संविधान लुगा फेरे जस्तो नफेरौं: पूर्व न्यायाधीश बलराम केसी

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संविधान लुगा फेरे जस्तो तत्कालै फेर्न नहुने बताएका छन्।

संविधान दिवसको सन्दर्भमा नागरिक न्यूजसँगको विशेष कुराकानीमा पूर्व न्यायाधीश केसीले नेपालले संविधान निर्माणकै लागि लामो समय खर्चिएको स्मरण गर्दै सो कुरा बताएका हुन्। ‘हरेक परिवर्तनलाई सम्बोधन गर्न नयाँ संविधान आवश्यक पर्दैन, संविधान संशोधन गर्दै आवश्यकता सम्बोधन गर्न सकिन्छ’ केसीले भने, ‘भारत र अमेरिकाले दर्जनौ पटक संविधान संशोधन गरेर नयाँ आवश्यकतालाई सम्बोधन गर्दै लगेका छन् र संविधानलाई लामो अवधिसम्म गतिशिल बनाएका छन्।’

नेपालको अहिलेको संविधान निकै महत्वाकांक्षी रहेकोले जनआकांक्षा अनुसार राजनीतिक नेतृत्वले काम गर्न नसक्ने उनले बताए। मुलुकको संघीय सिमाङ्कन गर्दा जग्गा प्लटिङ गरेको जस्तो गरिएको उल्लेख गर्दै केसीले अझै पनि नेता इमान्दार भइदिने हो भने मुलुक समृद्धिको बाटोमा लाग्न सक्ने बताए। उनले भने, ‘संविधान निर्दोष हुन्छ, दोष त प्रयोग गर्नेहरुको हो।’

भाग्यवश न्यायालयलाई केन्द्रीकृत प्रणालीमै राखिएकाले न्यायिक क्षेत्र सबल बन्नसक्ने बताए। तर न्यायालय र राज्यका अन्य संरचनामा गरिने नियुक्तिमा हाम्रा भन्दा पनि राम्रा मान्छे ल्याउन उनले आग्रह गरे।