अब नेतृत्व लिन तयार छु – ज्ञानेन्द्र शाह

दोस्रो पटक भिडियो कन्फ्रेन्सः ओलीले भने ‘मेरो स्वास्थ्य राम्रो छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पनि भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीहरुसँग छलफल गरेका छन्। मृर्गौलाको उपचार गर्न सिंगापुर रहेका प्रधानमन्त्री ओलीले दोस्रो पटक पनि भिडियो कन्फरेन्समार्फत् मन्त्रीहरुसँग मन्त्रालयका काम कार्वाहीबारे आवश्यक छलफल गरेका हुन्।

प्रधानमन्त्रीले छलफलको क्रममा मन्त्रालयको काम कार्वाहीमा देखिएको समस्या समाधानका लागि आवश्यक निर्देशन पनि दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

एटीएम ह्याकरमाथि बैंकिङ कसूर मुद्दा, थप मुद्दाबारे अनुसन्धान हुँदै

काठमाडाैं- अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरेका चिनियाँ नागरिकमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक र चिनियाँ मूलकै फ्रेन्च नागरिकलाई विमान स्थलबाट पक्राउ गरेर बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको हो।

प्रारम्भिक अनुसन्धानमा उनीहरूको अपराध बैंकिङ कसूरअन्तरगत देखिएकाले उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको छ। परिसरका प्रमुख तथा एएसपी उत्तमराज सुवेदीका अनुसार आइतबार नै सात दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको छ।

छानविन समितिले भन्यो : संसदले खरिद गरेका सबै गाडीमा कमजोरी

काठमाडौं- संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको  जनाएको छ।

संसदीय समितिका सभापतिहरुले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानवीन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको हो। सामान्य प्राविधिक त्रुटि भेटिएका गाडी एक हप्ता भित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका ३ वटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन पनि संसद सचिवालयलाई निर्देशन दिइएको सो छानवीन समितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए। छानवीन समितिले कामै नलाग्ने गाडी फिर्ता नलिए सम्बन्धित आपूर्तिकर्तालाई कानुन बमोजिम कार्वाही गर्न पनि सिफारिस गरेको छ।

छानवीन समितिले प्राविधिकहरु, सार्वजनिक खरिद ऐन र गाडी कम्पनीसँग सोधपुछ गरी तयार पारेको प्रतिवेदनमा सबै गाडीको पार्टस्हरु मिलाएर नराखिएको पाइएको पनि जनाएको छ। संयोजक बिडारीले ३ वटा गाडीमा भने मुख्य समस्या देखिएकाले त्यसलाई फिर्ता गराउन भनिएको पनि स्पष्ट पारे।

‘गृहमन्त्रीज्यू ! गौहत्यारामाथि कारबाही गरेर विगतका सबै पाप पखाल्नुस्’

काठमाडौं– विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ।

मंगलबार समितिले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर ३७ गाईको हत्या एवम् ८६ वटा गाई घाइते हुने गरि गरिएको गौहत्या काण्डको घोर भत्र्सना गरेको छ।

समितिका महासचिव रोसन जङ्ग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएका छौं। यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन।’

‘पुरुषको नाम र ठेगानामा मात्रै महिलाले नागरिकता लिन पाउने’ सहमति अमान्य

काठमाडौं– संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिद्वारा नागरिकता विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि उपसमितिकै सदस्यहरुको असहमति सार्वजनिक भएको छ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सो प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उपसमिति सदस्य यशोदा गुरुङ सुवेदीले पुरुषको नाम र ठेगानामा मात्रै महिलाले नागरिकता लिन पाउने गरी गरिएको सहमतिमा आफ्नो असहमति रहेको बताइन्। उनले उपसमितिले गरेको सो निर्णय तत्काल हटाउन पनि समिति समक्ष माग गरिन्। महिला मुक्ति आन्दोलन र लैगिक दृष्टिकोणले पनि मान्य नहुने सो प्रावधान आफू बैठकमा उपस्थित नभएको बेला उपसमितिबाट निर्णय गरिएको भन्दै आपत्ति पनि जनाइन्।

सत्तारुढ नेकपाकी सांसद सुवेदीले कानुनमा समेत पतिको नाम र ठेगानाको आधारमा मात्रै महिलाले नागरिकता पाउने व्यवस्था नभए पनि त्यस विपरित उपसमितिले प्रतिवेदन ल्याएकाले पनि आफूलाई मान्य नहुने अडान राखिन। उपसमितिले सहमति जुटाएको भनिएको सो प्रतिवेदनमा ‘विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिला लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकताको प्रमाण पत्र दिन सक्नेछ’ उल्लेख गरिएको छ। यो व्यवस्था लैगिक दृष्टिकोणले र कानुनी दुवै दृष्टिकोणले उपयुक्त नभएको सांसद सुवेदीको तर्क छ।

दोस्रो चरणको जागरण अभियानको तयारीमा कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले बुधबार (भोलि) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिए। मंगलबार जारी केन्द्रीय कार्य समिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रीय भातृ संगठनको केन्द्रीय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ।

त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरुको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रीय कार्य समितिले आजै टुंगो लगाउने काँग्रेसले जनाएको छ।

