काउली बुढी | नेकपाको चियापान । पोखरा प्रिमियर लिग । सडक एम्बुस

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक शुक्रवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

नेकपाको चियापान
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रमको आयोजना गरेको छ। विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको शुभारम्भ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए।
कार्यक्रमको शुभारम्भमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनालाई स्वागत गर्दै अध्यक्ष दाहालले चाडपर्वले एकताबद्ध बनाउने तथा त्यही एकताको बलमा समृद्धितर्फ डोर्याउने बताए। मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको भन्दै उनले समृद्धि र समाजवादको नयाँ युगको तयारीमा सांस्कृतिक कार्यक्रमको पनि विशेष महत्व रहने धारणा राखे।

सरकारविरुद्ध सडक सघर्षको तयारीमा कांग्रेस
सरकारविरुद्ध नेपाली कांग्रेस सडक संघर्षमा उत्रने भएको छ। फागुनदेखि वैशाखभित्रमा सडक संघर्षमा उत्रने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको यही चाला देखाइरहे कांग्रेस फागुनदेखि सडक संघर्षमा उत्रिने बताए। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुर ३ नम्बर प्रदेश क्षेत्रीय सम्मेलनको शनिबार उद्घाटन गर्दै उपसभापति निधिले त्यसको लागि आन्तरिक तयारी भइरहेको जानकारी पनि गराए।

नेपालसँग शैन्य सम्बन्ध बढाउन चीन अग्रसर
चीन नेपालसँगको शैन्य सम्बन्ध थप विस्तार गर्न अग्रसर देखिएको छ। चीनले नेपालमा मानवीय सहयोग तथा प्रकोप उद्दार उपकरणका लागि नेपाली सेनालाई २ अर्ब ५३ करोड रुपैयाँबरावरको सहयोग उपलब्ध गराउने भएको छ।
साताव्यापी चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल र उनका समकक्षी चिनिया रक्षा मन्त्री वि फेंगीबीच आज एक सहमति पत्रमा हस्ताक्षर भएको छ।
फेंगी संगको भेटामा पोखरले नेपाल र चीनबीच सम्बन्ध प्रगाढ रहेको औल्याउँदै सैन्य क्षेत्रमा आपसी सहयोग विस्तार गर्दै लानुपर्ने धारणा राखेका थिए। उनले नेपालमा शैन्य विश्वविद्यालय स्थापना गर्न चीन सरकारलाई सहयोगका लागि आग्रहसमेत गरेका थिए।

प्रधानमन्त्री कार्यालयलमा तानिइन् स्वास्थ्य सचिव
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलमा तानेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका प्रवक्ता विनोद कुँवरले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी र शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलमा सरुवा गरिएको नागरिकलाई बताए।
स्वास्थ्य मन्त्रालयको निमित्त–सचिवको जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकु¥याललाई दिइएको छ भने शहरी विकास मन्त्रालयको सचिवमा नेपाल ट्रस्टको कार्यालयका सचिव रमेश सिंहलाई सरुवा गरिएको छ।
स्वास्थ्य सचिव चौधरीको कार्यशैली र पारदर्शिताको विषयलाई लिएर चौतर्फी आलोचना हुँदै आएको थियो।

अन्नपूर्ण संरक्षण क्षेत्रमा हेलिकप्टर रोक्न र पदयात्रा शुल्क घटाउन माग
गण्डकी प्रदेशका सांसद राजिव पहारीले अन्नपूर्ण संरक्षण क्षेत्रमा बढाइएको पदयात्रा शुल्क फिर्ता लिन माग गरेका छन्।
प्रत्येक दुई महिनामा निर्वाचन क्षेत्र भ्रमण गर्ने चुनावी प्रतिबद्धताअनुसार लान्द्रुक र घान्द्रुक भ्रमणमा रहेका सांसद पहारीले संरक्षण क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउन र पदयात्रा शुल्क घटाउन माग गरेका हुन्।
सरकारले भर्खरै राजपत्रमा सूचना प्रकाशित गरी संरक्षण क्षेत्रको प्रवेश अनुमति शुल्क वृद्धि गरेको छ। निर्णयअनुसार विदेशीलाई शुल्क वृद्धि मात्र नभई आन्तरिक पर्यटकलाई पहिलोपटक शुल्क लाग्ने भएको छ। जसको यहाँका पर्यटन व्यवसायी र विदेशी पर्यटक लगायत स्थानीयले चौतर्फी विरोध गरिरहेका छन्। विदेशी पर्यटकले त ठाउँ ठाउँ पैसा लिएको गुनासो गरेका छन्।

११ करोडको फूल आयात, निर्यात दुई करोडको
मुलुकमा फूल उत्पादनको ठूलो सम्भावना हुँदाहुँदै पनि वार्षिक करोडौं रुपैयाँको आयात हुने गरेको छ। गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालमा ११ करोड रुपैयाँ बराबरको फूल आयात भएको छ। निर्यात दुई करोडमा सीमित छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार गत आव २०७४÷०७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात र दुई करोड ३७ लाखको निर्यात भएको छ। संघका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले मुलुकमा पुष्प उत्पादनको सम्भावना हुँदाहुँदै पनि चुनौतीहरु रहेको बताए।
‘समग्रमा पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा छ,’ उनले भने, ‘यसलाई बढाउन विद्यमान समस्या समाधान गर्नु आवश्यक छ।’
संघका अनुसार मुलुकमा लगभग एक सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प खेती छ। त्यसैगरी, यस व्यवसायमा ४३ हजार पाँच सयभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न छन्। यस व्यवसायले गत आव २०७४र०७५ मा जम्मा एक अर्ब ८६ करोड ७२ लाखको कारोबार गर्न सफल भएको संघले जानकारी गराएको छ।

श्रीलंकामा नयाँ मन्त्रिपरिषद्
श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो।
नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिएका छन् भने विदेश मन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको छ। यसबाहेक, पूर्व सरकारमा राष्ट्रपति सिरिसेनाका समर्थकका रुपमा सहभागी रहेका केही मन्त्रीहरुले पुरानै जिम्मेवारी पाएका छन्।
राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई शुक्रबार राति अपदस्थ गरी महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलंकामा राजनीतिक तनाव बढेको छ। यो नाटकीय सत्ता परिवर्तनका कारण सत्तारुढ गठबन्धन श्रीलंका फ्रिडम पार्टी र युनाइटेड नेसनल पार्टीबीचको एकता पनि टुटेको छ।

नेपाली यु–१९ महिला टोली स्वदेश फिर्ता
एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यु–१९ महिला फुटबल टोली सोमबार राति स्वदेश फर्किएको छ।
थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहदै छनोट भएका नेपाली किशोरी टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरूले स्वागत गरेका थिए। नेपाली किशोरी टोली थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै दोस्रो चरणको लागि छनोट हुन सफल भएका थिए।
थाइल्याण्डमै हुने दोस्रो चरणको खेल आगामी सन् २०१९ अप्रिलमा हुनेछ। नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने त्यसपछिको दुवै खेलमा जित हात पारेको थियो। नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो।

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा
विश्व यात्रामा रहेको अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन्।
संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आइतवार शीतल निवास पु(याइएको थियो। राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन।