“नाइलनको साडीमा” गाउने गायिका पहिलो पटक मिडियामा

दुई सातादेखि किसान सडकमा, ‘सवा दुई अर्ब भुक्तानी देऊ’

काठमाडौं – उखुको बक्यौता नपाएर तराईका किसान राजधानीमा आएर सडक आन्दोलन गरिरहेका बेला संसदीय समितिले किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिएको छ। उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालयलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो। नेपाल उखु उत्पादक महासंघका अनुसार किसानले सरकार र उद्योगीबाट करिब सवा दुई अर्ब रुपैयाँ बक्यौता भुक्तानी पाउन बाँकी छ।

किसानले पाउनु पर्ने पूरानो र नयाँ सबै रकम भुक्तानी दिन निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले बताए। ‘सरकारी अनुदान र उद्योगीले तिर्नुपर्ने सबै रकम भुक्तानी होस्,’ उनले भने, ‘भुक्तानी नदिनेलाई नियमानुसार कारबाही गर्नु।’

एमसीसी चीन, रुस र उत्तर कोरियाविरुद्ध छः वरिष्ठ नेता नेपाल

मकवानपुर– पुर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना ईन्डो प्यासिफिककै अंग भएकाले नेपालले स्वीकार नगर्ने दाबी गरेका छन्।

नेकपा हेटौंडा उपमहानगरपालिका कमिटीलाई मंगलबार सपथ खुवाएपछि उनले अमेरिकाले आफु बलियो बन्न ल्याएको रणनीति छिमेकी चीन, रुस र उत्तर कोरियाविरुद्ध रहेकाले नेपाल आवद्ध नहुने खुलासा गरे।

‘हामी एउटाको विरुद्धमा अर्कोको पक्षमा लाग्न सक्दैनौ’ उनले भने, ‘यत्ति भन्नासाथ एमसीसीको समाधान के हुन सक्छ भने ईन्डो प्यासिफिक रणनीतिसँग एमसीसी जोडिएकाले नेपाल बाहिरै बस्नुपर्छ।’

कालापानीमा नापनक्सा गर्न गएको टोलीलाई भारतले रोक्योः मन्त्री अर्याल

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा नापनक्सा गर्न गएको नापी विभागको टोलीर्लाइ भारतले रोकेको बताएकी छिन्।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा मन्त्री अर्यालले यस्तो बताएकी हुन्। भारतले रोक लगाएसँगै नाप नक्साको काम स्थगित भएको उनले गुनासो गरिन। कुटनीटिक तहबाट कुरा गरी समाधान निस्केपछि काम अगाडी बढाउने उनले बताइन।

मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको बताइन्। कालापानी र लिपुलेक नेपाली नक्सामा अहिलेपनि रहेको र लिम्पियाधुरासहित नक्सा अहिलेसम्म प्रकाशनमा नआएको उनले तर्क गरिन्।

वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए। उनले कालापनी, कञ्चनपुर र कञ्चजङ्घा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताए।

‘एक परिवार दुई पर्यटक’को नारा सहित भ्रमण वर्षको प्रचारमा कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई योगदान गर्न आग्रह गरेको छ।

कांग्रेसले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले ‘एक परिवार दुई पर्यटक’को नारा सहित विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु र पार्टीको देशभित्रका सबै तहलाई योगदान गर्न अपिल गरे।

सम्मेलनमा कांग्रेसले संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टी गरेको जनाएको छ।

दोलखाका निलम्बित सिडिओ अख्तियार हिरासतमा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइएको छ।

सार्वजनिक अपराधका मुद्धामा प्रतिवादीसंग सिडिओ कार्यकक्षसंगैको गोप्य कोठामा घुस लिएका आधारमा उनी निलम्बनमा परेका थिए।

जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुका ४० बर्षिया कुमार लामा प्रतिवादी रहेको अभद्र व्यवहार र कालिञ्चोक गाउँपालिका १ का २८ वर्षिया ईन्द्र पाख्रिन र उनका ५१ वर्षिया बाबु उदिम तामाङ प्रतिवादी रहेको सार्वजनिक सुरक्षा विरुद्धको मुद्धाका अभियुक्तहरुलाई थुनछेक बहसका क्रममा धरौटीमा रिहा गर्दा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले महिना दिन अघि ९० हजार र ३५ हजारका दरले दुबै अभियुक्तका परिवारबाट १ लाख २५ हजार रुपैंयाँ घुस लिएका थिए।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आज मंगलबार सह–सचिव समेत रहेका रिजाललाई नियन्त्रणमा लिइएको हो।

सामुदायिक बन छोड्न मान्दैनन् भूकम्प पीडित

सेलाङ (सिन्धुपाल्चोक)- बिनासकारी भूकम्पपछि आश्रय लिइ बसेको सामुदायिक बन छोडेर पीडित थातथलो फर्कँन मानेका छैनन्। उनीहरु साढे चार वर्षदेखि सामुदायिक बनको जमिन कब्जा गरेर बसिरहेका छन्।

                सेलाङ गाउँपालिका–१ स्थित बाँसखर्क र काफ्लेडाँडामा ३८ परिवार अस्थायी टहरोमा आश्रित छन्। यो जमिन मञ्जुदेउराली सामुदायिक बनमा पर्छ। घर फर्कँन वडा कार्यालय र बन डिभिजनले अनुरोध गरिरहे पनि उनीहरु अझै अटेर गरेर बसिरहेका छन्। भूकम्पपछिको आपतकालीन अवस्थामा उनीहरु यहाँ आश्रय लिन आइपुगेका थिए।

                सेलाङ सेपगाउँका १८ परिवार बाँसखर्क तथा गोल्चे खानीगाउँ र लिदीगाउँका २० परिवार काफ्लेडाँडामा बसिरहेका छन्। टेण्ट, त्रिपाल र जस्ताको टहरोमा उनीहरु आश्रित छन्। उनीहरु सबै भूकम्प पीडित भए पनि बिस्थापित हुनेहरु नरहेको वडाध्यक्ष कमलबिक्रम थापाले बताए। ‘आफ्नो गाउँ पहिरोको जोखिममा रहेको अड्डी लिएर छोड्न मानेका छैनन्,’ उनले भने। गाउँ फर्केर जान पटक–पटक अनुरोध गरे पनि उनीहरुले नसुनेको थापाले जानकारी दिए।

कालिञ्चोक खचाखच, चरिकोट सुनसान

दोलखा – ललितपुरका सुरज श्रेष्ठ गत शुक्रबार साथीहरुसहित राजधानीको एउटा ट्राभल एजेन्सीमार्फत प्याकेज लिएर प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोक भगवतीको दर्शनमा निस्किए। खरिढुंगादेखि रमाइलो हावापानी र हिमशृंखलाको दृश्य नियाल्दै दोलखा प्रवेश गरेका उनीहरुको टोलीलाई एजेन्सीको गाडीले चरिकोट बजारभन्दा सात किलोमिटर यतै मकैबारीबाट कालोपत्रे सडक हुँदै कालिञ्चोकतर्फ उकाल्यो।

चरिकोट हुँदै कालिञ्चोक पुगिन्छ भन्ने ठानेका उनले पहाडको सुन्दर नगरी चरिकोट देख्नै पाएनन्। ‘फर्किदा पनि त्यही बाटो ओरालेर चरिकोट र भीमेश्वर मन्दिर नदेखाइ राजधानी फर्काइयो,’ शनिबार बोचमा भेटिएका उनले गुनासो पोख्दै भने, ‘टोलीमा हामी मात्र नभइ प्याकेजमै आएका अरु पनि थिए, अब चरिकोट र भीमेश्वरको दर्शन गर्न फेरि आउनुपर्ला।’

