रवि लामिछानेको द लिडर को लागि म योग्य: डा. सुरेन्द्र केसी

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

काठमाडौं – पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज़ मुशर्रफ़लाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहौर हाइकोर्टले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्।

बीबीसीकाअनुसार उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।

चेक काण्डमा पूर्व रजिष्ट्रार श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा आरोप पत्र दायर गरेको छ।

मिलेमतोमा विल भरपाई नराखी एवं भौचरसमेत नउठाई चेकमार्फत प्रतिष्ठानको खाताबाट ५ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट खुलेको जनाउदै अख्तियारले मंगलबार पूर्व रजिष्ट्रर श्रेष्ठसहित चारविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले पुर्व रजिष्ट्रचारसँगै प्रतिष्ठानको आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल र क्लर्कद्धय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध पनि अदालतमा आरोप पत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरु बहालवाला पदाधिकारी एवं कर्मचारी भए स्वतः निलम्बनमा पर्ने अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए। ‘अनुसन्धान पश्चात बिशेष अदालतमा आरोपपत्र दायर गरिएको हो, बहालवालाको हकमा स्वतः निलम्बनमा पर्छन्,’मोवाइल सम्पर्कमा प्रवक्ता कोइरालाले भने।

उपप्रमुख कै नेतृत्वमा कलैया उपमहानगरपालिकामा तालाबन्दी

बारा-  उपप्रमुखको नेतृत्वमा कलैया उपमहानगरपालिकामा मंगलवार तालाबन्दी गरिएको छ। उपप्रमुख रहिनमा खातुन नेतृत्वमा रहेका केही वडाध्यक्षको टोलीले १३ सुत्रीय माग राखेर उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

क्यान्सर रोगबाट ग्रसित रहेका वडा नम्बर ५ का वडाअध्यक्ष रामअयोध्या मण्डललाई कार्यपालिका बैठकबाट  ५ लाख उपचार खर्चको लागि सहयोग गर्ने निर्णय भए पनि सहयोग रकम नदिएको कारणले तालाबन्दी गर्नु परेको उपप्रमुख रहिमा खातुनले बताईन।

आर्थिक सहयोग दिनमा ढिलाई गर्नुका साथसाथै अन्य कामहरुमा समेत अपारदर्शिता रहेकोले १३ सुत्रीय माग सहित विरोध स्वरुप नगरपालिकामा तालाबन्दी गर्नु परेको उपप्रमुख खातुनले बताईन।

घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक र उप-प्रशासक पक्राउ

काठमाडौं- गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

 काठमाडौं महानगरपालिका १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस लिएको र फिर्तासमेत गरेको भन्ने सूचना एवं प्रमाणको आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

सभामुख चयन प्रक्रिया छिटो टुंग्याउन दवाब

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ।

२९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताए। ४ गते संसद आह्वान भएको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको उनको भनाई छ। नेता रावलले पार्टी भित्र देखिएका गुट उपगुटहरु अन्त्यगरी केन्द्रीय कमिटी बैठकसम्म सबै एकरुप भएर अगाडी बढ्नुपर्ने धारणा सदस्यहरुले राखेको बताए।

मंगलबारको बैठकमा २ जना आमन्त्रित सदस्यसमेत गरी १४ जनाले आफ्नो विचार राखेका थिए। अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनमाथि सदस्यहरुले आलोचनात्मक टिप्पणी राखेको प्रवक्ता नारायणकाजी श्रेठले बताए। बैठकमा उठेका कतिपय विषयहरुमा बैठकपछि पनि छलफल गर्न सकिने विचार व्यक्त भएको उनले बताए।

विद्या भट्टराईले लिइन् सांसद पदको शपथ

काठमाडौं – प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सपथ लिएकी छन्। मंगलबार संसद सचिवालयमा आयोजित कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसमक्ष पद तथा गोपनियताको शपथ लिइएकी हुन्।

नेकपाबाट उम्मेदवार बनेकी भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित भएकी थिइन्। कास्की–२ बाट जितेपछि मन्त्री भएका रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सोही क्षेत्रमा अधिकारीपत्नि विद्यालाई उम्मेदवार बनाइएको थियो।

मधेसमा शीतलहर, जनजीवन प्रभावित

लहान – प्रदेश २ का जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरी जसो कुहिरो लाग्नाले एक्कासी बढेको चिसोले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिरहा सप्तरीलगायतका जिल्लाहरुमा कुहिरोसंगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको हो।

११ महिनामा साढे १३ लाख पर्यटक लुम्बिनीमा

भैरहवा – प्रदेश ५ सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारले मनाउने संघारमा रहेको नेपाल भ्रमण वर्ष २०२० ले लुम्बिनीमा पर्यटक आगमन अपेक्षा अनुसार बढ्न सकेको छैन। लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको ११ महिनामा (जनवरी देखि नोबेम्बरसम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या खासै नबढेको देखिएको छ।