कुकुरलाई निर्ममतापूर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी

खोटाङ– खोटाङमा भुस्याहा कुकुरलाई निर्ममतापुर्वक मारेको भन्दै मेयरसहित तीन जनाविरुद्ध जाहेरी परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुस्याहा कुकुर नियन्त्रणका क्रममा निर्ममतापुर्वक चिरुवा दाउराले टाउकामा कुटेर मारेको भन्दै मेयर दिपनारायण रिजाल, कुकुर नियन्त्रणका क्रममा खटिएका दिक्तेलका खेलराज आचार्य र भोजपुर घर भइ हाल मेयर रिजालको घरमा बस्दै आएका श्रेष्ठ थरका एक जना कामदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुुरी परेको हो।

घर पालुवा तथा सामुदायिक पशु (कुकुर)लाई निर्दयी व्यवहार गर्नुका साथै निर्ममतापुर्वक मारेको भन्दै मंगलबार खोटाङकै जन्तेढुंगा गाउँपालिकाका बाजिन्द्र बिष्ट, स्नेहाज केयरका पशु प्राविधिक सुमनकुमार श्रेष्ठ, नेपाल भेटेनरी एसोसिएसनका डा. सिताराम यादवले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए। चिरुवा दाउराले मुखमा, टाउकामा कुट्ने, झुण्ड्याउने र विषसमेत प्रयोग गरी सार्वजनिक स्थलमा कुकुरलाई मारेको तथा कतिपयलाई अचेत अवस्थामा खाल्डोमा पुरेकाले मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपंक्षी सम्वन्धी कसुर बमोजिम अपराध भएकाले सो अनुुसार कानूनी कारबाहीका लागि उजुरी दिइएको जनाइएको छ।

चार वर्ष हुँदा समेत विद्युत विस्तार हुन सकेन

बैतडी- बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा ४ वर्षमा पनि विद्युत विस्तार हुन सकेको छैन्।

कूल १ सय २० बढी घरधुरी रहेको सो ठाउँमा विद्युत विस्तारका लागि चारवर्ष पहिला पोल गाड्ने तथा तार जोड्ने काम भए पनि विद्युत भने अहिलेसम्म शुरु भएको छैन्।

केही पोल र तारको काम भए पनि काम बीचमै अधुरो रहेको स्थानीय वीरसिंह महराले बताए। विद्युत प्राधिकरण र ठेकेदारको लापरवाहीका कारण गाउँमा विद्युत विस्तार हुन नसकेको उनले बताए।

विद्युत विस्तारका लागि विद्युत प्राधिकरणसँग पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको उनले गुनासो गरे। ठेकेदारको लापरवाहीका कारण विद्युत विस्तार नभएको र अबको केही दिनभित्रै काम सकेर सेवा शुरु गरिने विद्युत वितरण केन्द्र पाटनका इञ्चार्ज पुष्पराज पन्तले बताए।रासस

किनेको १४ महिनापछि जापान उड्दै वाइडबडी

काठमाडौं – नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको तयारी पूरा भएको जनाएको छ। वाइडबडी बिमान किनेर ल्याएको करिब १४ महिनापछि अगस्ट २९ बाट जापान उडाउने तयारी भएको निगमको भनाइ छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले दुई सय ७४ सिट क्षमताको वाइडबडी ए ३३०–२०० लाई काठमाडौं–ओसाका–काठमाडौं उडाउने तयारी पूरा भएको बताए।

लामो समयदेखि जापान उडानबारे जनचासोे बढ्दै गएको भन्दै उनले हप्ताको तीन उडान भर्ने गरी तालिका तयार भएको जानकारी दिए। सुरुको पहिलो महिना यात्रु संख्या कम देखिए पनि विस्तारै बढ्दै जाने उनको भनाइ छ।

ओसाका उडानपछि नारिताको तयारीमा लाग्ने खरेलले जानकारी दिए। जनवरी १ बाट नारिता उडान अनुमतिको गृहकार्यमा निगम लागिरहेको उनको भनाइ छ।

सन् २०१२ सम्म जापान उडानको क्रममा दुई लाख ३५ हजार दुई सय ४२ यात्रु तथा २१ टन कार्गाे निगमले बोकिसकेको भन्दै उनले पुनः सञ्चालनमा आउने उक्त उडानले निगमलाई व्यावसायिक रुपमा सफल बनाउन भूमिका खेल्ने अपेक्षा गरे।

पुलिसलाई राष्ट्रिय महिला भलिबलको उपाधि

पोखरा – विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरस्थित ईन्द्र राज्यलक्ष्मी माविमा सोमबार सम्पन्न फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै पुलिसले दोस्रोपटक यस प्रतियोगिताको उपाधि जितेको हो।

पुलिसले न्यु डायमण्डलाई २५–१६, २५–१४ र २५–२० ले सहजै पराजित गरेको थियो। लिगमा न्यु डायमण्डमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको पुलिस फाइनलमा भने सुधारिएको प्रदर्शन गर्दै सहजै उपाधि आफ्नो बनाउन सफल भयो।

विजेता पुलिसले नगद १ लाखसहित ट्रफी र न्यु डायमण्डले भने नगद ६५ हजार रुपैयाँ नगद पुरस्कारमै चिक्त बुझायो। पुलिसका प्रशिक्षक रूपेश बिष्टले रणनीतिअनुरूप खेलाडीले प्रदर्शन गरेपछि सहज जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए। प्रशिक्षक बिष्टले अनुभवी खेलाडी र पोखरामा हालै सम्पन्न बिच भलिबलको सेट टोली नै खेलाउँदा तालमेल पनि मिलेको बताए।