेका यादवको बरहथवा नगरपालिका–१० सितापुरस्थित घरमा सोमबार मध्यान्ह सुरक्षाकर्मीको टोलीले छापा मारेको थियो। अनुसन्धानका क्रममा आवश्यक कागजात संकलन गर्न अभियुक्त यादवको घरमा खानतलासी गरिएको प्रहरीले जनाएको छ। ‘अभियुक्त यादवविरुद्धको आरोपसँग सम्बन्धित कागजात संकलनका लागि खानतलासी गरेका हौं’, प्रउ पोखरेलले भने, ‘खानतलासीबाट अनुसन्धानमा आवश्यक पर्ने प्रमाणजन्य कागजातहरु नियन्त्रणमा लिएका छौं।’ प्रहरी टोलीले झण्डै दुई घण्टा यादवको घरमा खानतलासी गरेर ऋण लगानी गरेको तमसुक, चेकबुक लगायत विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ।

दुई महिनाभित्र रेल आउँछ : मन्त्री नेम्वाङ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने बताएका छन्।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन्। ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खगरिका लागि अर्डर समेत भइसकेको उनले बताए। जी टु जी माध्यमबाट रेल खरिद गरिने छ। २ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनम आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन उनले आग्रह गरे। ‘यति दिन भनेर मिति तोक्न सक्दिन तर चाडै नेपालमा रेल सञ्चालन भएको देखिन्छ। रेलको बाटो निर्माण भएको देखिन्छ। रेल ऐन आइसकेको छ’, उनले भने।

सरकारले संघ अन्तर्गत पर्ने बाटोहरुको पूर्ननिर्माणका कामहरु गरिरहेको उनले बताए। खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उनले बताए। संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको कामभइरहेका र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उनले बताए।

भारतीय नयाँ राजदूतको रुपमा आउँदै विनय मोहन

काठमाडौं- नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्वत्रा आउने भएका छन्। मन्जिव सिंह पुरीले आफ्नो कार्यकाल पुरा गरे पछि विनय मोहनलाई नेपाल पठाउन लागिएको हो। उनी यस अघि फ्रान्समा थिए।

स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयबाट एग्रीमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा आइसकेको छ।

सम्भवत उनले फेव्रुअरीबाट आफ्नो कार्यभार सम्हाल्ने छन्। विनय मोहन सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए।

भक्तपुर–नगरकोट सडक, ६ वर्षसम्म निर्माण सम्पन्न भएन

कविराज कार्की
काठमाडौं – भक्तपुर–नगरकोट सडक खण्ड अस्तव्यस्त बन्दै गएको छ। उक्त सडक खण्ड तीनवर्षमा काम सकिनुपर्ने ६छ वर्षसम्म पनि उस्तै समस्या रहेको छ। भक्तपुर–नगरकोट सडक खाल्डाखुल्डी भएर सिचाई कुलो जस्तै भएको छ। सडकमा ग्राभेल उम्किँदै गएपछि खाल्डा बढ्दै गएको स्थानीयको भनाइ छ। सडक मर्मतका लागि सरोकारवालाले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्।

नगरकोटका स्थानीय दिनेश ढकालले उक्त सडक अस्तव्यस्त बन्दै गएको र सडककै कारणले दिन प्रतिदिन पर्यटक घट्दै गएको बताए। उक्त सडक भक्क्तपुर हुँदै नगरकोटसम्म पुग्ने गर्दछ। यो सडकमा बढी मात्रामा बस र मोटरसाइकल चल्ने गर्छन्। भक्तपुरदेखि नगरकोटसम्मको करिब १६ किलोमिटर मिटर सडक अहिलेसम्म कालोपत्रे हुने सकेको छैन। यहाँ ग्राभेल पनि उप्किँदै गएको छ। सडकमा रहेका खाल्डाखुुल्डीले यात्रुलाई सास्ती हुने गरेको छ।

सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए। सम्झौताअनुसार काम सम्पन्न नगरी अहिलेसम्म तीन पटक म्याद थप गरिएको भएपनि काम सम्पन्न हुन नसकेको भक्तपुर–नगरकोट–सिपाघाट सडक योजनाले जनाएको छ। अहिलेसम्म करिब ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ।

कर्मचारीको रोजाइमा पर्न छाड्यो मालपोत

टीकापुर – कुनै बेला मालपोत कार्यालय कर्मचारीको पहिलो रोजाइमा पथ्र्यो। उनीहरू त्यहाँ जान माथिल्लो तहमा भनसुन गर्थे। कतिपय कर्मचारीले आर्थिक चलखेलसमेत गर्ने गरेको पाइन्थ्यो। तर अहिले समय फेरिएको छ। धेरैजसो कर्मचारी मालपोत कार्यालय जान चाहँदैनन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नजिकबाट नियालिरहेका कारण त्रासले कर्मचारीको रोजाइमा मालपोत कार्यालय पर्न छाडेको हो। मालपोतमा कार्यरत कतिपय कर्मचारी अख्तियारको फन्दामा परिसकेका छन्। स्रोतका अनुसार अख्तियारले धमाधम समात्न थालेपछि कर्मचारी मालपोत जान डराएका हुन्।

कर्मचारी आउन नमानेपछि टीकापुरस्थित मालपोत कार्यालयमा समेत विगत लामो समयदेखि दरबन्दीअनुसारको पद रिक्त छ। कार्यालयमा नासुतर्फ ६ दरबन्दीमध्ये ३ जना र खरिदारतर्फ ५ दरबन्दीमध्ये एकजनाको पद रिक्त छ। अख्तियारले कार्यालयमा कार्यरत एक नासु र एक खरिदारलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा साउन १९ गते पक्राउ गरेको थियो। कार्यालयले दुवैजनाको दरबन्दी विभागमा कायम गरेर अन्य कर्मचारीलाई काजमा खटाइदिन अनुरोध गरेको छ। स्रोतका अनुसार रिक्त पदमा अहिलेसम्म कोही आउन मानेका छैनन्।

छाउगोठ भत्काउन प्रहरी र जनप्रतिनिधिको सक्रियता

बाजुरा – छाउपडी प्रथाविरुद्ध सरकारले अभियान सुरु गरेसँगै जिल्लाको बडिमालिका नगरपालिकामा छाउगोठ भत्काउन सुरु गरिएको छ। जनप्रतिनिधि र प्रहरीको सक्रियतामा नगरपालिकामा छाउगोठ भत्काउन थालिएको हो। बडिमालिका नगरपालिकाको रतुडामा अहिलेसम्म ५ गोठ भत्काइएको छ।

बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले छाउगोठमा बस्दा महिलाले विभिन्न समस्या भोग्नुपरेकाले भत्काउन थालिएको बताए। महिनावारी हुँदा महिलाहरू लुकीछिपी गोठमा बस्ने गरेको पाइएपछि छाउगोठ भत्काउन थालिएको बडिमालिका–८ का वडाअध्यक्ष प्रकाश रावलले बताएका छन्।

बडिमालिका–७ मा पनि वडा कार्यालय र प्रहरीले छाउगोठ भत्काउने अभियान थालेको छ। वडाअध्यक्ष धर्मराज पाध्यायले टोल–टोलमा पुगेर छाउगोठ भत्काइने बताए।बडिमालिका नगरपालिकामध्ये सबैभन्दा बढी वडा नम्बर ७, ६, ५ र १ मा छन्। जिल्लाभरी ३ सयभन्दा बढी छाउगोठ रहेको बताइएको छ।

गत वर्ष बडिमालिका–३, रजालीलाई जिल्लाकै पहिलो छाउगोठमुक्त वडा घोषणा गरिएको थियो। माघभित्रै वडा नम्बर ९ लाई छाउगोठमुक्त घोषणाको तयारी थालिएको वडाअध्यक्ष विनोदकुमार बिकले बताएका छन्। सर्वपक्षीय अनुगमनपछि वडामा छाउगोठ नभेटिएकाले माघभित्रै वडालाई छाउगोठमुक्त घोषणा गर्न लागिएको वडाअध्यक्ष बिकले बताए।

सागका खेलाडी र प्रशिक्षकलाई सम्मान

मकवानपुर- १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले सागमा चार स्वर्ण, चार रजत र पाँच काँस्य पदक विजेतासहित १३ जना खेलाडी र  पाँच जना प्रशिक्षकलाई मंगलबार नगदसहित सम्मान गरेको हो।

खेलाडी तर्फ स्वर्ण पदक विजेता फुटबलका सुनिल बल, तेक्वान्दोका संजिवकुमार ओझा र निशा दर्नाल, कराँतेका महसुस मोक्तान, रजत पदक विजेता बाँस्केटबलकी माया स्याङ्तान र निकेश मगर, उसुकी शीलु डंगोल तथा हेन्डबलकी देवकुमारी बाँस्कोटा र काँस्य पदक विजेता कराँते रीता कार्की, बक्सिङका पुरन राई र विकास लामा, उसुका हरिप्रसाद गोले तथा खोखोका राजन बललाई सम्मान गरिएको थियो।

त्यस्तै, प्रशिक्षकहरुमा बक्सिङका लालबहादुर पौडेल, कराँतेका नरेन्द्र श्रेष्ठ, तेक्वान्दोका माधव कोइराला, फुटबलका विजयलाल श्रेष्ठ र उसुका राष्ट्रिय प्रशिक्षक विमल थापा मगरलाई सम्मान गरिएको थियो।