कतारले विदेशीलाई पीआर दिने

कतार सरकारले आफ्नो देशमा कार्यरत विदेशी नागरिकलाई स्थाइ अनुमति बसोवास अनुमति पीआर दिने भएको छ । विद्यमान आप्रवासी नीतिमा परिमार्जन गर्दै कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई पीआर दिने कानुन केही दिनपछि नै कार्यान्वयनमा ल्याउने नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेलले नागरिकलाई बताए ।
पीआर पाउनका लागि कतारले विभिन्न ५ मापदण्ड तोकेको छ । मापदण्ड अनुसार कतारी महिलाले विदेशी सँग विवाह गरेको खण्डमा ति महिलाको श्रीमान र छोराछोरीले पीआर पाउने छन् । त्यस्तै कतारी पुरुषले विदेशी महिला सँग विवाह गरेको भए ति महिलाले पनि पीआर पाउने कतारले जनाएको छ । कतार बाहेकका देशमा जन्मिएपनि कतारमा २० वर्ष देखि बसोवास गर्दैआएका आप्रवासी कामदारले पनि कतारको पीआर पाउने छन् । त्यस्तै कतार सरकारले जारि गर्न लागेको कानुनमा कतारमा जन्मिएका विदेशी नागरिक जो १० वर्ष देखि कतारमा बसोवास गर्दै आएका छन् उनीहरुलाई पनि कतार सरकारले पीआर दिने भएको छ । कतारमा कुनै विशेष पेशा व्यवसाय गर्दै आएका विदेशी नागरिकलाई पनि कतारले पीआर दिने राजदूत युसुफले जानकारी दिए । पीआर सम्बन्धी नयाँ कानुन बारे नागरिक सँग कुरागर्दै राजदूत युसुफले भने-“हामी सबै देशका नागरिकलाई कतारमा स्वागत गर्न चाहन्छौ र विश्वको लगानी कतारमा भित्राउन चाहन्छौ । कतार सबैका लागि खुल्ला मुलुक हो ।”
नयाँ व्यस्था अनुसार विदेशी नागरिकले कतारमा सत-प्रतिशत आफ्नै स्वामित्वमा कम्पनी खडा गरि लगानी गर्न पाउने छन् । यस अघि विदेशीले कतारमा लगानी गर्न कतारी नागरिकको ५१ प्रतिशत शेयर हुनुपर्ने व्यस्था थियो ।
त्यस्तै कतारको पीआर पाउने आप्रवासीले कतारी नागरिकले पाउने सरहकै सेवा सुबिधा पाउने छन् । आप्रवासीलाई दिइने ग्रिनकार्ड ५ वर्षको हुनेछ भने ५ वर्षपछी पुनः नवीकरण गर्नुपर्ने छ ।

तर कतारमा कार्यरत नेपालीहरुले भने कतार सरकारले घोषणा गरेको पीआर सम्बन्धी व्यस्थाको लाभ नेपालीहरु खासै लिन नसक्ने बताए । कतारको स्थाई नागरिक बन्न अरबी भाषा पूर्णरुपमा जान्नु पर्ने प्रावधानले धेरै नेपालीहरु लाभावान्वित हुननसक्ने उनीहरुको भनाइ छ ।