प्रहरीद्वारा जुम्लामा डाक्टर कुटपिट

चिकित्सा शिक्षामा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको छ। अनशनले गलेका केसीलाई सरकारले ‘तानाशाही शैली’ मा बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगेको हो। डा. केसीले माग पूरा नभएसम्म जुम्ला अनशन नतोड्ने बताउँदै आएका थिए। अनशनका कारण केसीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि अत्तालिएको सरकारले सुरक्षाकर्मी लगाएर उनलाई अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट उठाएर काठमाडौं लगेपछि स्थानीय आक्रोशित बनेका छन्। केसीले नमान्दानमान्दै बलजफ्ती उठाएर काठमाडौं लगिएको उनका समर्थकले बताएका छन्। केसीलाई जबरजस्ती काठमाडौं लैजान थालिएपछि प्रतिकारमा उत्रिएका अस्पतालका चिकित्सक, नर्स तथा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमाथि प्रहरी निर्ममताका साथ जाइलागेको थियो। प्रतिष्ठानको गेटमा बसेका उनीहरुका टाउकामा प्रहरीले अन्धाधुन्ध लाठी हानेको थियो। लाठी प्रहारबाट चिकित्सक, नर्स, विद्यार्थी र सर्वसाधारण रक्ताम्य भएका थिए। प्रहरी आक्रमणबाट चालीसभन्दा बढी चिकित्सक–विद्यार्थी घाइते भएका छन्। अस्पतालको तेस्रो तलामा डा. केसी थिए। भ¥याङमा बसेका विद्यार्थी, चिकित्सक र नर्समाथि पनि प्रहरीले निर्मम प्रहार गरेको थियो। लाठी प्रहारबाट ढलेका उनीहरूलाई कुल्चँदै प्रहरी डा. केसी अनशन कक्षमा पुगेका थिए। प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्न थालेपछि अस्पतालमा रुवाबासी चलेको थियो। आक्रामक बनेर अस्पताल प्रवेश गरेका प्रहरीले अस्पतालभित्र तोडफोडसमेत गरेका छन्। विद्यार्थीलाई लखेट्ने क्रममा प्रहरीले अस्पतालका बेड, टेबुल, सिसा तोडफोड गरेका छन्। अस्पतालभित्र फोडिएका सामान यत्रतत्र छन्। तोडफोडबाट प्रतिष्ठानमा लाखौं रुपैयाँको क्षति पुगेको छ।