KP Oli PHD | PM Oli America Visit | What’s Trending – Ep. 2 | यो हप्ता के रह्यो चर्चामा?

नागरिक नेटवर्कले अघिल्लो सातादेखि नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक शुक्रवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय वा प्रसंगलाई समेटिनेछ।

प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिई स्वदेश फर्किएका छन्। असोज ६ गते महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै न्युयोर्क प्रस्थान गरेका थिए। महासभा बैठकपछि कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेका थिए।

प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गरेका थिए भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता पनि गरेका थिए। उनले सान होजेमै शान्ति विश्वविद्यालयले (युनिभर्सिटी फर पिस) प्रदान गरेको मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गरेका थिए।

ओली – नेपाल दोहोरी

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्।

संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए। त्यसको जवाफमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने, म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ भनेको सुनियो । म फर्केर गइहाल्छु, त्यो समस्याको कुरा होइन।’

घोचपेचको यही शृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि जोडिए। उनले नेता नेपाललाई लक्षित गर्दै ट्विट गरे, ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ।’ रिमालको ट्विट संसद्मा नेता नेपालले सरकारको कामलाई लिएर गरेको आलोचनातर्फ लक्षित थियो। नेता नेपालले सरकारको कामका बारेमा गरेको आलोचनालाई प्रतिपक्षीले समेत समर्थन जनाएका थिए।

चिकित्सा शिक्षा बिधेयका पास हुन्छ – शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। व्यस्तताका कारण विधेयक पारित हुन नसकेको उनको भनाई छ। विभागीय मन्त्री पोखरेलको अवरोधकै कारण संघीय संसदको दोस्रो अधिवेशनमा संशोधित चिकित्सा विधेयक नआएको भन्दै डा. गोविन्द केसीले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा मागेका थिए।

डा केसीले राजीनामा मागेपछि शिक्षा मन्त्री पोखरेलले विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको र आउँदो दशैंपछि शुरु हुने हिउँदे अधिवेशनमा पारित गरिने जवाफ दिएका हुन्।

सुन तस्करी प्रकरणमा निलम्बित प्रहरी अधिकृतको फुकुवा

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवस लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा गरिएको छ।

सुन तस्करीमा सघाएको भन्दै गृह मन्त्रालयद्वारा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित छानविन समितिको अनुसन्धानका क्रममा निलम्बनमा परेका महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख लोहनी र मकवानपुरका प्रहरी प्रमुख खनालको निलम्बनलाई गृहसचिव प्रेम राईले फुकुवा गरेको स्रोतले जानकारी दिएको छ।

सुन तस्करी प्रकरणको छानविनका क्रममा नियन्त्रणमा समेत परेका लोहनी र खनाललाई उच्च अदालत विराटनगरले केही दिनअघि साधारण तारेखमा रिहा गरेको थियो।

फास्ट ट्रयाकको डिपिआर १०५ दिनमै

मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत आयोजना रिपोर्ट (डिपिआर) निर्माण जिम्मा दक्षिण कोरियाको सुसङ इन्जिनियरिङ कम्पनीलाई दिइएको छ । आयोजना निर्माण जिम्मा पाएको नेपाली सेनाले डिपिआर बनाउने जिम्मा मंगलबार कोरियाली कम्पनीलाई दिएको हो।

कात्तिक ४ गतेबाट लागू हुनेगरी १०५ दिनमा कोरियाली कम्पनीले डिपिआर तयार गर्ने सहमति भएको छ । डिपिआरको लागत भ्याटसहित १० करोड १२ लाख ७८ हजार नौ सय २३ रुपैयाँ छ । फास्ट ट्रयाक आयोजना प्रमुख योगेन्द्रबहादुर खाँण र सुसङ इन्जिनियरिङ कम्पनीका अध्यक्ष कियुन हवाङबीच डिपिआर निर्माणसम्बन्धी सम्झौता भएको हो।

बाल अदालत गठन गरिने

बालबालिकाले कुनै अपराधमा संलग्न भएमा त्यसको कारबाही सुनुवाइ किनारा गर्न बाल अदालत गठन गर्ने व्यवस्था गर्ने कानुन बनेको छ। संघीय संसद्बाट पारित भइसकेको ‘बालबालिका सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा बाल अदालत गठनको व्यवस्था गरिएको छ।

कुनै पनि बालबालिकालाई फौजदारी अपराधलगायतका कुनै पनि कसुरमा संलग्न भएमा त्यसबारेको मुद्दा फैसला गर्ने निकायका रूपमा बाल अदालत रहनेछ।

नेपाल र मलेसियाबीच श्रम सम्झौता

नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो सम्बोधन गर्न मलेसिया तयार भएको छ।

नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न मलेसियाली पक्ष सहमत भएको वार्तामा सहभागी क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए।

पोखरा प्रिमीयर लिग क्रिकेट (पीपीएल)को खेलाडी लिलामी सम्पन्न

पोखरामा हुने पोखरा प्रिमीयर लिग क्रिकेट (पीपीएल)को आइतबार खेलाडी लिलामी सम्पन्न भएको छ । राजधानीमा भएको अक्सनमा शक्तिलाई पारस खड्का मार्की खेलाडी रहेको चितवन राइनोजले महँगो खेलाडीका रूपमा भित्र्याएको छ। प्रतियोगिताका लागि खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम २ लाख ५० हजार रुपैयाँ तोकिएको थियो।

यो लिगमा २ लाख ५० हजारभन्दामाथिको बोली लगाउन नपाइने भए पनि चितवनले जरिवाना तिरेरै शक्तिलाई आफ्नो टिममा भित्र्याएको हो ।लिगमा सहभागी हुने ६ वटा टीमले आफ्नो कोटाका स्वेदशी खेलाडी टिममा भित्र्याएका छन् । हरेक टीमले बढिमा १८ र न्यूनतम १५ जना खेलाडी राख्न पाउने प्रावधान छ। पिपिएलमा विराटनगर टाइटन्स, चितवन राइनोज, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स गरी विभिन्न ६ सहरका टोलीले सहभागिता जनाउनेछन्।