ज्ञानेन्द्रसँग किन तर्सन्छन प्रचण्ड?

नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज पूर्वराजासँग रहेको सरकारको आशंका

संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ।

राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो। यसै अभियान अन्तर्गत समितिले सरकारलाई सो दस्तावेज कहाँ छ? त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन।

मंगलबार समितिको बैठकमा उपस्थिति भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए/नआएको एकीन नभएको जवाफ दिए। उनले सो दस्तावेज पूर्वराजा ज्ञानेन्द्र शाहसँगै गयो की भनि आशंका पनि गरे। ‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रित थिए,’ मन्त्री ज्ञवालीको भनाई थियो, ‘ती सबै यता आएकी आएनन् एकीनका साथ भन्न सकिने अवस्था छैन, जे–जे दस्तावेज थिए भन्ने हामीलाई सूचना छ। तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ। सबै हस्तान्तरण नभएको बुझेका छौं, पूर्व ज्ञानेन्द्र राजा शाहसँगै गयो की?’ मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गरे, ‘नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकी छ वा कुनै ढंगले नष्ट भयो? त्यसको बारेमा एकीन ढंगले भन्न सकिने अवस्था छैन।’

गर्जिए गजेन्द्र: वर्षमान र कुलमान श्री ३ महाराज

नेकपाका सांसद गजेन्द्र बहादुर महतले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद महतले कर्णालीको सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको वत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै आक्रोश पाखे।

जिल्लाबासीको समस्याबारे जानकारी गराउन खोज्दा उर्जामन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले भेट नदिएको गुनासो उनले गरे। उनले भने “यति मिडियामा आईसक्यो। यति सामाजिक सञ्जालमा आइसक्यो। यति धेरै हामीले फोन गरिसक्यौ। यति धेरै भेट्न प्रयास गर्यांै हाम्रा श्री ३ महाराजलाई। हाम्रा श्री ३ महाराज भन्या को हो भने कुलमान घिसिङ। अनि अर्का श्री ३ महाराज हुनुहुन्छ उर्जामन्त्री वर्षमान पुन। फोन पनि उठ्दैन भेटघाट गर्न पनि पाईदैन।”

म्याद सकिँदा काम आधा

सुदूर–पश्चिम प्रदेशको गौरव आयोजना भनिएको धनगढी–मोहना–अत्तरिया जोड्ने ६ लेन सडकको म्याद सकिँदा आधा पनि काम भएको छैन। आयोजना कार्यालय र निर्माण कम्पनीको कमजोरीका कारण ठेक्का सम्झौताअनुसार आयोजना सम्पन्न गरिसक्नुपर्ने म्याद सकिएको दुई महिना हुँदा आधामात्रै काम भएको हो।

सुदूर–पश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडकको काम समयमा सम्पन्न नहुँदा धेरै असर परेको स्थानीय बताउँछन्। सडकमा खाल्डाखुल्डी र निर्माणाधीन कल्भर्टले दुर्घटना भएर सर्वसधारणको अकालमै ज्यान गइरहेको छ भने सुक्खा याममा सडक धुलाम्ये र बर्खामा हिलाम्ये भएर सर्वसाधारणले सास्ती खेपेका छन्। ‘आयोजना र ठेकेदारको चरम लापरवाहीले ६ लेन सडक निर्माणको काम लम्बिँदा हामीलाई धेरै समस्या भएको छ,’ स्थानीय जयबहादुर बोहराले भने। समयमा निर्माण सम्पन्न नहुँदा ठाउँठाउँमा रहेका खाल्डा र निर्माणाधीन कल्भर्टका कारण मोहना पुल–अत्तरिया खण्डमा दुर्घटनामा परी अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन्।

पत्रकार पुडासैनी मृत फेला

पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका छन्। माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

सोमबार राति १० बजेतिर ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ। दिउँसो साढे तीन बजेतिर होटेलमा बसेका पुडासैनी राति खाना खान नआएपछि भित्रबाट बन्द रहेको ढोका फोडिएको थियो।

केही समयअघि सिधा कुरा जनता कार्यक्रममा कार्यरत पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत  थिए।  उनले  ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए।  उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ।