‘राजसंस्थाभन्दा ठूलो पितृसंस्था रैछ’

दीपक मनाङेद्वारा एन्फा कास्की अध्यक्ष गुरुङलाई मञ्चमै मुक्का प्रहार

पोखरा- गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेका छन्। गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन्।

पटक/पटक विवादमा आइरहने गुण्डा नाइकेका रुपमा परिचित राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको भन्दै मुक्का प्रहार गरेका थिए। मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा सहभागि हुन भनेर सांसद मनाङे कार्यक्रममा पुगेका थिए। आयोजकले उनलाई आसनग्रहणका लागि बोलायो।

अन्नपूर्ण पदमार्गको हिमपहिरो : पदयात्री खोज्न सेना परिचालन

पोखरा- अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्नका लागि सेनाको टिम परिचालन गरिएको छ। सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थलमा पुगेको प्रहरीले बताएको छ। हिमपातमा परेर चार कोरियाली र तीन नेपाली सहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार सेनाका कर्णेल अमित गुरुङको कमाण्डमा १२ जना सैनिक पहिरोस्थलमा परिचालन भएको छ। सेनाले त्यहाँ रहेका स्थानीयसँग समन्वय गर्दै खोजीमा जुट्ने कार्कीले बताए। ‘पहिरोस्थलभन्दा झन्डै एकसय मिटर टाढा सेनाको टिम बसेको छ। हेलिप्याड बनाएर हेलिकप्टर अवतरण गराएर सेनाको टिम पुगेको हो,’ कार्कीले भने, ‘सुरक्षा अपनाएर त्यहाँ रहेका स्थानीयसँगको समन्वयमा सेना खोजीमा जुट्नेछ।’

एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षका नेताको एउटै बोली

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन्।

रिपोर्टस क्लबमा भएको साक्षत्कार कार्यक्रममा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन चाहेकोले पनि यो पारित हुने बताए। प्रतिपक्षी दल पनि पारित गर्नुपर्ने पक्षमा रहेको र प्रधानमन्त्रीको चाहाना पनि पारित हुनुपर्छ भन्ने भएपछि संसदमा ह्विप लागु गरेर पनि एमसीसी पारित हुने उनको भनाई थियो।

एमसीसी नेपालमा लागु भएपछि गरिबी निवारण हुन्छ भन्ने नभएको तर ५५ अर्ब रुपैयाँ अनुदान गुम्न नदिने पक्षमा आफु रहेको उनको भनाई छ। अनुदान निशर्त हुने भएका परियोजनामा भएका शर्तहरु खारेज हुनुपर्ने उनको भनाई छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सत्तापक्षले एमसीसी पास गर्नुपर्ने बताए। प्रावधानमा भएका कमिकमजोरीहरुका विषयमा छलफल गर्न सकिने भन्दै उनले बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्न पनि सुझाव दिए। उनले भने, ‘सबैले यसलाई स्वीकार्नुपर्छ। अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ। यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमिकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ। एमसीसीका बारेमा बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्नुहोला। हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालिन नेकपा एमालेले विरोध गर्यो। त्यो त्यतिकै कोलाप्स भयो। त्यो लागु भएको भए धेरै राम्रो हुन्थ्यो।’’

बलात्कार आरोपमा वडा सचिव पक्राउ

बारा- शौच गर्न रातीको समयमा घर बाहिर निस्केकी रौवाहीका एक महिला गत आईतबार राति बलात्कारको सिकार भएको घटना सर्वजनिक भएको छ।

देवताल गाउँपालिका ६ का वडा सचिव रहेका रौवाहीकै बलिराम मण्डलाई ती महिलालाई  बलात्कार गरेको आरोपमा प्रकाउ गरेको बारा प्रहरीले जनाएको छ।

घरबाट निस्केर गाउँ बाहिर  शौच गर्न जाँदै गर्दा मण्डलले ती महिलालाई नजिकै रहेको उखुबारीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको  बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताएका छन्।

वडा सचिव मण्डलले ती महिलालाई जर्बजस्ती करणी  गरेको जानकारी पाए लगतै प्रहरीले मण्डललाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको मिश्रले बताए।

जर्बजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट मण्डललाई ५ दिन म्याद थप गरि घटना बारे थप अनुसन्धान सुरु गरिएको मिश्रले बताए।

घरमा शौचालय नहुँदा रातिको समयमा घर बाहिर निस्कने महिलाहरु बालत्कारको सिकार हुने गरेको घटनाहरु पटक पटकमा सार्वजनिक हुँदै आएको छ।

आमाबुबाले १२ वर्षपछि पाए माया मारिसकेको छोरा

भैरहवा- अभिभावकले माया मारीसकेको छोरा रुपन्देहीबाट १२ वर्षपछि फेला परेका छन्। १२ वर्षअघि रोजगारीको शिलशिलामा भारतबाट हराएको छोरा सन्तोस सुनार प्रहरी र विभिन्न संघ-सस्थाको सहयोगमा परिवारले जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट बुझेका हुन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका—४ बैजापुर बस्ने अमरबहादुर सुनार र लक्ष्मी सुनार परिवारले १२ वर्षअघि भारतको लुधियाना ट्रेनबाट छोरा हराएका थिए। २०६४ सालमा सुनार परिवार रोजगारीको शिलशिलामा भारतको लुधियाना जादै गर्दा ७ वर्षिय सन्तोसकुमार सुनार रेलमा छुट्न गई हराएपछि परिवारले आफ्नो क्षमताअनुसार भारतको विभिन्न शहर र रेलवे स्टेशनमा खोजे पनि भेटाएका थिएनन्।

हराएको ७ वर्षिय बालक सन्तोस सुनारसहित विजय तामाङ, राजेश कुमार र सुमित कुमार भारतको लखनउस्थित बालगृहमा बस्दै आएका थिए, ती बालकलाई नेपाली राजदूतावाससहित नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्चको सक्रियतामा २०७५ सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देही महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ल्याइएको थियो।

महिनावारीलाई सहज मान्छन् अभिभावक

उदयपुर- १३ वर्षीया किशोरी रीमावुङ राईलाई राजश्वला (महिनावारी) हुँदा परिवार र समाजबाट कुनै समस्या छैन। छोरी किशोरावस्थामा पुगेको थाँहा पाएका बाबुआमाले पहिलो महिनावारी हुनुअघि नै सचेत गराउदै विभिन्न सल्लाह दिएकाले उनलाई पहिलो महिनावारीमा पनि कुनै अप्ठेरो महसुस भएन।

उनीजस्तै १२ वर्षीया तयामी राईलाई पनि महिनावारीको पीडा अहिलेसम्म महसुस भएको छैन। शिक्षित बाबुआमा र खुल्ला पारिवारिक वातावरण भएकाले उनीहरुलाई महिनावारीको समस्या नपरेको हो। महिनावारी हुँदा उनीहरुलाई भान्सा जान, खाना नास्ता पकाउन कुनै रोकटोक हुदैन न त देवता कोठामा जान, पुजा गर्न र बाउ आमासँग बस्न, सुत्न नै बन्देज हुन्छ।

मानव जगतको सर्जक महिलामा हुने अनुपम प्राकृतिक घट्नाक्रम महिनावारी भए पनि सामाजिक अन्धविश्वासले छाउगोठ बस्नुपर्दा पश्चिम नेपालका धेरै किशोरी, युवती र महिलाले अकालमा ज्यान गुमाउदै आएको समाचार छताछुल्ल भईरहेको छ। प्रकृतिको बरदान मान्नुपर्ने महिनावारीलाई रुढीग्रस्त समाजको अन्धविश्वास, परम्परागत सोच र धार्मिक मान्यताले अनिवार्य छाउगोठ बस्नुपर्दा वर्षेनी कैयौं महिलाको अकालमा ज्यान जाने गरेपछि अहिले अछाममा छाउगोठ भत्काउने अभियान चलाउनु परेको छ।

उदयपुरमा पछिल्लो दुई वर्षयता प्रायः सबै विद्यालयमा महिनावारीमा सहज पार्न प्याड वितरण र निर्माण अभियान नै चलाइएको छ। महिनावारी हुँदा छात्राहरु पढ्न नआउने समस्या टार्न सुरुमा गैरसरकारी संस्थाको अगुवाईमा नियमित विद्यालय उपस्थित गराउन उनीहरुलाई प्याड उपलब्ध गराइएको थियो। तर, पछिल्लो एक वर्षयता धेरै विद्यालयले छात्राकै सक्रियतामा स्कुलमा प्याड बनाएर प्रयोग गर्न थालेपछि नियमित स्कुल आउँने र पठनपाठन सहज भएको पाइएको छ।

प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन

काठमाडौं- विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपीको मंगलबार उद्घाटन गरे।

उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताए। उनले समकक्षी मोदीलाई नेपाल भ्रमणको समेत निम्ता दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यी विकासका मोडल नेपाल भारत मित्रता र तिब्र विकासका नमुना भएको बताए। छिमेक पहिलो आफ्नो सरकारको प्राथमिकता भएको बताउँदै उनले क्रस वोर्डर कनेक्टिभिटीलाई बढाउनु यसको काम भएको बताए।
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका डेपुटी निर्देशक हरिकृष्णा मिश्राका अनुसार उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ जानेर भारतबाट पनि सामान बोकेको ट्रक नेपाल भित्रिएका छन्।

विवादमा श्रद्धा

मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री श्रद्धा कपुरले ‘मिटु’ आरोपित निर्देशक लभ रञ्जनको फिल्ममा काम गर्ने भएसँगै विवादमा तानिएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री दीपिका पादुकोणले यौन दुर्व्यवहारको आरोपितसँग काम नगर्ने बताएपछि अभिनेत्री श्रद्धाले लभ रञ्जनको फिल्म खेल्ने भएकी हुन्।

‘निर्देशक लभ रञ्जनको नयाँ फिल्ममा काम गर्दैछु। उनको यसअघिका फिल्महरू मलाई मनपरेका हुँदा काम गर्ने भएकी हुँ। यस फिल्ममा हाम्रो पुस्ताको उत्कृष्ट अभिनेता रणवीर कपुरसँग काम गर्ने मौका मिलेको छ,’ उनले भनिन्। उनले मार्चबाट फिल्मको सुटिङमा सहभागी जनाकारी गराएकी छन्।

यसअघि अभिनेत्री पादुकोणले भनेकी थिइन्, ‘यौन दुर्व्यवहारको आरोपितसँग म काम गर्दिन्।’ केही समयअघि बलिउड अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनको घरमा देखिएपछि उनीविरुद्ध ‘नटमाईदीपिका’ ह्यासट्याग ट्वीटरको टेन्डिङमा परेको थियो। उनी र अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनले भेट गरेका थिए। भेटपछि रञ्जनको फिल्ममा अभिनेत्री पादुकोणले काम गर्न लागेको खबर एकाएक बाहिर आएको थियो। निर्देशक रञ्जनसँग अभिनेत्री पादुकोणले काम गर्न लागेको चर्चा भएपछि ट्वीटरमा यसको विरोध भएको थियो।

‘कर्णाली उज्यालो कार्यक्रम’ का लागि वैकल्पिक उर्जासँग समझदारी

सुर्खेत- प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग संझौता गरेको छ। मंगलबार मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले ५० करोड ९ लाख रुपैयाँ छुट्याएको छ। कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन कार्यविधिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यान्वयन ईकाई स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलव्ध गराउने उल्लेख छ।

पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पुरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ। ति आयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमवाट वजेट व्यवस्था गर्ने समझदारी–पत्रमा उल्लेख छ।

राष्ट्रिय भलिबल प्रतियोगिता हुने

दुलेगौँडा(तनहुँ)- दुलेगौँडाको पञ्चमुनिदेव माध्यमिक विद्यालयको आयोजनामा राष्ट्रब्यापी विद्यालयस्तरिय भलिबल प्रतियोगिता हुने भएको छ। विद्यालयले स्वर्ण महोत्सवको अवसरमा प्रतियोगिताको अयोजना गरेको हो।

बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। तीन दिनसम्म हुने प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र दिइने विद्यालयका सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिए। उनका अनुसार द्धित्तिय र तृतीय हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमश :  ३० हजार र २० हजार रुपैयाँ नगद प्रदान गरिनेछ।

१६ टिमले सहभागिता जनाउने उनले बताए। विद्यालयले माघ ५ गते आईतबारदेखि स्वर्ण महोत्सवको सन्दर्भमा विभिन्न कार्यक्रम गरिरहेको छ। स्वर्ण महोत्सवको मुख्य कार्यक्रम माघ १२, १३ र १४ गते हुनेछ।
१४ गते स्वर्ण महोत्सव समारोहलाई प्रथम राष्ट्रपति रामवरण यादवले सम्बोधन गर्ने प्रधानध्यापक धुर्वकुमार मल्लले बताए।

राष्ट्रिय कलाकारहरुको सांगितीका प्रस्तुती, शैक्षिक सामाग्रीको प्रर्दशन, रक्तदान कार्यक्रम, नाटक मञ्चन र खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउने उनको भनाई छ।