उपत्यकाको ३२ ठाउँमा ट्राफिक लाइट आवश्यक || 32 Traffic light necessary at Kathmandu Valley.

ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण मानिने ट्राफिक लाइट विस्तारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोड दिएको छ। महाशाखाका अनुसार उपत्यकाका ३२ स्थानमा ट्राफिक लाइट आवश्यक छ।

तथ्यांकअनुसार पहिले काठमाडौंका २० ठाउँमा ट्राफिक लाइट थियो। द्वन्द्वकाल र विभिन्न आन्दोलनसँगैको अस्थिरताले सबै बन्द भए। मर्मत सम्भार तथा सञ्चालन गर्नतर्फ कसैको ध्यान गएन। गत वर्ष सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएपछि ट्राफिक लाइटको व्यवस्थापन कार्य अघि बढ्यो। अहिले खनाल महानिरीक्षक भइसकेका छन्। उनको कार्यकालमा चार ठाउँमा ट्राफिक लाइट सञ्चालन भएको छ। कौशलटार, नारायण गोपाल चोक, नयाँ बानेश्वर र गठ्ठाघरमा सञ्चालनमा रहेको महाशाखाले जनाएको छ।

महाशाखाले ३२ ठाउँमा थप गर्नुपर्ने भन्दै सरोकारवाला निकाय काठमाडौं महानगर तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी सुरेन्द्र मैनालीले जानकारी दिए।

‘ट्राफिक लाइट व्यवस्थापनको कुरा गर्ने हो भने चावहिल, त्रिपुरेश्वर, लैनचौर, सामाखुशी, कलंकी, बल्खु गोल्डेन गेट लगायतका ३२ ठाउँमा आवश्यक छ’, उनले भने– ‘तर केही ठाउँमा चाँडै नै हुन्छ, ६÷७ ठाउँको लागि त टेण्डर पनि भइसकेको छ। यो वर्षातपछि काम हुन्छ।’

१७ ठाउँमा क्रसिङ लाइटको आवश्यकता

महाशाखाका अनुसार अहिले उपत्यकामा पैदल यात्रीलाई क्रसिङ लाइट शंकरदेव अगाडि र साल्ट ट्रेडिङ छेउमा गरी दुई ठाउँमा छन्। थप १७ ठाउँमा आवश्यक छ। ‘यसलाई थप गर्नुपर्छ भनेर हामीले अध्ययन गरेर १७ ठाउँका लागि पत्राचार गरेका छौं’, प्रवक्ता मैनालीले भने, ‘आकाशे पुल थप गर्नका लागि पनि पत्राचार गरेका छौं।’

जथाभावी बाटो काट्दा उपत्यकामा वर्षेनी ६५ जना पैदली यात्रीको मृत्यु भएको छ। वार्षिक ४५० पैदल यात्रु अंगभंग तथा घाइते भएका छन्।

महाशाखाका अनुसार प्रविधियुक्त सडक नहुँदा उपत्यकामा ट्राफिक जनशक्ति बढी खटिनु परेको छ। दरबन्दी १ हजार ८५ भएपनि उपत्यकामा १ हजार ४ सय ट्राफिक प्रहरी कार्यरत छन्। यो जनशक्ति पनि अपर्याप्त रहेको महाशाखाले जनाएको छ।