अमेरिकन आइडलमा नेपालका दिवेस पोखरेल

पत्रकारिताप्रति प्रधानमन्त्री किन आक्रोशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २१ गते सम्पादकहरुसँग बालुवाटारमा सामूहिक भेट गरेर ‘बल आएपछि ब्याटिङ त गर्नैप-यो, चित्त नदुखाउनुहोला’ भनेका थिए। पुस २९ गते उद्योगी व्यवसायीसँगको भेटघाटमा राम्रो समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नै नभएको बताएपछि त्यसको स्पष्टीकरण दिन उनले सम्पादकहरुलाई बालुवाटार बोलाएका थिए। मुट भएका सम्पादक नभएको बताएपछि प्रधानमन्त्री ओलीको व्यापक आलोचना भएको थियो।

त्यसअघि असोज ३ गते मिडियाले मर्यादा बिर्सेको आरोप लगाएका प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहमा सञ्चारमाध्यममा प्रयोग भएको भाषाबारे असन्तुष्टि जनाएका थिए। त्यति बेला उनले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराएका थिए। विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्संदै गएको बताउँदै उनले विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। त्यस्तै असार २९ गते पनि प्रधानमन्त्री ओलीले त्यस्तै किसिमको असन्तुष्टि व्यक्त गरेका थिए।

मिडियाले भाषा बिगारेको आरोप लगाउँदै असार ३ गते उनले भनेका थिए, ‘नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ। बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाउलाई पनि तिमी, हजुरआमालाई पनि तिमी, यो त नेपाली भाषा, सभ्यताभित्र पर्दैन।’

दुई वर्षमा सबैको घर-घरमा विधुत !

काठमाडौं- सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पुर्‍याउने योजनाका साथ काम अघि बढेको बताएको छ। उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पुर्‍याउने गरी काम भइरहेको बताएका हुन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले अहिले ८८ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा रहेको बताए। मन्त्री पुनले यो आर्थिक वर्षमा ४० जिल्लामा पुनः विद्युतिकरण गर्ने योजना पनि सरकारले अघि सारेको बताएका छन्।

मन्त्री पुनले विद्युत प्राधिकरण अन्तर्गतका आयोजनाहरुमा ३ लाख र सामुदायिक विद्युतिकरणका आयोजनाहरुतर्फ १ लाख काठका पोलहरु रहेको बताएका छन्। काठका पोलहरुले दुर्घटना बढेको तर्फ सांसदहरुले यसको विस्थान कहिले हुन्छ भन्दै प्रश्न गरेका थिए। मन्त्री पुनले देशभरी रहेका करिब ४ लाख काठका पोलहरुमध्ये ३० हजार पोलहरु विस्थापन भएको र बाँकी पोलहरु प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा क्रमशः विस्थापन गर्ने तयारी भइरहेको उनले बताए।

ललिता निवास प्रकरणमा गगनले संसदमा यसरी गरे ब्यंग्य

गगनले संसदमा के भने ?

कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु ।

थाहा पाइहाले होइन होइन भन्नु ।

चित्त बुझाउन नसके अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र २ पटक विष्णु विष्णु भन्नु ।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु।

 त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्बादे श्री स्वस्तानी कथाले बालुवाटार प्रकरण वर्णायम प्रमथ अध्याए

धन्यवाद ।

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो

बेइजिङ – कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

गत आइतबार एकै दिनमा सो भाइरसका कारण १०० व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी सोमबार यस भाइरसको सङ्क्रमणका कारण ९८ जनाको मृत्यु भएको एपी समाचार समितिले मङ्गलबार जनाएको छ।

मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या १ हजार ८६८ पुग्नुको साथै ७२ हजार ४३६ व्यक्ति सङ्क्रमित भएका छन्।

चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले सोमबार दिएको एक जानकारीअनुसार यस रोगको शुरुवाती घटनाहरूको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको शुरुबाट ८० प्रतिशतले घटेको पाइएको छ।

वाइड बडी जहाजले नियमित उडान भर्दै

काठमाडौँ- चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ।

वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो। उक्त जहाजबाट कोरोना भाइरस फैलिएको वुहानबाट यही फागुन ४ गते बिहान नेपालीलाई स्वदेश ल्याइएको थियो। जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाइनेछ।

सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप

दार्चुला – भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ। भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ। भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधनको दोहन गरिरहेको छ। नेपाली जंगलको प्रयोगदेखि लिएर नेपाली भूभागमै सुरक्षा गस्तीको काम भारतीय सुरक्षा बलले गरिरहेको छ।

भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन तथा सडकमा प्रयोग गरिएका विस्फोटक पदार्थका कारण नेपालतर्फ गम्भीर क्षति पुगेको छ। भारतले व्यास गाउँपालिका–१ र २ को सीमावर्ती क्षेत्रमा करिब डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर सडक बनाएको पाइएको छ। भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा निर्माण गरिरहेको सडकका कारण महाकाली नदीको बहाव थुनिने, नदी क्षेत्र साँघुरिनुका साथै नेपालतर्फको घोडेटो बाटोमा समेत क्षति पुगेको छ। भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई जानकारी नदिई अन्तर्राष्ट्रिय सीमानदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो। यसपटक पनि सोही कार्य दोहो¥याएको छ तर यसबारे नेपाली पक्षलाई खासै खबर छैन।

क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग

काठमाडौं- राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन्।

आजको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले चीनबाट हालै फिर्ता ल्याएर क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरे। चीनबाट नेपाली विद्यार्थीलाई समयमै उद्धार गरेकामा सरकारलाई धन्यवाद दिँदै उनले फिर्ता ल्याउन नसकिएका अन्य चार विद्यार्थीको अवस्थाबारे पनि जानकारी दिन सरकारसँग आग्रह गरे।

सरकारले केही दिनअघि चीनबाट उद्धार गरेर ल्याइएका १७५ जना विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेर सूक्ष्म अनुगमन गरिरहेको छ।

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडाैँ – मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवत्ता दीपक गिरीले बताए।

लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताए।

राजस्व र खर्चमा सरकार कमजोर

काठमाडौं – मुलुकका आर्थिक परिसूचकहरु अनुकूल अवस्थामा भए पनि सरकारको खर्च गर्ने क्षमता बढ्न नसकेको देखिएको छ। पूर्ण बहुमतको बलियो सरकारले चालु आर्थिक वर्षको मध्यसम्ममा गरेको खर्चको तथ्यांकले विगतमा भन्दा फरक ढंगले काम गर्न नसकेको देखाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटको मध्यावधि (असार–पुस) समीक्षा गर्दै बुधबार सार्वजनिक गरेका तथ्यांकले स्थिर र बलियो सरकार आएमात्र आर्थिक विकास हुन्छ भन्ने आम मानसिकता गलत सावित गरेको छ।

सार्वजनिक भएका तथ्यांकअनुसार चालु आवमा समष्टिगत आर्थिक परिसूचकहरु मुलुकका लागि अनुकूल बनेका छन्। राजस्व असुली र पुँजीगत खर्चमा मात्र सरकार विगतभन्दा फरक हुन सकेको छैन। सरकारले चालु आवमा १५ खर्ब ३२ अर्ब रुपैयाँ खर्च गर्ने भनेकामा ६ महिनामा ४ खर्ब २२ अर्ब मात्र खर्च भएको छ। यो खर्च कुल बजेटको २७.६ प्रतिशत हो। सरकारले चालु खर्चमा ३२.४ प्रतिशत खर्च गरेको छ भने पुँजीगत खर्च १५.४ प्रतिशतमात्र छ। यी तथ्यांकहरु अघिल्ला वर्षहरुमा भन्दा तात्विक रुपमा फरक छैनन्।

खप्तड गोल्डकपको ट्रफी सार्वजनिक

धनगढी – अगामी फागुन ९ गतेदेखि धनगढीमा सञ्चालन हुने सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो।

 फागुन २० गतेसम्म यो प्रतियोगिता सञ्चालन हुनेछ। क्लबका अध्यक्ष सुरेश हमालले तयारी अन्तिम चरणमा पुगेको बताए। ‘८० प्रतिशत तयारी सकिएको छ, अन्य तयारी पनि केही दिनमा पूरा हुनेछ,’ उनले भने। सार्वजनिक गरिएको खेलतालिकाअनुसार उद्घाटन खेलमा फागुन ९ गते बागमती क्लब र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुनेछ। यीमध्ये विजेताले फागुन १३ मा हुने सेमिफाइनल प्रवेशका लागि सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ। फागुन १० मा नेपाल एपिएफ काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ। विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ।

‘भ्वाइस बाट बाहिरिदा झन् राम्रो अवसर पाए’

वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न १ सय ९९ बेडसहितको क्वारेन्टाइन तयार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन्।

भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले बताए। कुनै व्यक्तिमा भोलीबाटै संक्रमण देखिएको अवस्थामा पनि उसलाई राख्ने र क्वारेन्टाइन गर्ने कुरामा समस्या नहुने उल्लेख गर्दै मन्त्री ढकालले चीनमा विद्यार्थीहरुलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरुलाई समेत १४ दिन क्वारेन्टाइन्मा राखिने र त्यसको सम्पूर्ण तयारी भएको बताए।

प्रधानमन्त्रीको आरोप : सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमबाट हमला भयो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन्। सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफु अपमानित भएको ठान्ने गरेको बताए। यस अघि पनि एक कार्यक्रममा उनले पत्रकारले आफ्ना बाबुलाई पनि तपाई नभन्ने भन्दै टिप्पणी गरेका थिए।

नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्ने गरेको बताए। ‘सञ्चारमाध्यमहरुबाट हामी छापिएको हेर्छौ। त्यो के देख्छौँ छापिएकोमा। हाम्रो आफ्नो भाषा छ। भाषाको मर्म छ। हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ। हाम्रा सञ्चारमाध्यमहरुलाई हजुर भन्दाखेरी सारै सानो ठान्छन्। हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपि गरेर बोलाउँदा मिस्टर/मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ। कसैलाई तपाई भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’ उनले भने।

भ्रष्टाचारले व्यक्ति धनी भए राष्ट्र गरिबः प्रदेश प्रमुख शेरचन

कास्की- गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिकोत्सवको अवसरमा आयोगको प्रदेश कार्यालय पोखराले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘भ्रष्टाचार सम्बन्धी जुनसुकै अभियोगमा निष्पक्ष छानबिन गरी भ्रष्ट आचरण भएकालाई आयोगले कानूनको कठघरामा ल्याउन सक्नुपर्दछ।’

प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले सरकारी, राजनीतिक तथा निजी क्षेत्रले सूचना प्रवाह गरेर भ्रष्टाचार नियन्त्रणमा सघाउनुपर्ने बताउँदै आयोगले हालै जारी गरेको ६१ बुँदे सुधारका बुँदामध्ये प्रदेश सरकारसँग सम्बन्धित ११ बुँदाको कार्यान्वयन सुरु गरिएको जानकारी दिए।

१२ दिनदेखि बेपत्ता युवक मृत भेटिए

बाजुरा- १२ दिनदेखि बेपत्ता युवक मृत भेटिएका छन्। बडीमालिका नगरपालिका–८ मा पर्ने चल्यासैनका डाँडाको लेकमा खप्तड छेडेदह गाउँपालिका–१ काँडा घर भएका अन्दाजी ४५ वर्षीय गोरे विक मृत भेटिएका हुन्। विक १२ दिनदेखि बेपत्ता रहेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन्। उनको शव १३ औं दिनमा भेटिएको हो।

मानसिक सन्तुलन गुमाएका विक बडिमालिका ८ को लेकमा मृत भेटिएका थिए। उनी १२ दिनदेखि परिवारको सम्पर्क बाहिर थिए। लेकमा हिउँको चिसोका कारण मृत्यु भएको आशंका गरिएको छ।

सरकारले निजी क्षेत्रसँग कमिसनको माग गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा नरहेको बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी) अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै पनि कमिसनको माग निजी क्षेत्र र व्यवसायीसँग नगर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रले विकास चाहेपनि सुशासनको मामलामा कहिलेकाँही विवाद हुने गरेको उल्लेख गरे। सभ्य समाज विकास गर्नका लागि सुशासन अपरिहार्य रहेकोले सुशासन विकासको बाधक नभएको ओलीले बताए।

चन्दा संकलन गरेर मन्दिरको छानामा ‘सुनको जलप’

भक्तपुर – भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख चन्दा संकलन गरी स्थानीय एउटा मन्दिरमा सुनको जलपसहितको छाना लगाएका छन्। भक्तपुर नगरपालिका वडा नं ९ तौलाछे सूर्यमढीस्थित श्री वाकुपति चागुनारायण मन्दिरमा सुनको जलप लगाइएको छानो राखिएको हो।

स्थानीयबाट सहयोग रकम संकलन गरी यो काम गरिएको हो। यसको लागि ९१ लख चन्दा संकलन भएको जनाइएको छ। श्री वाकुपति चागुनारायण तामा छाना निर्माण उपभोक्ता समितिका अध्यक्ष आशकाजी प्रजापतिले स्थानीयसँंग चन्दा संकलन गरी मन्दिरमा सुनको जलपसहितको छाना राखिएको बताए।

चन्दा सहयोग गर्नेहरुमा बढीमा पाँंच लाख र घटीमा पाँंच सय रुपैयाँंसम्म रहेको जनाइएको छ। सबैैभन्दा बढी आशकाजी प्रजापतिले पाँच लाख सहयोग गरेका छन्। २०७४ बैशाख ८ गतेबाट सुरु भएको काम अहिले सम्पन्न भएको हो। श्री वाकुपति चागुनारायण तामा छाना निर्माण उपभोक्ता समितिका सचिव रविन्द्र कुसीले दुई तल्ले वाकुपति चागुनारायण मन्दिरमा एक तल्ला पहिलैदेखि सुनको छाना रहेको बताए।

अहिले तल्लो एक तल्लामा सुनको जलपसहितको छाना लगाउने काम भएको कुसीले बताए्। मन्दिरको पहिलो तल्ला पश्चिममा तामाको छाना रहेको र अहिले त्यसमा सुनको जलप मात्र लगाउने उनले बताए। त्यही तल्लाको उत्तर, दक्षिण ,पूर्वमा झिंगटी इटाको छानो हटाएर सुनको छाना लगाएको जानकारी उनले दिए।

नेपाली चिनीमिल, भारतीय उखु

काठमाडौं – सरकारले भुक्तानी दिन बाँकी रहेको अनुदान रकमको लागि काठमाडौं आएका उखु उत्पादक संघ कञ्चनपुरका अध्यक्ष हरिचन्द ठकुरीको मोबाइलमा जिल्लाबाट किसानले तारन्तार फोन गरिरहेका थिए। ‘मिलले भारतीय उखु क्रसिङ गरिरहेको छ, हाम्रो उखुको पुर्जी दिन चासै देखाएको छैन रे, फोन राख्दै उनले भने, ‘अवैध भारतीय उखु तस्करी हामी कसैगरी नियन्त्रण गर्न नसक्ने भयौं।

जब उखु क्रसिङको समय हुन्छ तब उनीहरुलाई भारतीय उखुसँग जुध्नुपर्ने चुनौती खडा हुन्छ। उनले मिलले समयमै भुक्तानी दिँदै आए पनि क्रसिङमा भारतीय उखुलाई प्राथमिकता दिँदा नेपाली उखुले समयमा पालो नपाउने समस्या भएको बताए। ‘समयमै हाम्रो उखु लिइदिए, खेत खालि भएको बेला अन्य बाली लगाउन सकिन्छ। नत्र अन्य बाली लगाउनै सकिन्न,’ ठकुरीले भने, ‘यही स्थिति रहिरहे विस्तारै नेपाली उखु बिक्री नहुने स्थिति आउन बेर छैन।’ उनले यो समयमा उखु निकाल्न नपाए २० प्रतिशतसम्म तौल घट्ने र समयमै नरोपे अर्को वर्ष उत्पादनै घट्ने बताए।

आफ्नो कार्यकालमा भएका निर्णयको जिम्मा पूर्व प्रधानमन्त्रीहरुले लिनुपर्छः सांसद गिरी

काठमाडौं – समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भए पनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताइन्।

हिन्दीमा सम्बोधन गरेकी गिरीले भनिन्, ‘हाम्रो दलका संघीय परिषदका नेता पूर्व प्रधानमन्त्री माननीय बाबुराम भट्टराइको पनि यस विवादमा नाम तानिएको छ। उहाँले भन्नुभएको छ। मेरो नाम आए के भो त रु यस मुद्धाको जाँचबुझ हुनुपर्छ।

‘सकारात्मक आलोचनाले अदालतको अवहेलना हुँदैन’

काठमाडौं – सर्वोच्च अदालतले सञ्चारमाध्यमले सत्यतथ्य लेखेको खण्डमा ‘अदालतको अवहेलना’मा मुद्दा चलाउनु गलत हुने ठहर गरेको छ। न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले समाचार प्रकाशन गरेकै भरमा पूर्वाग्रहरहित सकारात्मक आलोचना तथा टिकाटिप्पणी गर्न रोक लगाउने अस्त्रको रुपमा अदालतले अवहेलनाको कार्वाही नचलाउने फैसला गरेको हो।