कालापानी नेपालकै होः सञ्चारमन्त्री बाँस्कोटा

महेन्द्रनगर– सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कालापानी, लिपुलेक नेपालकै भएको बताएका छन्।

मंगलबार प्रेस संगठन नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कालापानी र लिपुलेक नेपालकै भएको बताएकका हुन्।

भारतले दार्चुला स्थित नेपाली समेटेर नक्सा बनाएपछि सरकारले इतिहासकै पहिलो पटक भारत सरकारले कुटनीतिक नोट पठाएको बताउँदै मन्त्री बाँस्कोटाले भारतबाट समेत त्यसको सकारात्मक जवाफ आएको बताए।

‘सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो, ‘मन्त्री बाँस्कोटाले भने, ‘भारतबाट त्यसको विषयमा सकारात्मक सम्बोधन भएको छ।’

संरक्षकलाई उपाधि

पोखरा – कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा सम्पन्न १७औं माछापुच्छ्रे बैंक ओपन टेनिसको उपाधि संरक्षणभूषण वज्राचार्यले जितेका छन्। उनले प्रणव खनाललाई टाइब्रेक सेटमा पराजित गर्दै नगद ५० हजार रुपैयाँ राशिको उपाधि चुमेका हुन्। वज्राचार्यले पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार खनाललाई ३–६, ७–६ र ६–३ को सेटमा पराजित गरेका थिए। महिलातर्फको उपाधि प्रेरणा कोइरालाले उचालिन्।

सलोनी तामाङमाथि ७–५ र ६–१ को सोझो सेटमा जित निकाल्दै शीर्ष वरियताकी प्रेरणाले उपािध आफ्नों नाममा गराएकी हुन्। मेन्स डबल्समा संरक्षकभूषण वज्राचार्य र नवीन मगरको जोडीले बाजी मा¥यो। प्रदीप खड्का र प्रणव खनालको जोडीमाथि ६–३, ६–३ को सहज नतिजा निकाल्दै संरक्षकको जोडीले उपाधि रक्षा गरेको हो।

पुटिनले दिए ट्रम्पलाई धन्यवाद

मस्को – आफ्नो देशमा हुन लागेका ‘आतंककारी गतिविधिहरु’ रोक्न सहयोग हुने गरी गुप्तचरी सूचना उपलब्ध गराएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सोमबार एउटा विज्ञप्ति जारी गर्दै पुटिनले अमेरिकी समकक्षी ट्रम्पलाई धन्यवाद दिएको उल्लेख गरेको छ।

दुई राष्ट्रपतिबीच आइतबार भएको फोनवार्तामा पुटिनले ट्रम्पलाई आफ्नो देशमा हुन लागेका विभिन्न आतंकवादी गतिविधिबारे जानकारी दिएको भन्दै धन्यवाद दिएको क्रेम्लिनले जारी गरको सो विज्ञप्तिमा उल्लेख छ। यद्यपि रुसी राष्ट्रपति कार्यालयले अमेरिकी गुप्तचर निकायमार्फत् ‘आतंकवादी गतिविधिबारे सूचना प्राप्त भएको’ जनाए पनि त्यसबारे विस्तृत विवरण भने उपलब्ध नगराएको बिबिसीले उल्लेख गरेको छ।

रुसी सञ्चारमाध्यमका अनुसार नयाँ वर्षका बेला सेन्ट पिटर्सबर्गमा हुन लागेको आतंककारी आक्रमणको योजना अमेरिकी गुप्तचरी निकायले पत्ता लगाएका थिए  र सोबारे रुसी समकक्षीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी गराएका थिए।

अमेरिकी जानकारीपछि दुई रुसी नागरिकलाई पक्राउ गरिएको छ। त्यसैगरी मानिसहरु भेला भएको एउटा क्षेत्रमा आक्रमण गर्ने योजनासँग सम्बन्धित विभिन्न सामग्रीसमेत बरामद गरिएको समाचार संस्था टासले रुसी गुप्तचर निकाय एफएसबीका एक प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ।