पोते र मेहेन्दी व्यवसायमा जम्दै युवा

साउनको महिना भएको र तीज पर्व नजिकिदै गएकोले काठमाडौंको इन्द्रचोकको पोते बजारमा निकै चहलपहल छ । सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन् । साउन महिनादेखि तीज र दसैँसम्म लगाउनका लागि नौगेडी किन्न लागेको उनी बताउँछिन् ।
विगत १६ वर्षदेखि काठमाडौंमा बस्दै आएकी उनी सधैंको साउन र सोमबारमा झैं बुहारीसँगै ब्रत बसेर हरियो पहिरन लगाउने गर्छिन् । ‘पहिला पहिला भर्खरैका युवतीहरुले लगाउने भएपनि अहिले अधवैँसेभन्दा बढी उमेरकाले समेत साउनमा हरियो लगाउन थालेका छन्,’, ज्ञवाली भन्छिन् । उनको घरमा सानी नातिनीले समेत हरियो चुरा लगाएकी छन् ।
सुदुरपश्चिमबाट बच्चाहरु भेट्न काठमाडौँ आएकी ४७ वर्षीया पुष्पा नेपाली यही आएको मौकामा तीज र साउनको लागि नौगेडी बनाउन आएकी थिइन् । ‘पुरानो संस्कृति र रितीरिवाज बिर्सन हुँदैन । त्यसैले, आफूले जानेबुझेदेखि नै तीजमा पनि निराहर ब्रत बस्ने गरेकी छु । साउनमा हरियो लुगा, चुरा , पोते मेहेन्दी लगाउँछु’, उनले भनिन् ।
पोखराकी प्रमिला थापा पनि इन्द्रचोकमा भेटिइन् । उनी त्यहाँ आफ्नो लागि पोतेमा तिलहरी भर्दै थिइन् । उनले साउन र तीजमा विदेशमा बसेका आफन्तलाई हरियो पोते उपहार पठाउने समेत गरेकी छन् । ‘मलाई बच्चा बेला देखि नै साउन र तीज एकदमै मनपर्छ’, हरियो चुरा र मेहेन्दीमा सजिएकी उनले भनिन् ‘रहर र आफ्नो संस्कृतिलाई पछ्याएको पनि हो ।’
धुम्बाराहीकी कुसुम पोखरेललाई साउन महिना आउने बित्तिकै रमाइलो लाग्न थाल्छ । चारैतिर हरियाली हुने भएकाले मौसम पनि रमाइलो हुने साउनको एक गते नै उनले हातमा मेहेन्दी र नाडीमा हरियो र पहेंलो चुरा लगाएकी थिइन् । उनले तीजका लागि इन्द्रचोकको पोते बजारमा तीलहरी बनाउँदै थिइन् । ‘विवाह भएको भर्खर दुई वर्ष भयो । पहिला दाजुभाइको लागि भनेर लगाउँथे, अहिले आफ्नो श्रीमान्, परिवार र दाजुभाइको लागि व्रत बस्ने र मेहेन्दी लगाउने गर्छु’, उनी बताउँछिन् ।
युवा पुस्ताले धान्दै छन् पारिवारिक व्यवसाय
दुई वर्ष साउदी अरव बसेर नेपाल फर्किएका मुद्दिन मियाँ आफ्नो पुख्र्यौली व्यापारमा फर्के । एक आइसक्रिम कम्पनीमा काम गरिरहेका उनले घर परिवारबाट टाढा भएर अरुको देशमा काम गर्नुभन्दा आफ्नो पुस्तौँ पुस्ताले चलाएको पोतेको व्यापारमा नै सघाउने निर्णय गरे ।
पहिलेदेखि नै उनलाई यही काममा रुचि थियो । साथीभाई परिवारबाट टाढा खाडी मुलुकमा केही रमाइलो थिएन । ‘मन लागेर नै यो काम गरेको हो । यहाँ १२ महिनामा नै पोतेको राम्रो व्यापार हुन्छ । तीज आउन लाग्दा व्यापार झन् बढ्छ । त्यस्तै, विवाहको लगन भन्दा महिना दिन अघि नै पोते तिलहरी बनाउने काम धेरै बढ्छ’, मियाँ भन्छन् । बागबजारमा घर रहेका उनले कलेजमा अन्य विषय पढेपनि उनलाई सानैदेखि पोेतेको व्यापारले नै आकर्षित गरेको थियो । अहिले उनी आफ्नै परिवारको व्यवासाय चलाइरहेका छन् । सिजनको बेलामा दैनिक सात हजारसम्म कमाइृ हुने उनी बताउँछन् ।
इन्द्रचोकको पोते बजारका सबैभन्दा पाका व्यापारी ७५ वर्षका सानोभाइ मुस्लिमले पछिल्लो २० वर्षमा काठमाडौँका मान्छे र जीवनशैलीमा धेरै परिवर्तन देखेका छन् । स्वयम्भु घर भएका उनको दुई छोरा र एक छोरीका गरी सात जना नातिनातिना छन् । अहिले उनको नातीले समेत व्यापारमा सघाइरहेका छन् । काठमाडौंमा बस्ने मानिसको जनसंख्या बढेसँगै नयाँ नयाँ डिजाइनका पोते र तिलहरी लगाउनेको जमात पनि बढेको उनी बताउँछन् ।