गत वर्ष यही अवधिसम्म तेस्रो मुलुकका एक लाख ५१ हजार सात सय ३७, नेपालका १० लाख ४३ हजार ४५ र भारतका एक लाख ७६ हजार ६ सय ४४ गरी जम्मा १३ लाख ५६ हजार नौ सय ९३ पर्यटकले लुम्बिनी भ्रमण गरेको भए पनि यस वर्ष दुई तहका सरकारका अभियान भए पनि हालसम्म १३ लाख ८१ हजार आठ सय ६९ पर्यटक यस वर्षको नोभेम्बरसम्म लुम्बिनी आएकोे लुम्बिनी विकास कोषले जानकारी दिएको छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा भ्रमण गर्ने विदेशी, भारतीय र नेपाली पर्यटकको संख्या गत वर्षको तुलनामा खासै बढ्न सकेको छैन। लुम्बिनी भ्रमणमा आएका पर्यटकको बसाइँ अवधि लम्ब्याउन नसकिरहेको अवस्थामा पर्यटक आउने क्रम पनि त्यति उत्साहजनक देखिएको छैन।

मन्त्रीबाटै ‘एमसिसी’ को विरोध

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा भएका कतिपय बुँदा र प्रावधान संशोधन गर्नुपर्ने बताएका छन्। आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा सोमबार भट्टराईले त्यसमा भएका कतिपय प्रावधानले अन्योल जन्माउन खोजेको र त्यसमा उल्लेख भएका सर्त र प्रावधानसहित जस्ताको जस्तै संसद्बाट पास भए दीर्घकालीन रुपमा सरकार र पार्टीलाई समेत हित नगर्ने बताएका हुन्।

‘पार्टीको स्थायी कमिटी बैठक बसेको छ। यो विषयमा गहन रुपले छलफल होस्, एससिसी स्वीकार गर्दा नेपालले तयार पार्ने परियोजनाको हितमा होस्, नेपालको असंलग्न नीतिविपरीत पनि नहोस्’, मन्त्री भट्टराईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने। उनका अनुसार बैठकमा एससिसीको विषय मन्त्री भट्टराईले नै प्रवेश गराएका थिए। एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य प्रभाव विस्तार गर्न अमेरिकाले सञ्चालन गरिरहेको ‘इन्डो प्यासिफिक रणनीति’ अन्तर्गतकै एमसिसीको परियोजनामा उल्लेख गरिएका बुँदालाई संशोधन गरेर मात्रै अघि बढाउन भट्टराईले जोड दिएका थिए। बैठकमा सोमबार बोलेका १२ जनामध्ये भट्टराईसहित तीनजनाले एमसिसीअन्तर्गतका कार्यक्रम संसद्बाट पारित गर्दा त्यसका उल्लेख गरिएका प्रावधान तथा सर्त संशोधन गर्नुपर्ने बताएका थिए।

कांग्रेस विवाद सहमतितर्फ

काठमाडौं – नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले संस्थापन पक्षसँग केन्द्रीय समिति बैठक बाहिर नै सहमतिमा पुगेपछि मात्र बैठकमा सहभागी हुने निष्कर्ष निकालेका छन्। महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा आइतबार साँझ नेता रामचन्द्र पौडेलसहितको बैठकले महाधिवेशनको कार्यतालीकसहित सबै विषयमा सहमतिपछि मात्र बैठकमा सहभागी हुने निष्कर्ष निकालेका हुन्। ‘केन्द्रीय समितिबाहिर एउटा समझदारी नभई फेरि बैठकमा सहभागी हुने र त्यहाँ विवाद गर्नुभन्दा पहिला नै निष्कर्षमा पुगेर मात्र सहभागी हुने समझदारी बनेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीभित्र देखिएका समस्याका विषयमा सिद्धान्तत एउटा खालको कुरा भएको छ, त्यसलाई व्यवहारमा ढाल्न बाँकी छ।’

सोमबारको केन्द्रीय समिति बैठकअघि दुवै पक्षबाट छलफलमा खटिएका नेताहरूबीच कुराकानी हुने र एउटा टुंगोमा पुग्ने नेताहरूको बुझाइ छ। ‘कार्यतालिका, समान्नजनक सहभागितासहित चारै कुरामा न्यायोचित टुंगोमा पुग्ने प्रयास भइरहेको छ,’ एक नेताले भने, ‘एउटै पार्टीभित्रको कुरा हो, तलमाथि भइहाल्छ, नमिल्ने भन्ने कुरा छैन।’

मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु

खोटाङ- खोटाङको दिक्तेलमा नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको छ। १ नम्बर प्रदेशभित्रका खेलाडीलाई जमघट गराएर धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी दिँदै नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको हो।

दिक्तेलको माटिकोरेमा नौ वर्ष लगाएर निर्माण गरिएको कबर्डहलमा मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले पानसमा बत्ती बालेर व्याडमिन्टन प्रतियोगीता उद्घाटन गरेका हुन्। आगामी पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा प्रथम स्थान प्राप्त टिमलाई नगद १ लाख ५१ हजार, दोश्रो हुने टिमले ८१ हजार र दुई सेमीफाइनलिष्ट टिमलाई ४१/४१ हजारका सामाथ मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ।