न्याय माग्दा उल्टै थर्काए : निर्मला पन्तका बुवा

बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले शंकाको घेरामा रहेकालार्इ बचाउने नियतले झुठो बोलेको आरोप लगाएका छन्। न्याय खोज्दै बुधबार मात्र काठमाडौँ आएका यज्ञराजले प्रधानमन्त्रीले भनेजस्तो आफूहरु अरुको बहकाउमा लागेर आन्दोलन नगरेको स्पष्ट पारे।
उनले रोशनी बमको दिदीबहिनी, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर, तत्कालीन एसपी डिल्लीराज बिष्टको छोरा, निर्मलाको साइकल भेटाउने चौधरी थरका ब्यक्ती माथि शंका रहेको बताए। घटनाको अनुसन्धानका क्रममा सिआइबीका मानिसले उल्टै आफूलार्इ थर्काएको र आफ्नो घर तलासी गरेको उनकाे गुनासो छ। पन्तले आफूले न्याय नपाएसम्म कञ्चनपुर नफर्किने समेत स्पष्ट पारे।