Bhogatey Don – What’s Trending | Ep. 4 | यो हप्ता के रह्यो चर्चामा?

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक शुक्रवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

साझाले ल्यायो बिजुली बस

राजधानीका सडकमा अब विद्युतीय बसहरु गुड्ने भएका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि सक्रिय भएको साझा यातायात प्रालिले काठमाडौंमा विद्युतीय बस सेवा सुरू गरेको हो।

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युतीय बस सेवा सञ्चालनको उद्घाटन गरेका छन।साझाले उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको बताएको छ।

चिनमा निर्मित यी वस खरिदका लागि एसियाली विकास बैंकले सहयोग उपलब्ध गराएको साझाका निमित्त कार्यकारी प्रमूख महेन्द्रराज पण्डेले जानकारी गराए। चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएका छन् ।

राष्ट्रपतिको राजसी टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।

नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति भण्डारी) बाट राजसी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको छ।

बढुवा नहुने भएपछि सशस्त्रका एसएसपीको राजीनामा

बढुवामा सशस्त्र प्रहरी नियमावली बाधक भएपछि सशस्त्र प्रहरी बलका एसएसपी सञ्जयविक्रम राणाले पदबाट राजीनामा दिएका छन्। सशस्त्र प्रहरी बलमा रिक्त ६ डिआइजी पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै राणाले राजीनामा दिएका हुन्। विपत् व्यवस्थापनको प्रमुख रहेका एसएसपी राणाले सोमबार राजीनामा दिएको बताए।

आफूलाई बढुवा नगर्न सशस्त्र नियमावली परिवर्तन गरिएको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि राजीनामा दिएको उनको भनाइ छ। ‘नेपाली सेनाबाट २०४६ सालमा सेवा प्रवेश गरेको हुँ। सरकारले सबै प्रक्रिया पूरा गरेपछि सशस्त्र प्रहरीमा सेवा स्थानान्तरण भएको हो, मैले कसैको भाग खोस्न खोजेको होइन । मेरो पालो आयो, बढुवा दिनुस् भनेको हुँ’, राणाले भने ‘अन्याय सहन सकिनँ।’

एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सिफारिस

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए।

प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता थापाले गृह मन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए।

वसन्तपुरमा एकै दिन १३ लाख आम्दानी

सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको संख्या बढेपछि एकै दिन करिब १३ लाख आम्दानी भएको छ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको संख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो। घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए। अन्य दिन सामान्यतयाः दैनिक १० लाख आम्दानी गर्दै आएको छ।

सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या ८२ अन्य देशबाट १ हजार २६९ जना पर्यटक घुम्न आएका थिए। यसै कारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन १२ लाख ८१ हजार ३०० जम्मा भएको हो। यहाँ विशेष गरी चीन, जर्मन, फ्रान्सलगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन्।

रारामा पर्यटकको चाप बढ्दो

कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको संख्यामा वृद्धि भएको छ। दसैं र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको संख्या बढेको हो। पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ।

देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल, १५० जीप तथा १० बस जाने गरेको गोठीजिउला प्रहरीचौकीका प्रहरी हबल्दार दीर्घराज अधिकारीले बताए। राराको हुटुमा डाँफे होटल तथा हेरिटेज होटल, माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटलको क्षमताभन्दा बढी पर्यटक हुने भएकाले कोही त्रिपालमा, कोही गाडीमा र कोही आगो बालेर रात बिताएको बारा निजगढबाट आएका आन्तरिक पर्यटक निर्मल भण्डारीले गुनासो गरे।

 

विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदै

इङ्ल्याण्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ। आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ।

ट्रफी नेपालमा चार दिन राखिनेछ। नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुर्याइनेछ।  पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो।

 

समुद्रमाथि बनाईएको विश्वकै लामो पुल सञ्चालनमा

चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सबभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन्। सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ। चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ।

समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ। चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो पुल उद्घाटन गरेका हुन्। उक्त उद्घाटन समारोहमा मकाउ र हङ्कङका उच्चस्तरीय नेताहरुको पनि उपस्थिति रहेको थियो।

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने साउदी अरब

पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ।

मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ।”

राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ।” खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो। तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ।