आदित्य स्रोत र गुरु बिनाका ज्ञान : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बालज्ञानी गुरु आदित्यलाई असाधारण र अदभुत क्षमताका खानी भएको बताएका छन् । आदित्यका विचार र वाणीलाई कृतिवद्ध गरिएको पुस्तक आदित्य ज्योतिपथको लोकार्पण गर्दै ओलीले स्कुल नै नगएको र स्कुल जाने उमेर समेत नभएको बालकको पुस्तक लोकार्पण हुनु अनौठो परिघटना भएको बताएका छन् ।
शनिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तिका लागि गुरु वा स्रोत हुनपर्ने भएपनि आदित्यले गुरु र स्रोत बिना नै ज्ञान प्राप्त गरेको बताए । ‘आदित्यसँग जुन ज्ञान छ, त्यो गुरु र स्रोत बिनाको ज्ञान हो, यो आश्चर्यजनक विषय हो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आदित्य ज्ञान र विज्ञानका लागि अध्ययन अनुसन्धानको विषय भएको भन्दै उनले उनमा पूर्वीय दर्शन, सनातन धर्म जस्ता विषयमा खास प्रभाव र चिन्तन रहेको बताए । ओलीले आदित्यमा पढेलेखेका व्यक्तिमा भन्दा पनि उत्कृष्ट साहित्यिक ज्ञान समेत रहेको बताए । प्रधानमन्त्री ओलीले शास्त्रमा दिव्य ज्ञान, दिव्य दृष्टिका बारेमा व्याख्या गरिएको प्रसंग उल्लेख गर्दै आदित्यम त्यसभन्दा पनि अग्रगामी रहेको बताए ।
आदित्यको सन्देश मानवजातिलाई सभ्य बनाउनेतर्फ अग्रसित रहेको बताए । नेपालको भूमिमा यस अघि पनि अदभूत व्यक्ति जन्मिएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नपढी सानो उमेरमै वेद लेख्ने व्यास यही भूमिमा जन्मिएका हुन्, स्रोत र गुरु बिना नै ज्ञान प्राप्त गर्ने आदित्य यो भूमिमा जन्मिएका अर्का अदभूत व्यक्ति हुन्,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले आदित्य जस्ता अदभूत व्यक्तिलाई जोखना हेरेर दुःख दिन नहुने बताउँदै असाधारण प्रतिभाका विषयमा खोज र अनुसन्धान हुनुपर्ने बताए । ‘म कहिलेसम्म प्रधानमन्त्री भइरहन्छु वा अर्काेले म कहिले प्रधानमन्त्री हुन्छु भनेर जोखना हेराउने होइन्, उनको अदभुत क्षमताका बारेमा अनुसन्धान हुनुपर्छ,’ ओलीले भने । प्रधानमन्त्री ओलीले आदित्यलाई रहस्यमइ चिन्तक तथा रहस्यमयी दार्शनीकको संख्या दिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदित्यले वैज्ञानिक भौतिकवादका पक्षधरका अगाडी चुनौति खडा गरिदिएको टिप्पणी गरे । ‘भौतिकवादीहरुका लागि यो ठूलो चुनौति हो, यसलाई स्वीकार गर्नुको विकल्प छैन,’ दाहालले भने । उनले आदित्य ज्योतिपथको लोकापर्णका बेला भौतिक रुपमा विचित्रको अनुभव भएको बताए । ‘यस अघि कैयाँै पुस्तकहरु लोकापर्ण भए तर यो पुस्तक लोकार्पण गर्दा विचित्रको अनुभव भयो, यसले उद्वेलित पार्ने काम ग¥यो’ उनले भने । कुनै शिक्षा दिक्षा बिनै ज्ञान प्राप्त भएको भन्दै दाहालले नेपाललाई ज्ञान भूमिको संज्ञा दिए । उनले भने, ‘नेपाल ज्ञान भूमि हो, आध्यात्मिक चिन्तनका दृष्टिले हाम्रो भूमि उर्भर छ, त्यसैको नतिजा हो आदित्य,’ दाहालले भने । दाहालले आदित्यले इमान्दारी, सदगुण, सदभाव र कर्म गर्नुपर्ने सन्देश दिएको बताए । शारीरिक रुपमा कमजोर कमजोर भएर पनि आदित्य मानिसिक रुपमा धेरै अगाडी रहेको दाहालको भनाई थियो ।
संस्कृतविद् सत्यमोहन जोशीले सानै उमेरमा आदित्यको ज्ञानयुक्त पुस्तक प्रकाशित हुनु अपत्यारिलो कुरा भएको भन्दै यो सत्यलाई स्वीकार्नुको विकल्प नभएको बताए । उनले नेपाली भाषा साहित्यका हिसाबले पनि आदित्यको पुस्तकले नयाँ आयाम थप्ने बताए । उनले विगतमा पनि हिमालमुनि बसेर दर्शन शास्त्र लेखिएको भन्दै अहिले आदित्यले पनि त्यही गरिरहेको बताए । उनले २१ औ सताब्दिमा आदित्यले हिमाल मुनीबाट ज्ञानको सन्देश दिइरहेको बताए । कार्यक्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा प्रधानसेनापति, पूर्व प्रधानन्यायाधीश लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।