अधिवक्ताहरू रत्नकुमारी श्रेष्ठ र अंजनीकुमार पोखरेलले पत्रिकामा लेखिएका समाचार र सम्पादकीयले अदालतको अवहेलना गरेको दाबी गर्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। ‘लोकतान्त्रिक समाजमा अदालतको कारबाही, फैसला, आदेश र न्यायाधीशउपर स्वच्छ एवं पूर्वाग्रहरहित सकारात्मक आलोचना तथा टिकाटिप्पणी गर्न रोक लगाउने अस्त्रको रुपमा अदालतले अवहेलनाको कारबाही चलाउँदैन,’ कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले यस्तो फैसला गरेको हो।

अब डाइरेक्सन गर्ने इच्छा छ – कामेश्वर चौरसिया

चीनबाट आयातित ‘मास्क’ उतैतिर निर्यात

पोखरा – छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिएपछि नेपालमा रहेका चिनियाँले आफन्त र साथीभाइलाई मास्क कोसेली पठाउन थालेको छ। अहिले धमाधम कोसेलीका रूपमा पठाइँदै गरेका ती मास्क कुनैबेला चीनबाटै आयात गरिएका हुन्। अहिले व्यापारिक रूपमै चीनका विभिन्न सहरमा मास्क निर्यात हुन थालेपछि पोखरामा मास्क अभाव हुन थालेको छ।

पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका चिनियाँ व्यवसायीले चीनका विभिन्न सहरमा मास्क निर्यात गरिरहेका छन्। चिनियाँ व्यवसायीद्वारा लेकसाइडमा सञ्चालिन हेल्लो वल्र्ड जर्नीले सोमबार चीन पठाउने मास्क धमाधम ट्रकमा लोड गरिरहेके। हेल्लो वल्र्ड जर्नीमा कार्यरत कर्मचारी पवन अधिकारीले अहिलेसम्म दुई ट्रक मास्क चीनमा पठाइसकेको जानकारी दिए। सोमबार तेस्रो चरणको निर्यातका लागि ट्रकमा मास्क लोड गरिरहेका उनले अहिलेसम्म २५ लाखजति मास्क हेल्लो वल्र्डमार्फत चीन पठाइएको जानकारी दिए।

पोखरामा सञ्चालित विभिन्न मेडिकलबाट ती मास्क संकलन गरेर चीन निर्यात गरिरहेको उनले बताए। ‘पोखरामा बसिरहेका कतिपय चिनियाँले चीनमा रहेका आफन्त र साथीभाइलाई मास्क कोसेलीका रूपमा पठाइरहेका छन् भने केहीले यहाँ खरिद गरेर चीनमा बिक्री गरिरहेका छन्,’ उनले भने, ‘चीनबाट अर्डर आएबमोजिम यहाँ मास्क संकलन गरिएको छ।’ अधिकारीका अनुसार ५० वटा दरले प्याकेट बनाएर चीनका विभिन्न ठाउँमा पठाइएको छ। ५० पिसको प्याकेटलाई पोखरामा ३ सय रुपैयाँमा खरिद गरेको उनले बताए। चीनमा कति मूल्यमा निर्यात भइरहेको भन्नेबारे भने चिनियाँले बताउन चाहेनन्।

ल्याब परिक्षण गर्न प्रदेशबाट स्वास्थ्यकर्मी खटिए

बाजुरा- हिमाली गाउँपालिका-६ मा देखिएको ज्वरोको संक्रमण नियन्त्रणमा नआएपछि उपचारका लागि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली खटाईएको छ । संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य कार्यालय बाजुराले चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाएको हो । एक जना चिकित्सकसहितको टोली प्रभावित गाउँमा पठाईएको वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

डाक्टर राजुराज जोशी नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी र एक जना ल्याप टेक्नीसियनलाई गाउँ पठाउन लागिएको अधिकृत पन्तले बताएका छन् । सिअहेव कुलबहादुर रावल र हस्त कठायत गाउँ पुगीसकेका छन् । भने परिक्षण उपकरणसहित डाक्टर राजुराज जोशी र ल्याब टेक्नीसियन भोली मात्र गाउँ पुग्ने बताईएको छ ।

ल्याब परिक्षण उपकरण र प्राविधिक प्रदेशबाटै नेपालगञ्ज हुँदै कोल्टीबाट बोल्डीक जाने अधिकृत पन्तले जानकारी दिएका छन् । संक्रमण एकपछि अर्को व्यक्तिमा देखिन थालेकोले त्यसको ल्याप टेष्टका लागि काठमाडौंमा नै पठाउने गरि स्वास्थ्यकर्मी उपकरणसहित जान लागेको पन्तको भनाई छ ।

‘जनप्रतिनिधिहरु नै ठेकेदार भएका कारण समस्या’

काठमाडौं – कमशल निर्माण सामाग्री प्रयोग गरी कमजोर संरचना निर्माण गर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा निर्माण व्यववसायीहरुसँग छलफल गर्दै सांसदहरुले गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही गर्नु उचित भएको बताएका हुन्।

समिति सभापति कल्याणीकुमारी खड्काले भुलवस कमशल सामाग्री पर्न जाने भन्ने कुरा मान्न नसकिने बताउँदै अहिले सम्मको स्थिति हेर्दा व्यवसायीहरुले मिलेमतोमा कमशल निर्माण सामाग्री प्रयोग गर्ने गरेको पाइएकाले त्यस्ता निर्माण व्यवसायीहरुलाई कालोसूचिमा राख्ने व्यवस्था उचित भएको बताइन्। उनले जनप्रतिनिधिहरु नै ठेकेदार भएका कारण मिलेमतो बढी हुने गरेको बताइन्। उनले भनिन् ‘जनप्रतिनिधिलाई ठेकेदार बनाउन पाइदैन, जनप्रतिनिधले अब ठेकेदारी गर्नुहुँदैन, ठेकेदारी गर्ने हो भने ठेकेदारी नै गर्नुपर्छ अथवा निर्माण व्यववसायी नै हुनुपर्छ, उ व्यवसायी हुनुपर्छ।’

सांसद गणेशकुमार पहाडीले सम्झौता भएपछि कुनैपनि काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पनि कारबाही गर्नुपर्ने बताए। उनले कुनै पनि बाहनामा काम नसक्ने प्रवृतिको अन्त्य गर्नका लागि पनि कारबाही गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘सम्झौता भइसकेपछी कुनै पनि काम ‘टाइम सेड्युल’ अनुसार काम भएन भने निर्ममतापूर्वक कारबाहीमा जानुपर्छ। हामीले पनि सरकारलाई यो भन्दा अगाढि पटक पटक भनेका छौं र यसमा निर्माण व्यवसायीहरुपनि तयार हुनुपर्छ।’ उनले निर्माण व्यवसायीहरुको क्षमतामा समेत प्रश्न उठाए। उनले भने ‘तपाईहरुले आफ्नो क्षमतामा पनि वृद्धि गर्नुप-यो र कार्यतालिका अनुसार काम गर्नुपर्छ।’

जलाइएको शव फेला

सुरुङ्गा- झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । चारपाने निवासी रहमान शेखका ज्वाइँ हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमानसहित उनकी श्रीमती र छोरी सुषमालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

तीनै जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सुषमाका श्रीमान हराउनु र परालमा जलेको अवस्थामा शव भेटिएको सन्दर्भमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले भने,  ‘जलेका व्यक्तिको हुलिया खुल्न नसकेर थप अनुसन्धानका लागि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानबाट तालीम प्राप्त कुकुर झिकाएर अहिले अनुसन्धान भइरहेको छ ।’

स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘घटनाको विषयमा अनुसन्धान हुँदै छ । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँन लागेका छौंँ ।’ रासस

लुम्बिनीको बृहत्तर विकास गर्न २ खर्बको प्राधिकरण आवश्यक : मन्त्री भट्टराई

भैरहवा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकास गर्नका लागि करिब २ खर्बको बजेट भएको प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् । लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्तिनगरको कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बृहत्तर लुम्बिनी क्षेत्रको परिकल्पना कार्यान्वयन गर्न बृहत्तर लुम्बिनी विकास प्राधिकरण गठन आवश्यक रहेको बताए ।

अहिलेको लुम्बिनी विकास कोषले आफ्नो नियमित काम गर्दै आएको छ, बृहत्तर लुम्बिनी विकासको योजना लाई कार्यान्वयन गर्न सम्पुर्ण अधिकार सम्पन्न हुने गरी बृहत्तर लुम्बिनी विकास प्राधिकरणको रुपमा आउनका लागि छलफल गरिरहेको बताए । लुम्बिनी विकास कोषको नियमित कामहरुलाई असर नपर्ने गरि बृहत्तर लुम्बिनीको विकासको लागी मात्रै काम गर्ने गरि करिब २ खर्वको बजेट भएको प्राधिकरण गठन गर्नुपर्ने उनले बताए ।

लुम्बिनीलाई विश्व पर्यटनको शहरको रुपमा स्थापित गर्न, स्थानीयको जीवनस्तर, आयु बृद्धि गर्नका लागि लुम्बिनीसहित कपिलवस्तु र नवलपरासीलाई जोडेर स्थानीयको ल्याण्ड पोलिङ शर्तमा नयाँ कार्यायोजनाको अवधारणाका साथ लुम्बिनीको विकास गर्न १० वर्षको समयावधि तोक्न सकिने बताए ।

८ करोड लिई फरार भएका सहकारी सञ्चालक अझै समातिएनन्

वीरगंज- वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब ८ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ फरार भएको झण्डैले वर्ष लाग्न थाल्यो । पैसा लिएर भागेको भन्ने आरोपीहरुलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । प्रहरी र जिल्ला प्रशासन कार्यालयले बेवास्ता गर्दा यस्तो भएको पीडितहरुको भनाई छ । उक्त संस्थाले बचतकर्ताको पैसा मात्र होइन ऋणीहरुले बन्धक राखेको जग्गा समेत हिनामिना गरेको  प्रमाण भेटिएको छ ।

श्रीमानको मृत्युपछि एकल जीवन बिताइ रहेकी वीरगन्ज २ छप्कैकि ५० वर्षे सैनाहा खातुन भिक्षा मागेर बिहान बेलुकाको छाक टार्ने गर्छिन् । ‘बचत गर्नु भइपरी आएको बखत पैसाको लागि समस्यामा परिदैन,’ अभनी गाउँकै खैरुल नेसाले उनलाई प्रेरित गरेपछि सहकारीमा उनले खाता खोलेर दैनिक बचत थालिन् । करिब १३ हजार रुपैयाँ बचत पुगेको उनको पासबुकमा देखिन्छ । वीरगन्ज, छपकैयाकै देवनारायण भडेलका परिवारमा ३ जनाको नाउमा रहेको बचत खातामा डेढ करोड रुपैयाँ जम्माको थियो, सोही सहकारीमा । दुबैको पिडा भने उस्तै उस्तै छ । उनीहरुजस्तै सयौं सर्वसाधारणलाई सहकारीका सञ्चालक अलप हुँदा समस्या छ ।

सहकारीबाट पीडितहरूले प्रहरी प्रशासनले साथ नदिएको दुखसो पोख्ने गरेका छन् । ११ महिना अगाडि २०७५ चैत २० मा सहकारीको लिंकरोडस्थित कार्यालयमा ताल्चा लगाएर अध्यक्ष राजेशकुमार पटेल, कोषाअध्यक्ष रहेकी उनकी श्रीमती रिता पोखरेल तथा अन्य पदाधिकारी र जिम्मेवार कर्मचारीहरु सम्पर्कविहीन भए । उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय पर्सामा २०७५ चैत २८ मा पीडितले संयुक्त उजुरी दिए । लगत्तै उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा समेत त्यसैगरी जाहेरी दिए । जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट आफूहरुलाई असहयोग भइरहेको पीडितहरुको साझा आरोप छ ।

अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो ! कसैले रोकेर रोकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन्।  पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे।

उनले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिँदै भने, “परिवर्तन र कम्युनिष्टविरोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थाहसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन। यो काम हाम्रो सङ्गठनले मात्रै गर्न सक्छ ।”

वर्तमान सरकारले विकासनिर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उनले बताए।  सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने, “म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो। कसैले रोकेर रोकिँदैन। रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ।”

अध्यक्ष ओलीले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे। उनले भने, “पार्टीमा अध्यक्ष छु। प्रधानमन्त्री छु। निर्णयहरु एकता र सहमतिका साथ गरिएको छ। को बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा हाम्रो ध्यान छैन।”

गाउँगाउँमा सहरीकरण, सडकछेउ बसाइँ सर्ने बढे

पाँचथर – केही वर्षअघिसम्म घरमा थोरै थोरै मात्र सुन्तला बेचेको अनुभव सुनाउने सिस्ने गाउँपालिका–४ लाम्बाकोटकी ममता बुढाले यो वर्ष फले जति सबै सुन्तला बेच्न पाएको सुनाइन्। रुकुमकोट बजारमा बिहानै सुन्तला बेच्न १२ जना बसेका थिए। एकै गाउँका उनीहरू हरेक बिहान सुन्तला बेच्न ल्याउने र दिउँसो फर्किने गरेको अनुभव सुनाउँथे। ‘सडक आएपछि बजार बढ्यो, यहाँ बोकेर ल्याउँदा बढी दाम पाउने भएकाले ल्याएका हौं,’ बुढाले भनिन्, ‘अहिले त तरकारी पनि बिक्छ।’ सँगै रहेकी हिरा बुढाले थपिन्, ‘पहिला कहाँ यसरी बिक्थ्यो र !’

उनीहरू झै पुष्पलाल (मध्यपहाडी) लोक मार्गको सडक बनेसँगै पहाडी जिल्लाका विभिन्न ग्रामीण ठाउँमा सहरीकरण हुँदै गरेको देख्न पाइन्छ। पुराना बजार सहरमा परिणत हुँदै गएका छन् भने नयाँनयाँ बजार, चोक निर्माण हुन थालेका छन्। गाउँका बासिन्दा सडकछेउ उक्लिन थालेका छन्। सडकले छोएका क्षेत्रमा नयाँ घर बनिरहेका देख्न पाइन्छ भने जग्गाको भाउ बढ्दै गएको छ। अचेल फलाउन सके बिक्छ भन्ने धारणा विभिन्न क्षेत्रका बासिन्दाको छ। लोकमार्गसँग जोडिएका ग्रामीण क्षेत्रमा बजार बन्ने क्रम बढेको छ। सरकारले मध्यपहाडी क्षेत्रका १० वटा सहरलाई नयाँ सहर बनाउने अवधारणा अघि सारी सानातिना काम गरिरहेको छ। तर, सरकारको प्राथमिकतामा नपरेका विभिन्न ठाउँहरूमा साना बजार स्थापना हुने तथा पुराना बजार विस्तार हुने क्रममा छन्।

आन्दोलनको तयारीमा किसान

मसुरिया (कैलाली) – गरिमा धान नफलेपछि पीडित बनेका किसानले आन्दोलनको तयारी थालेका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्ति नदिएको भन्दै उनीहरु संगठित भएर आन्दोलनको तयारी थालेका हुन्। सोमबार मसुरियाको साझा बजारमा भेला भएका किसानले समिति गठन गरेर आन्दोलनको तयारी थालेका छन्। चार महिना बितिसक्दा पनि सरकारले गरिमा धानबाट पीडित बनेका किसानलाई उचित क्षतिपूर्ति नदिएको भन्दै आन्दोलनका लागि छलफल जारी राखेका छन्। उनीहरुले माघ २२ गते प्रदेशको कृषि मन्त्रालय घेराउ गर्ने बताएका छन्।

गरिमा धान पीडित किसान संघर्ष समितिका संयोजक बासुदेव गुरागाईंको अध्यक्षतामा बसेको बैठकले २२ गते कृषि मन्त्रालय घेराउ गर्नुका साथै कृषिमन्त्री र मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको छ। बैठकले गौरीगंगा नगरपालिकाका गरिमा धान पीडित किसान सबै धनगढीस्थित कृषि मन्त्रालयमा जाने र ध्यानाकर्षण पत्र बुझाउँदै चाँडै उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने संघर्ष समिति संयोजक गुरागाईंले बताए।

ग्यास महँगियो, डिजेल र पे­ट्रोल सस्तियो

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमले ग्यासमा सिलिन्डरमा २५ रुपैयाँ बढाएको हो।

ग्यासको मूल्य सिलिन्डरको १३ सय २५ रुपैयाँ पुगेको छ। पेट्रोलको मूल्य लिटरको एक १० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको निगका प्रवक्ता वीरेन्द्र गोइतले बताए। नयाँ मूल्य सोमबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ।

१ फेव्रअरी २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही घटेर आएकोले मूल्य घटाएको निगमले जनाएको छ। एलपी ग्यासमा औषत खरीद मुल्य बढेकाले ग्यासको मूल्य बढाएको निगमको दाबी छ।