पोते र मेहेन्दी व्यवसायमा जम्दै युवा

साउनको महिना भएको र तीज पर्व नजिकिदै गएकोले काठमाडौंको इन्द्रचोकको पोते बजारमा निकै चहलपहल छ । सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन् । साउन महिनादेखि तीज र दसैँसम्म लगाउनका लागि नौगेडी किन्न लागेको उनी बताउँछिन् ।
विगत १६ वर्षदेखि काठमाडौंमा बस्दै आएकी उनी सधैंको साउन र सोमबारमा झैं बुहारीसँगै ब्रत बसेर हरियो पहिरन लगाउने गर्छिन् । ‘पहिला पहिला भर्खरैका युवतीहरुले लगाउने भएपनि अहिले अधवैँसेभन्दा बढी उमेरकाले समेत साउनमा हरियो लगाउन थालेका छन्,’, ज्ञवाली भन्छिन् । उनको घरमा सानी नातिनीले समेत हरियो चुरा लगाएकी छन् ।
सुदुरपश्चिमबाट बच्चाहरु भेट्न काठमाडौँ आएकी ४७ वर्षीया पुष्पा नेपाली यही आएको मौकामा तीज र साउनको लागि नौगेडी बनाउन आएकी थिइन् । ‘पुरानो संस्कृति र रितीरिवाज बिर्सन हुँदैन । त्यसैले, आफूले जानेबुझेदेखि नै तीजमा पनि निराहर ब्रत बस्ने गरेकी छु । साउनमा हरियो लुगा, चुरा , पोते मेहेन्दी लगाउँछु’, उनले भनिन् ।
पोखराकी प्रमिला थापा पनि इन्द्रचोकमा भेटिइन् । उनी त्यहाँ आफ्नो लागि पोतेमा तिलहरी भर्दै थिइन् । उनले साउन र तीजमा विदेशमा बसेका आफन्तलाई हरियो पोते उपहार पठाउने समेत गरेकी छन् । ‘मलाई बच्चा बेला देखि नै साउन र तीज एकदमै मनपर्छ’, हरियो चुरा र मेहेन्दीमा सजिएकी उनले भनिन् ‘रहर र आफ्नो संस्कृतिलाई पछ्याएको पनि हो ।’
धुम्बाराहीकी कुसुम पोखरेललाई साउन महिना आउने बित्तिकै रमाइलो लाग्न थाल्छ । चारैतिर हरियाली हुने भएकाले मौसम पनि रमाइलो हुने साउनको एक गते नै उनले हातमा मेहेन्दी र नाडीमा हरियो र पहेंलो चुरा लगाएकी थिइन् । उनले तीजका लागि इन्द्रचोकको पोते बजारमा तीलहरी बनाउँदै थिइन् । ‘विवाह भएको भर्खर दुई वर्ष भयो । पहिला दाजुभाइको लागि भनेर लगाउँथे, अहिले आफ्नो श्रीमान्, परिवार र दाजुभाइको लागि व्रत बस्ने र मेहेन्दी लगाउने गर्छु’, उनी बताउँछिन् ।
युवा पुस्ताले धान्दै छन् पारिवारिक व्यवसाय
दुई वर्ष साउदी अरव बसेर नेपाल फर्किएका मुद्दिन मियाँ आफ्नो पुख्र्यौली व्यापारमा फर्के । एक आइसक्रिम कम्पनीमा काम गरिरहेका उनले घर परिवारबाट टाढा भएर अरुको देशमा काम गर्नुभन्दा आफ्नो पुस्तौँ पुस्ताले चलाएको पोतेको व्यापारमा नै सघाउने निर्णय गरे ।
पहिलेदेखि नै उनलाई यही काममा रुचि थियो । साथीभाई परिवारबाट टाढा खाडी मुलुकमा केही रमाइलो थिएन । ‘मन लागेर नै यो काम गरेको हो । यहाँ १२ महिनामा नै पोतेको राम्रो व्यापार हुन्छ । तीज आउन लाग्दा व्यापार झन् बढ्छ । त्यस्तै, विवाहको लगन भन्दा महिना दिन अघि नै पोते तिलहरी बनाउने काम धेरै बढ्छ’, मियाँ भन्छन् । बागबजारमा घर रहेका उनले कलेजमा अन्य विषय पढेपनि उनलाई सानैदेखि पोेतेको व्यापारले नै आकर्षित गरेको थियो । अहिले उनी आफ्नै परिवारको व्यवासाय चलाइरहेका छन् । सिजनको बेलामा दैनिक सात हजारसम्म कमाइृ हुने उनी बताउँछन् ।
इन्द्रचोकको पोते बजारका सबैभन्दा पाका व्यापारी ७५ वर्षका सानोभाइ मुस्लिमले पछिल्लो २० वर्षमा काठमाडौँका मान्छे र जीवनशैलीमा धेरै परिवर्तन देखेका छन् । स्वयम्भु घर भएका उनको दुई छोरा र एक छोरीका गरी सात जना नातिनातिना छन् । अहिले उनको नातीले समेत व्यापारमा सघाइरहेका छन् । काठमाडौंमा बस्ने मानिसको जनसंख्या बढेसँगै नयाँ नयाँ डिजाइनका पोते र तिलहरी लगाउनेको जमात पनि बढेको उनी बताउँछन् ।
साजिद उद्दिन उनका नाति हुन् । पोते व्यवसायमा फर्किनुअघि उनले ६ वर्ष कतारमा सेल्सम्यानको काम गरे । पछि उनलाई पनि परिवारसँग बसेर काम गर्न मन लाग्यो । ‘मनको शान्ति त्यहाँ छैन । मान्छे बाध्यताले जाँदो रहेछ । अवधी पुरा गर्ने बित्तिकै म फिर्ता आए । अहिले नाती र हजुरवुवा एउटै पसलमा बसेर पोते बनाउने र बेच्ने गर्छौं’, उनी भन्छन् । व्यवस्थापनमा प्लस टु गरेका उनलाई पारिवारिक व्यापारमा रमाएर घरमा पुग्दा मनमा शान्ति मिल्छ । सिजनको बेलामा निकै राम्रो व्यापार हुने बताउने उनी मिलेसम्म यही व्यापारलाई बढाउने सोचमा छन् ।
पुस्ताअनुसार पोतेमा रुचि फरक फरक हुने भएकाले अहिलेको पुस्ताले विवाहको लागि झुप्पा पोते कम प्रयोग गर्ने निरज शाक्य बताउँछन् । आफ्नो वुवाले शुरु गरेको यो व्यापार सम्हालिरहेका उनलाई यो व्यापारको काम सिक्ने एक वर्ष लाग्यो । असनमै घर भएका उनले सानो उमेरदेखि नै यो व्यापार नजिकबाट नियाल्दै आए र यसमा लागे । तर उनी यो व्यापारबाट सन्तुष्ट भने छैनन् । ‘थुप्रै सपना र योजना भएकाले पनि होला’, उनी भन्छन् ।
पोतेको अर्थतन्त्र
सामान्यतयाः बेला एउटा पसलमा दैनिक ५ देखि १० हजारसम्मको कारोबार हुने पोते बजारमा विषेशगरी तीज र विवाहको मौसममा भने व्यापार तीन गुणाले बढ्छ । यस्ता सिजनहरुमा इन्द्रचोकस्थित पोतेबजारमा रहेका करीव ४० ओटा पसलबाट दैनिक ३० हजार भन्दा बढिको पोते बिक्री हुने व्यापारी मुस्लिम बताउँछन् । विशेषगरी विवाहको सिजनमा व्यापक रुपमा बढ्ने पोतेको व्यापार त्यसपछी तीजमा नै बढ्ने गरेको बताउँछन् । उक्त पोते बजारमा भदौ १ गतेदेखि नै दैनिक हजारौंको संंख्यामा ग्राहकहरु अवलोकन गरिरहेको व्यवसायीले बताएका छन् । तीजको समयमा महिलाहरुले आफुले लगाउन मात्र नभई अरुलाई पनि उपहार दिन पोते किन्ने गरेकाले व्यापार बढेको मुस्लिमको अनुमान छ । उनको पसलमा अहिले दैनिक २ सयभन्दा बढी ग्राहक पोते वा पोतेका लहरा खरिद गर्न आउने उनले बताए ।
‘विवाहको मौसमबाहेक अन्य बेलामा खास व्यापार हुँदैन। साउन महिनालागेसँगै तीज पर्व पनि सुरु हुने भएकाले पोतेको व्यापार उल्लेख्य रुपमा बढ्ने गरेको छ,’ उनले भने । काठमाडौंमा बस्ने महिलाहरुले केही वर्षसम्म नौ गेडी, तिलहरीका लागि पोते खरिद गर्न आउँथे भने अहिले धेरैजसो महिला ‘जन्तर’ का लागि रातो पोते खोज्दै आउने गरेको उनले बताए ।
मेहेन्दीको मौसम
साउन महिनामा व्रत बस्दै हरियो चुरा, हरियो पहिरन र मेहन्दी लगाउने परम्परा निकै बढेको छ । हरियो पोतेको विक्रिसँगै साउनमा मेहन्दीको व्यापार पनि बढ्छ । भर्खरका किशोरीदेखि युवतीसम्म, वर्षभरि गृहस्थीमा व्यस्त हुने गृहिणीदेखि बुढेसकालमा टहलिरहेका बृद्घाहरुसम्म, सबै साउनको महिनामा हरियो चुरा र मेहन्दीमा रंगिन चाहन्छन् ।
काठमाडौंका बाटा बाटामा ‘कोन’ बोकेर बस्ने र हिडिरहेका बटुवालाई ‘मेहेन्दी लाउने?’ भन्दै सोध्नेहरु प्रशस्त भेटिन्छन् । यीमध्ये केही भारतबाट त केही तराईबाट आएका छन् ।
आफ्नो बुवासंग १५ वर्ष अघि नेपाल आएका शनि कुमार सिजनमा मेहन्दी लाउने काम गर्छन् भने अरुबेला कपडाको व्यापार गर्छन् ।
मेहन्दी लगाउने काम उनका लागि बाध्यता मात्र होइन, रुचि पनि हो । सिजनमा उनले दैनिक १,००० देखि १,५०० सम्म कमाउँछन ।
त्यस्तै, भारतबाटै आएका चन्दन कुमार पनि अरुबेला कपडा बेच्छन र यो सिजनमा मेहन्दी लगाइदिने गर्छन् । ८ कक्षासम्म पढेर यो काममा लागेका चन्दन मेहेन्दी लाउन घरघरसम्म पनि पुग्ने गरेका छन् ।
साउन महिनामा मेहन्दी लाउनेको भीड बढ्ने कारणले कतिपय भारतीय नागरिकहरु बिहारबाट नेपालसम्म आउने गरेको उनीबताउँछन् । पैसा वा अरु केही बाध्यताले पढाई छोडेर यो पेशा अंगाली परिवारको सहारा बन्नुपरेको भए पनि उनीहरु आफ्नो बाध्यताका बारेमा भने खुल्न चाहदंैनन् ।