‘भ्वाइस बाट बाहिरिदा झन् राम्रो अवसर पाए’

वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न १ सय ९९ बेडसहितको क्वारेन्टाइन तयार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन्।

भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले बताए। कुनै व्यक्तिमा भोलीबाटै संक्रमण देखिएको अवस्थामा पनि उसलाई राख्ने र क्वारेन्टाइन गर्ने कुरामा समस्या नहुने उल्लेख गर्दै मन्त्री ढकालले चीनमा विद्यार्थीहरुलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरुलाई समेत १४ दिन क्वारेन्टाइन्मा राखिने र त्यसको सम्पूर्ण तयारी भएको बताए।

प्रधानमन्त्रीको आरोप : सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमबाट हमला भयो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन्। सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफु अपमानित भएको ठान्ने गरेको बताए। यस अघि पनि एक कार्यक्रममा उनले पत्रकारले आफ्ना बाबुलाई पनि तपाई नभन्ने भन्दै टिप्पणी गरेका थिए।

नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्ने गरेको बताए। ‘सञ्चारमाध्यमहरुबाट हामी छापिएको हेर्छौ। त्यो के देख्छौँ छापिएकोमा। हाम्रो आफ्नो भाषा छ। भाषाको मर्म छ। हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ। हाम्रा सञ्चारमाध्यमहरुलाई हजुर भन्दाखेरी सारै सानो ठान्छन्। हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपि गरेर बोलाउँदा मिस्टर/मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ। कसैलाई तपाई भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’ उनले भने।

भ्रष्टाचारले व्यक्ति धनी भए राष्ट्र गरिबः प्रदेश प्रमुख शेरचन

कास्की- गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिकोत्सवको अवसरमा आयोगको प्रदेश कार्यालय पोखराले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘भ्रष्टाचार सम्बन्धी जुनसुकै अभियोगमा निष्पक्ष छानबिन गरी भ्रष्ट आचरण भएकालाई आयोगले कानूनको कठघरामा ल्याउन सक्नुपर्दछ।’

प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले सरकारी, राजनीतिक तथा निजी क्षेत्रले सूचना प्रवाह गरेर भ्रष्टाचार नियन्त्रणमा सघाउनुपर्ने बताउँदै आयोगले हालै जारी गरेको ६१ बुँदे सुधारका बुँदामध्ये प्रदेश सरकारसँग सम्बन्धित ११ बुँदाको कार्यान्वयन सुरु गरिएको जानकारी दिए।

१२ दिनदेखि बेपत्ता युवक मृत भेटिए

बाजुरा- १२ दिनदेखि बेपत्ता युवक मृत भेटिएका छन्। बडीमालिका नगरपालिका–८ मा पर्ने चल्यासैनका डाँडाको लेकमा खप्तड छेडेदह गाउँपालिका–१ काँडा घर भएका अन्दाजी ४५ वर्षीय गोरे विक मृत भेटिएका हुन्। विक १२ दिनदेखि बेपत्ता रहेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन्। उनको शव १३ औं दिनमा भेटिएको हो।

मानसिक सन्तुलन गुमाएका विक बडिमालिका ८ को लेकमा मृत भेटिएका थिए। उनी १२ दिनदेखि परिवारको सम्पर्क बाहिर थिए। लेकमा हिउँको चिसोका कारण मृत्यु भएको आशंका गरिएको छ।

सरकारले निजी क्षेत्रसँग कमिसनको माग गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा नरहेको बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी) अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै पनि कमिसनको माग निजी क्षेत्र र व्यवसायीसँग नगर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रले विकास चाहेपनि सुशासनको मामलामा कहिलेकाँही विवाद हुने गरेको उल्लेख गरे। सभ्य समाज विकास गर्नका लागि सुशासन अपरिहार्य रहेकोले सुशासन विकासको बाधक नभएको ओलीले बताए।

चन्दा संकलन गरेर मन्दिरको छानामा ‘सुनको जलप’

भक्तपुर – भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख चन्दा संकलन गरी स्थानीय एउटा मन्दिरमा सुनको जलपसहितको छाना लगाएका छन्। भक्तपुर नगरपालिका वडा नं ९ तौलाछे सूर्यमढीस्थित श्री वाकुपति चागुनारायण मन्दिरमा सुनको जलप लगाइएको छानो राखिएको हो।

स्थानीयबाट सहयोग रकम संकलन गरी यो काम गरिएको हो। यसको लागि ९१ लख चन्दा संकलन भएको जनाइएको छ। श्री वाकुपति चागुनारायण तामा छाना निर्माण उपभोक्ता समितिका अध्यक्ष आशकाजी प्रजापतिले स्थानीयसँंग चन्दा संकलन गरी मन्दिरमा सुनको जलपसहितको छाना राखिएको बताए।