साजिद उद्दिन उनका नाति हुन् । पोते व्यवसायमा फर्किनुअघि उनले ६ वर्ष कतारमा सेल्सम्यानको काम गरे । पछि उनलाई पनि परिवारसँग बसेर काम गर्न मन लाग्यो । ‘मनको शान्ति त्यहाँ छैन । मान्छे बाध्यताले जाँदो रहेछ । अवधी पुरा गर्ने बित्तिकै म फिर्ता आए । अहिले नाती र हजुरवुवा एउटै पसलमा बसेर पोते बनाउने र बेच्ने गर्छौं’, उनी भन्छन् । व्यवस्थापनमा प्लस टु गरेका उनलाई पारिवारिक व्यापारमा रमाएर घरमा पुग्दा मनमा शान्ति मिल्छ । सिजनको बेलामा निकै राम्रो व्यापार हुने बताउने उनी मिलेसम्म यही व्यापारलाई बढाउने सोचमा छन् ।
पुस्ताअनुसार पोतेमा रुचि फरक फरक हुने भएकाले अहिलेको पुस्ताले विवाहको लागि झुप्पा पोते कम प्रयोग गर्ने निरज शाक्य बताउँछन् । आफ्नो वुवाले शुरु गरेको यो व्यापार सम्हालिरहेका उनलाई यो व्यापारको काम सिक्ने एक वर्ष लाग्यो । असनमै घर भएका उनले सानो उमेरदेखि नै यो व्यापार नजिकबाट नियाल्दै आए र यसमा लागे । तर उनी यो व्यापारबाट सन्तुष्ट भने छैनन् । ‘थुप्रै सपना र योजना भएकाले पनि होला’, उनी भन्छन् ।
पोतेको अर्थतन्त्र
सामान्यतयाः बेला एउटा पसलमा दैनिक ५ देखि १० हजारसम्मको कारोबार हुने पोते बजारमा विषेशगरी तीज र विवाहको मौसममा भने व्यापार तीन गुणाले बढ्छ । यस्ता सिजनहरुमा इन्द्रचोकस्थित पोतेबजारमा रहेका करीव ४० ओटा पसलबाट दैनिक ३० हजार भन्दा बढिको पोते बिक्री हुने व्यापारी मुस्लिम बताउँछन् । विशेषगरी विवाहको सिजनमा व्यापक रुपमा बढ्ने पोतेको व्यापार त्यसपछी तीजमा नै बढ्ने गरेको बताउँछन् । उक्त पोते बजारमा भदौ १ गतेदेखि नै दैनिक हजारौंको संंख्यामा ग्राहकहरु अवलोकन गरिरहेको व्यवसायीले बताएका छन् । तीजको समयमा महिलाहरुले आफुले लगाउन मात्र नभई अरुलाई पनि उपहार दिन पोते किन्ने गरेकाले व्यापार बढेको मुस्लिमको अनुमान छ । उनको पसलमा अहिले दैनिक २ सयभन्दा बढी ग्राहक पोते वा पोतेका लहरा खरिद गर्न आउने उनले बताए ।
‘विवाहको मौसमबाहेक अन्य बेलामा खास व्यापार हुँदैन। साउन महिनालागेसँगै तीज पर्व पनि सुरु हुने भएकाले पोतेको व्यापार उल्लेख्य रुपमा बढ्ने गरेको छ,’ उनले भने । काठमाडौंमा बस्ने महिलाहरुले केही वर्षसम्म नौ गेडी, तिलहरीका लागि पोते खरिद गर्न आउँथे भने अहिले धेरैजसो महिला ‘जन्तर’ का लागि रातो पोते खोज्दै आउने गरेको उनले बताए ।
मेहेन्दीको मौसम
साउन महिनामा व्रत बस्दै हरियो चुरा, हरियो पहिरन र मेहन्दी लगाउने परम्परा निकै बढेको छ । हरियो पोतेको विक्रिसँगै साउनमा मेहन्दीको व्यापार पनि बढ्छ । भर्खरका किशोरीदेखि युवतीसम्म, वर्षभरि गृहस्थीमा व्यस्त हुने गृहिणीदेखि बुढेसकालमा टहलिरहेका बृद्घाहरुसम्म, सबै साउनको महिनामा हरियो चुरा र मेहन्दीमा रंगिन चाहन्छन् ।
काठमाडौंका बाटा बाटामा ‘कोन’ बोकेर बस्ने र हिडिरहेका बटुवालाई ‘मेहेन्दी लाउने?’ भन्दै सोध्नेहरु प्रशस्त भेटिन्छन् । यीमध्ये केही भारतबाट त केही तराईबाट आएका छन् ।
आफ्नो बुवासंग १५ वर्ष अघि नेपाल आएका शनि कुमार सिजनमा मेहन्दी लाउने काम गर्छन् भने अरुबेला कपडाको व्यापार गर्छन् ।
मेहन्दी लगाउने काम उनका लागि बाध्यता मात्र होइन, रुचि पनि हो । सिजनमा उनले दैनिक १,००० देखि १,५०० सम्म कमाउँछन ।
त्यस्तै, भारतबाटै आएका चन्दन कुमार पनि अरुबेला कपडा बेच्छन र यो सिजनमा मेहन्दी लगाइदिने गर्छन् । ८ कक्षासम्म पढेर यो काममा लागेका चन्दन मेहेन्दी लाउन घरघरसम्म पनि पुग्ने गरेका छन् ।
साउन महिनामा मेहन्दी लाउनेको भीड बढ्ने कारणले कतिपय भारतीय नागरिकहरु बिहारबाट नेपालसम्म आउने गरेको उनीबताउँछन् । पैसा वा अरु केही बाध्यताले पढाई छोडेर यो पेशा अंगाली परिवारको सहारा बन्नुपरेको भए पनि उनीहरु आफ्नो बाध्यताका बारेमा भने खुल्न चाहदंैनन् ।

उपत्यकाको ३२ ठाउँमा ट्राफिक लाइट आवश्यक || 32 Traffic light necessary at Kathmandu Valley.

ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण मानिने ट्राफिक लाइट विस्तारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोड दिएको छ। महाशाखाका अनुसार उपत्यकाका ३२ स्थानमा ट्राफिक लाइट आवश्यक छ।

तथ्यांकअनुसार पहिले काठमाडौंका २० ठाउँमा ट्राफिक लाइट थियो। द्वन्द्वकाल र विभिन्न आन्दोलनसँगैको अस्थिरताले सबै बन्द भए। मर्मत सम्भार तथा सञ्चालन गर्नतर्फ कसैको ध्यान गएन। गत वर्ष सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएपछि ट्राफिक लाइटको व्यवस्थापन कार्य अघि बढ्यो। अहिले खनाल महानिरीक्षक भइसकेका छन्। उनको कार्यकालमा चार ठाउँमा ट्राफिक लाइट सञ्चालन भएको छ। कौशलटार, नारायण गोपाल चोक, नयाँ बानेश्वर र गठ्ठाघरमा सञ्चालनमा रहेको महाशाखाले जनाएको छ।

महाशाखाले ३२ ठाउँमा थप गर्नुपर्ने भन्दै सरोकारवाला निकाय काठमाडौं महानगर तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी सुरेन्द्र मैनालीले जानकारी दिए।

‘ट्राफिक लाइट व्यवस्थापनको कुरा गर्ने हो भने चावहिल, त्रिपुरेश्वर, लैनचौर, सामाखुशी, कलंकी, बल्खु गोल्डेन गेट लगायतका ३२ ठाउँमा आवश्यक छ’, उनले भने– ‘तर केही ठाउँमा चाँडै नै हुन्छ, ६÷७ ठाउँको लागि त टेण्डर पनि भइसकेको छ। यो वर्षातपछि काम हुन्छ।’

१७ ठाउँमा क्रसिङ लाइटको आवश्यकता

महाशाखाका अनुसार अहिले उपत्यकामा पैदल यात्रीलाई क्रसिङ लाइट शंकरदेव अगाडि र साल्ट ट्रेडिङ छेउमा गरी दुई ठाउँमा छन्। थप १७ ठाउँमा आवश्यक छ। ‘यसलाई थप गर्नुपर्छ भनेर हामीले अध्ययन गरेर १७ ठाउँका लागि पत्राचार गरेका छौं’, प्रवक्ता मैनालीले भने, ‘आकाशे पुल थप गर्नका लागि पनि पत्राचार गरेका छौं।’

जथाभावी बाटो काट्दा उपत्यकामा वर्षेनी ६५ जना पैदली यात्रीको मृत्यु भएको छ। वार्षिक ४५० पैदल यात्रु अंगभंग तथा घाइते भएका छन्।

महाशाखाका अनुसार प्रविधियुक्त सडक नहुँदा उपत्यकामा ट्राफिक जनशक्ति बढी खटिनु परेको छ। दरबन्दी १ हजार ८५ भएपनि उपत्यकामा १ हजार ४ सय ट्राफिक प्रहरी कार्यरत छन्। यो जनशक्ति पनि अपर्याप्त रहेको महाशाखाले जनाएको छ।

फेरिएको नशा ।। Changed Addiction

भक्तपुर टौमडीका ४१ बर्षीय राजेश दिदियाको जीवन कथा सिनेमाको एउटा प्लट जस्तै लाग्छ । कक्षा ६ मा पढ्दा ११ बर्षकै उमेरमा उनका दुवै खल्तीमा लागुपदार्थका वोतल हुन्थे । उनी क्यारियरको रुपमा प्रयोग भए । त्ययसको केही समयपछि उनले लागुपदार्थ प्रयोग गर्न थाले । उनी नराम्ररी कुलतमा फसे । जीवनको उर्वर १२ बर्ष लागुपदार्थको नशामा डुवेका उनी अचानक तैरिए । अहिले उनको नशा फेरिएको छ । उनी आफुजस्तै कुलतको दलदलमा फसेका यूवालाई त्यसबाट कसरी उम्काउने भन्ने अभियानमा जुटेका छन् ।

सानै उमेरमा कुलतमा फसेका उनले कुलतबाट उम्कीन थुप्रै सघर्ष गर्नु पर्यो । उनले नशा छाड्न त चाहे तर कसैले उनलाई उपचार गर्न मानेनन् । ‘त्यति बेला ‘बिग्रिएको भक्तपुरे केटो सुध्रिन्न’ भन्ने गलत मान्यता कतिपयमा थियो । यहि क्रममा भक्तपुरकै एकजना दाईले ‘ल सुध्रिन्छस भन्ने मौका दिन्छु’ भनेपछि आफु उपचारको बाटोमा लागेको उनले बताए ।
उनले खोलेको संस्थामा उपचार गर्न आउनेलाई सुरुमा दिनभरी काउन्सील गर्ने र साझमा पठाउने गरे । तर कतिपयले रात पनि बस्नु पर्ने आफ्नो बाध्यता सुनाए । कुलतमा फसेका किसानका छोरासंग उपचारको लागी पर्याप्त पैशा नहुने गरेको उनले देखे । त्यसैले उनले उनीहरुको लागी खेती गरेर उपचार गर्ने सोच बनाए ।
लागुपदार्थ दुव्र्यशनीको उपचार तथा पुनस्थापना केन्द्रमा दिगोपना र निरन्तरताको लागि उनले गोलभेडा खेती सुरु गरे । जहाँ उनले उपचार गर्न आउनेलाई उनीहरुको अवस्था अनुसार काममा लगाउन थाले ।
चार रोपनी क्षेत्रफलमा फैलिएको गोलभेडा खेतीबाट बार्षिक ४ लाख देखि ६ लाखसम्म आम्दानी हुन थाल्यो । उपचार गरेर फर्कनेहरुले यहाँबाट सिकेको सिप आफ्नो खेतबारीमा प्रयोग गर्ने गरेको उनी सुनाउँछन् ।
उनले आफ्नो यो अभियानमा एचआइभि संक्रमितलाई पनि सहयोग गर्न थाले । तिनका परिवारलाई खेतीमा सहयोग गरे । उनीहरुको लागि निशुल्क विउ र बेर्ना दिन थाल्यो । पोखरा र बुटवलसम्म पुगेर सहयोग गरे । ‘हामीले बिस्तारै आफ्नो दायरा बढाएको छौ,’ उनले भने, ‘ दुव्र्यसनीको उपचारसंगै एचआइभि संक्रमित र तिनका परिवारको सहयोगको लागि पनि खेतीलाई माध्यम बनाएका छौ ।’
सानो घेरामा रहेको यो अभियानलाई उनले ठूलो दायरामा फैलाउन चाहेका छन् । आगीमा बर्ष उनले थप केही जमिन भाडामा लिने योजना बनाएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा विद्यार्थी र प्रहरीको घम्साघम्सी

 डा. गोविन्द केसीको समर्थनमा टिचिङ अस्पताल विद्यार्थी समाजले निकालेको -यालीमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।

२७ दिनदेखि अनशनरत डा. केसीकाे माग सम्बाेधनका लागि सरकारी र केसी पक्ष बीचको बुधबारको वार्ता असफल भएपछि आक्रोशित बनेको विद्यार्थी समाजले बिहीबार सरकारको विरुद्धमा -याली निकालेको हो। -याली बालुवाटारसम्म जान चाहेको र प्रहरीले रोक्न खोजेपछि उनीहरुबीच घम्साघम्सी भएको हो।

काठमाडौंको घोडचढी ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले यसरी घोडामा सवार भएर गस्ती गर्न थालेको चार दशकभन्दा बढी भएको छ । घोडचढी ट्राफिकका लागि महाशाखा भित्र एउटा छुट्टै शाखा छ। उक्त शाखालेनै घोडाको हेरचाह गर्ने, प्रहरीलाइ घोडचढी प्रशिक्षण दिने लगायतका कामहरु गर्छ।

काठमाडौं महानगरीय ट्राफिक महाशाखाले हरेक दिन बिहान र बेलुका उपत्यका स्थित सुन्धारा, रत्नपार्क, बानेश्वर र कोटेश्वर लगायतका अति ब्यस्त स्थानमा घोडचढी ट्राफिक परिचालन गर्दै आएको छ।घोडचढी प्रहरीको मुख्य काम सवारी चाप धेरै भएको स्थानमा ड्युटीमामा रहेका अन्य ट्राफिक प्रहरीलाई सघाउनु हो।

भिन्न सेवा दिएर आफ्नो छुट्टै पहिचान बनाएको घोडचढी ट्राफिकको उपयोगीता र सान्दर्भिकता बढ्दै गएको छ। तर नयाँ घोडा किन्न र शाखा बिस्तारमा सरकारले देखाएको उदासीनता कारण घोडचढी ट्राफिक इतिहास बन्ने हो कि भन्ने चिन्ता बढ्दै गएको छ।

दाहालको प्रश्न : कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् ?

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनशनरत गोविन्द केसीको जीवनरक्षाको लागि जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्। ४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले लोकतान्त्रिक भनिने शक्तिले गोविन्द केसीको हत्या गरेर लाश माथी राजनीति गर्न चाहेको आरोप लगाए। उनले नेपाली कांग्रेसले लोकतन्त्रमाथी प्रहार गरेको भन्दै संघीय लोकतन्त्रिक गणतन्त्रलाई केसीको पुच्छर समाएर अन्त्य गर्न खोजेको हो ? भनी प्रश्न गरे। कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् भन्दै उनले कांग्रसलाई प्रश्न समेत गरे। ‘डा.केसी १५ पटक अनशन बसेका छन्। धेरै पटक लोकतान्त्रिक भनिने कै समयमा अनशन बसे त्यो बेला के हेरेर बसेको’, दाहालले प्रश्न गरे। डा. केसी अनशन बस्ने, वार्ता पनि हुने र सहमति हुने प्रक्रिया पनि चलिरहने उनले बताए।

पाखुरा बटारेर सत्याग्रह हुन्छ?:अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. गोविन्द केसीको अनशन प्रति नै शंका गरेका छन्।

सोमवार काठमाडौमा आयोजित ४० औं पुष्पलाल स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘डा.केसी जुम्लाको कभर्ड हलमा ४ दिन अनशन बसेपछि अस्पताल लगिएको हो। त्यहाँ स्वास्थ्य बिग्रीयो भनेपछि काठमाडौ ल्याइएको हो। उहाँ जुम्लामा पनि अस्पतालमा, काठमाडौ ल्याएपछि पनि अस्पतालमै हुनुहुन्छ।’

‘अनशन बस्ने डा. केसी, कायम राख्ने अरु, विरामी पर्ने डा. केसी, उपचार गर्न नदिने अरु, यो के तमासा हो?,’ प्रधानमन्त्री ओलीले भने, ‘सत्याग्रह पाखुरा बटारेर हुन्छ?’

प्रधानमन्त्रीले डा. केसीको अनशनमाथि शंका गर्दै भने, ‘रक्त परीक्षण गर्यो भने के बिग्रीन्छ? रक्तचाप नाप्न नदिने, नाडी अरु डाक्टरले हेर्न नहुने? अरु डाक्टरलाई पस्न नदिने? अरुलाई छुनै नदिने?’

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी गएको २४ दिनदेखि आमरण अनशनमा छन्। जुम्लामा २० दिन अनशन बसेपछि उनलाई सरकारले जवरजस्ती काठमाडौ ल्याएपछि पनि केसीले अनशन जारी राखेका छन्। केसीका माग सम्बोधन गर्न वार्ता समिति बनाइए पनि द्विपक्षीय वार्ता हुनसकेको छैन।

‘लाइफमा पार्टनर त चाहिन्छ’ – स्वेता खड्का

भिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि उनकी श्रीमती अभिनेत्री स्वेता खड्काको अवस्था देख्दा धेरैलाई लागेको थियो, उनलाई सामान्य जीवनमा फर्किन अब गाह्रो होला । अचेल स्वेताको मुहारमा छाउने मुस्कानले देखाउँछ, उनको जीवनमा हराएको खुसी फेरि फर्किसक्यो । श्रीकृष्णको निधन भएको दुई वर्षपछि ‘कान्छी’ फिल्म बनाइन्, आफैँ अभिनय गरिन् । रेस्टुराँ, इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनी लगायत विभिन्न व्यवसायमा पनि हात हालेकै छिन् । सिन्धुपाल्चोकको इन्द्रावतीमा माझी बस्ती निर्माण अभियानमा पनि जुटेकै छिन् । अहिले बाँचिरहेको जीवन उनलाई ‘दोस्रो जीवन’ जस्तो लाग्छ रे ! उनको पहिलो र दोस्रो जीवन केन्द्रित भएर अनिल यादवले उनीसँग गरेको अन्तरंग कुराकानी:

आदित्य स्रोत र गुरु बिनाका ज्ञान : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बालज्ञानी गुरु आदित्यलाई असाधारण र अदभुत क्षमताका खानी भएको बताएका छन् । आदित्यका विचार र वाणीलाई कृतिवद्ध गरिएको पुस्तक आदित्य ज्योतिपथको लोकार्पण गर्दै ओलीले स्कुल नै नगएको र स्कुल जाने उमेर समेत नभएको बालकको पुस्तक लोकार्पण हुनु अनौठो परिघटना भएको बताएका छन् ।
शनिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तिका लागि गुरु वा स्रोत हुनपर्ने भएपनि आदित्यले गुरु र स्रोत बिना नै ज्ञान प्राप्त गरेको बताए । ‘आदित्यसँग जुन ज्ञान छ, त्यो गुरु र स्रोत बिनाको ज्ञान हो, यो आश्चर्यजनक विषय हो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आदित्य ज्ञान र विज्ञानका लागि अध्ययन अनुसन्धानको विषय भएको भन्दै उनले उनमा पूर्वीय दर्शन, सनातन धर्म जस्ता विषयमा खास प्रभाव र चिन्तन रहेको बताए । ओलीले आदित्यमा पढेलेखेका व्यक्तिमा भन्दा पनि उत्कृष्ट साहित्यिक ज्ञान समेत रहेको बताए । प्रधानमन्त्री ओलीले शास्त्रमा दिव्य ज्ञान, दिव्य दृष्टिका बारेमा व्याख्या गरिएको प्रसंग उल्लेख गर्दै आदित्यम त्यसभन्दा पनि अग्रगामी रहेको बताए ।
आदित्यको सन्देश मानवजातिलाई सभ्य बनाउनेतर्फ अग्रसित रहेको बताए । नेपालको भूमिमा यस अघि पनि अदभूत व्यक्ति जन्मिएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नपढी सानो उमेरमै वेद लेख्ने व्यास यही भूमिमा जन्मिएका हुन्, स्रोत र गुरु बिना नै ज्ञान प्राप्त गर्ने आदित्य यो भूमिमा जन्मिएका अर्का अदभूत व्यक्ति हुन्,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले आदित्य जस्ता अदभूत व्यक्तिलाई जोखना हेरेर दुःख दिन नहुने बताउँदै असाधारण प्रतिभाका विषयमा खोज र अनुसन्धान हुनुपर्ने बताए । ‘म कहिलेसम्म प्रधानमन्त्री भइरहन्छु वा अर्काेले म कहिले प्रधानमन्त्री हुन्छु भनेर जोखना हेराउने होइन्, उनको अदभुत क्षमताका बारेमा अनुसन्धान हुनुपर्छ,’ ओलीले भने । प्रधानमन्त्री ओलीले आदित्यलाई रहस्यमइ चिन्तक तथा रहस्यमयी दार्शनीकको संख्या दिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदित्यले वैज्ञानिक भौतिकवादका पक्षधरका अगाडी चुनौति खडा गरिदिएको टिप्पणी गरे । ‘भौतिकवादीहरुका लागि यो ठूलो चुनौति हो, यसलाई स्वीकार गर्नुको विकल्प छैन,’ दाहालले भने । उनले आदित्य ज्योतिपथको लोकापर्णका बेला भौतिक रुपमा विचित्रको अनुभव भएको बताए । ‘यस अघि कैयाँै पुस्तकहरु लोकापर्ण भए तर यो पुस्तक लोकार्पण गर्दा विचित्रको अनुभव भयो, यसले उद्वेलित पार्ने काम ग¥यो’ उनले भने । कुनै शिक्षा दिक्षा बिनै ज्ञान प्राप्त भएको भन्दै दाहालले नेपाललाई ज्ञान भूमिको संज्ञा दिए । उनले भने, ‘नेपाल ज्ञान भूमि हो, आध्यात्मिक चिन्तनका दृष्टिले हाम्रो भूमि उर्भर छ, त्यसैको नतिजा हो आदित्य,’ दाहालले भने । दाहालले आदित्यले इमान्दारी, सदगुण, सदभाव र कर्म गर्नुपर्ने सन्देश दिएको बताए । शारीरिक रुपमा कमजोर कमजोर भएर पनि आदित्य मानिसिक रुपमा धेरै अगाडी रहेको दाहालको भनाई थियो ।
संस्कृतविद् सत्यमोहन जोशीले सानै उमेरमा आदित्यको ज्ञानयुक्त पुस्तक प्रकाशित हुनु अपत्यारिलो कुरा भएको भन्दै यो सत्यलाई स्वीकार्नुको विकल्प नभएको बताए । उनले नेपाली भाषा साहित्यका हिसाबले पनि आदित्यको पुस्तकले नयाँ आयाम थप्ने बताए । उनले विगतमा पनि हिमालमुनि बसेर दर्शन शास्त्र लेखिएको भन्दै अहिले आदित्यले पनि त्यही गरिरहेको बताए । उनले २१ औ सताब्दिमा आदित्यले हिमाल मुनीबाट ज्ञानको सन्देश दिइरहेको बताए । कार्यक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा प्रधानसेनापति, पूर्व प्रधानन्यायाधीश लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

काठमाडाैं कोरा || Kathmandu Cora

शनिबार बिहान पाटन ढोकामा करिब ३ हजारको संख्यामा कोरा साइकल र्याली शुरु भएको छ।

बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ। र्यालीमा ९ वर्षीय बालक देखि ७० वर्षीय वृद्धाको सहभागिता थियो। साथै उल्लेखीय संख्यामा विदेशी युवा युवती समेत उपस्थिति छन्।

र्याली शुरु हुनु अघि पूर्व राष्ट्रिय साइकल यात्री स्वर्गीय नारायण गोपाल महर्जनको स्मरणमा सहभागिले एक मिनेट मौन धारण गरेका थिए।

र्यालीको सुरुवात १०० किलोमिटरका धावकहरूलाई पूर्व प्रधान सेनापति गौरव शम्सेर राणाले रास्ट्रिय झन्डा फहराएर हौसला प्रदान गरेका थिए।
राणा आफैं तीन वर्षदेखि र्यालीमा सहभागिता जनाउदै आएका छन्।
“सबैको स्वास्थ्य सुधार गर्न र प्रदुषण नियन्त्रण गर्न यस्ता र्यालीले धेरै महत्व राख्छन” ६३ वर्षीय राणाले भने।
आफूले साइकल कुदाउन सकुन्जेल कोरा साइकल र्यालीमा सहभागी हुने राणाले बताए।

पाटन दरबारबाट शुरु भएको यात्रा किर्तिपुर, चोभार, नैकाप, स्युचाटार, स्वयम्भु पछाडिको बाटो हुँदै नागार्जुन जंगलको छेऊछाउको बस्तीहरू हुँदै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरवारमा पुगेर टुंगीनेछ।

अमेरिकी नागरिक चाल्र्स विगत २ महिनादेखि काठमाडौंमा छन्।
फेसबुकमा सूचना देखेर र्याली सम्म आइपुगेका २८ वर्षीय चाल्र्सले महर्जनप्रति सम्मान ब्यक्त गर्न चाहेको बताए।

र्यालीमा पूर्व साइकल च्याम्पियन लक्ष्मी मगर पनि लिडरको रुपमा सहभागिता जनाउदै छिन्। उनी कोरा साइकलको सुरुवातबाटै सक्रिय रुपमा सहभागी छिन्।
सर्वसाधारणलाई साइकल सम्बन्धी चेतना जगाउनसके उपत्यकामा प्रदुषण कम हुने उनी बताउछिन्।

कोरा साइकल र्याली एकैसाथ बुटवल, धरान र पोखरामा पनि संचालन भइरहेको आयोजकका एक सदस्य राजले बताएका छन्।
काठमाडाैं कोरामा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। यसमा नव प्रवेशी हुन्छन्।

७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यवसायिक साइकल चालकहरु सहभागी हुन्छन्।

उपत्यकामा कुकुरै कुकुर

घटना – १
१० वर्षीय साजन राय मैतिदेबी बस्छन्।
कक्षा ३ मा पढ्दै गरेका साजनलाई विद्यालयबाट फर्कने क्रममा कुकुरले टोक्यो।
कुकुरले टोके लगत्तै घर पुगेका उनलाई नजिकै रहेको निजी क्लिनिकमा लगेर टिटानासको सुई लगाइयो।
अर्को दिन बिहानै साजनलाई उनकी आमाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्याएर रेबिज विरुद्धको सुई लगाइन।
अहिले उनी छोरालाई बाँकी दुई चरणका सुई लगाउन अस्पताल धाइरहेकी छिन्।

घटना – २
कागजको मार्केटिङ गर्ने ३२ वर्षीय सन्तोष मोक्तान कपन बस्छन।
विभिन्न ठाउँ पग्नु उनको दैनिकी हो। अघिल्लो महिना उनलाई पुरानो बानेश्वरको एक निजी कार्यालयमा पुग्दा गेट छेउमा बाँधिएको कुकुरले टोक्यो।
कुकुरले टोके लगत्तै उनी तुरुन्तै टेकु अस्पताल पुगे र उपचार गराए।

घटना–३
मंगलबार शुक्रराज अस्पताल स्थित रेबिज विरुद्धको खोप लगाउने कक्षमा लामो लर्को थियो। पूर्जी लिएर लाइनमा बस्नेदेखि पाखुरामा रुवाको टुक्रो राखेर फर्कदै गरेका सम्म।
ति मध्येकै एक हुन् गोपाल अधिकारी जसलाई केहि दिन अघि बाइक चलाइरहेको अवस्थामा कुकुरले टोक्यो। उनी तत्कालै टेकु अस्पतालआएर चिकित्सकको परामर्शमा उपचार गरिरहेका छन।

यतिबेला टेकुस्थित शुक्रराज ट्रपिकल रोग तथा उपचार केन्द्रमा कुकुर र बादरले टोकेका, चिथोरेका र नङ्ग्र्याएका बिरामीहरुको लामो लाइन लागेको छ।
जथाभावी छाडा छोडिएका र भुस्याहा कुकुरको बिगबिगी यत्रतत्र देखिन्छ।
उपत्यकामा रेबिज विरुद्धको खोप निशुल्क पाइने यो एकमात्र केन्द्र हो।
गर्मी याममा प्राय मानिस र जनावर दुबैको चहलपहल बढ्ने हुँदा हरेक दिन २००–३०० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्क शाखाका अधिकारी शम्भु खड्काले बताए।
चालू आर्थिक वर्षको जेठसम्मको तथ्यांक हेर्दा कुल ४० हजार ८ सय १ बिरामीले रेबिज विरुद्धको खोप लगाइसकेका छन्।
यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ११ हजारले बढी हो।
अघिल्लो आर्थिक वर्षमा कुल २९ हजार ३ सय ९ जना उपचारका लागि आएका थिए।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभर वर्सेनी करिब ५५ हजार व्यक्तिको रेबिजको कारणले गर्दा मृत्यु हुन्छ।

जनावरको टोकाइमा पर्ने ४० प्रतिशत व्यक्ति १५ वर्षमुनिका हुन्छन्।
नेपालमा वर्सेनी करिब ४० हजारभन्दा बढी व्यक्ति कुकुरलगायत जनावरको टोकाइमा पर्छन् भने २ सयको रेबिजका कारण मृत्यु हुने गरेको अनुमान छ।

प्रहरीद्वारा जुम्लामा डाक्टर कुटपिट

चिकित्सा शिक्षामा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको छ। अनशनले गलेका केसीलाई सरकारले ‘तानाशाही शैली’ मा बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगेको हो। डा. केसीले माग पूरा नभएसम्म जुम्ला अनशन नतोड्ने बताउँदै आएका थिए। अनशनका कारण केसीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि अत्तालिएको सरकारले सुरक्षाकर्मी लगाएर उनलाई अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट उठाएर काठमाडौं लगेपछि स्थानीय आक्रोशित बनेका छन्। केसीले नमान्दानमान्दै बलजफ्ती उठाएर काठमाडौं लगिएको उनका समर्थकले बताएका छन्। केसीलाई जबरजस्ती काठमाडौं लैजान थालिएपछि प्रतिकारमा उत्रिएका अस्पतालका चिकित्सक, नर्स तथा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमाथि प्रहरी निर्ममताका साथ जाइलागेको थियो। प्रतिष्ठानको गेटमा बसेका उनीहरुका टाउकामा प्रहरीले अन्धाधुन्ध लाठी हानेको थियो। लाठी प्रहारबाट चिकित्सक, नर्स, विद्यार्थी र सर्वसाधारण रक्ताम्य भएका थिए। प्रहरी आक्रमणबाट चालीसभन्दा बढी चिकित्सक–विद्यार्थी घाइते भएका छन्। अस्पतालको तेस्रो तलामा डा. केसी थिए। भ¥याङमा बसेका विद्यार्थी, चिकित्सक र नर्समाथि पनि प्रहरीले निर्मम प्रहार गरेको थियो। लाठी प्रहारबाट ढलेका उनीहरूलाई कुल्चँदै प्रहरी डा. केसी अनशन कक्षमा पुगेका थिए। प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्न थालेपछि अस्पतालमा रुवाबासी चलेको थियो। आक्रामक बनेर अस्पताल प्रवेश गरेका प्रहरीले अस्पतालभित्र तोडफोडसमेत गरेका छन्। विद्यार्थीलाई लखेट्ने क्रममा प्रहरीले अस्पतालका बेड, टेबुल, सिसा तोडफोड गरेका छन्। अस्पतालभित्र फोडिएका सामान यत्रतत्र छन्। तोडफोडबाट प्रतिष्ठानमा लाखौं रुपैयाँको क्षति पुगेको छ।