चन्दा सहयोग गर्नेहरुमा बढीमा पाँंच लाख र घटीमा पाँंच सय रुपैयाँंसम्म रहेको जनाइएको छ। सबैैभन्दा बढी आशकाजी प्रजापतिले पाँच लाख सहयोग गरेका छन्। २०७४ बैशाख ८ गतेबाट सुरु भएको काम अहिले सम्पन्न भएको हो। श्री वाकुपति चागुनारायण तामा छाना निर्माण उपभोक्ता समितिका सचिव रविन्द्र कुसीले दुई तल्ले वाकुपति चागुनारायण मन्दिरमा एक तल्ला पहिलैदेखि सुनको छाना रहेको बताए।

अहिले तल्लो एक तल्लामा सुनको जलपसहितको छाना लगाउने काम भएको कुसीले बताए्। मन्दिरको पहिलो तल्ला पश्चिममा तामाको छाना रहेको र अहिले त्यसमा सुनको जलप मात्र लगाउने उनले बताए। त्यही तल्लाको उत्तर, दक्षिण ,पूर्वमा झिंगटी इटाको छानो हटाएर सुनको छाना लगाएको जानकारी उनले दिए।

नेपाली चिनीमिल, भारतीय उखु

काठमाडौं – सरकारले भुक्तानी दिन बाँकी रहेको अनुदान रकमको लागि काठमाडौं आएका उखु उत्पादक संघ कञ्चनपुरका अध्यक्ष हरिचन्द ठकुरीको मोबाइलमा जिल्लाबाट किसानले तारन्तार फोन गरिरहेका थिए। ‘मिलले भारतीय उखु क्रसिङ गरिरहेको छ, हाम्रो उखुको पुर्जी दिन चासै देखाएको छैन रे, फोन राख्दै उनले भने, ‘अवैध भारतीय उखु तस्करी हामी कसैगरी नियन्त्रण गर्न नसक्ने भयौं।

जब उखु क्रसिङको समय हुन्छ तब उनीहरुलाई भारतीय उखुसँग जुध्नुपर्ने चुनौती खडा हुन्छ। उनले मिलले समयमै भुक्तानी दिँदै आए पनि क्रसिङमा भारतीय उखुलाई प्राथमिकता दिँदा नेपाली उखुले समयमा पालो नपाउने समस्या भएको बताए। ‘समयमै हाम्रो उखु लिइदिए, खेत खालि भएको बेला अन्य बाली लगाउन सकिन्छ। नत्र अन्य बाली लगाउनै सकिन्न,’ ठकुरीले भने, ‘यही स्थिति रहिरहे विस्तारै नेपाली उखु बिक्री नहुने स्थिति आउन बेर छैन।’ उनले यो समयमा उखु निकाल्न नपाए २० प्रतिशतसम्म तौल घट्ने र समयमै नरोपे अर्को वर्ष उत्पादनै घट्ने बताए।

आफ्नो कार्यकालमा भएका निर्णयको जिम्मा पूर्व प्रधानमन्त्रीहरुले लिनुपर्छः सांसद गिरी

काठमाडौं – समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भए पनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताइन्।

हिन्दीमा सम्बोधन गरेकी गिरीले भनिन्, ‘हाम्रो दलका संघीय परिषदका नेता पूर्व प्रधानमन्त्री माननीय बाबुराम भट्टराइको पनि यस विवादमा नाम तानिएको छ। उहाँले भन्नुभएको छ। मेरो नाम आए के भो त रु यस मुद्धाको जाँचबुझ हुनुपर्छ।

‘सकारात्मक आलोचनाले अदालतको अवहेलना हुँदैन’

काठमाडौं – सर्वोच्च अदालतले सञ्चारमाध्यमले सत्यतथ्य लेखेको खण्डमा ‘अदालतको अवहेलना’मा मुद्दा चलाउनु गलत हुने ठहर गरेको छ। न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले समाचार प्रकाशन गरेकै भरमा पूर्वाग्रहरहित सकारात्मक आलोचना तथा टिकाटिप्पणी गर्न रोक लगाउने अस्त्रको रुपमा अदालतले अवहेलनाको कार्वाही नचलाउने फैसला गरेको हो।

अधिवक्ताहरू रत्नकुमारी श्रेष्ठ र अंजनीकुमार पोखरेलले पत्रिकामा लेखिएका समाचार र सम्पादकीयले अदालतको अवहेलना गरेको दाबी गर्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। ‘लोकतान्त्रिक समाजमा अदालतको कारबाही, फैसला, आदेश र न्यायाधीशउपर स्वच्छ एवं पूर्वाग्रहरहित सकारात्मक आलोचना तथा टिकाटिप्पणी गर्न रोक लगाउने अस्त्रको रुपमा अदालतले अवहेलनाको कारबाही चलाउँदैन,’ कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले यस्तो फैसला गरेको हो।