कुन्ती मोक्तान |शेरधन सुटुक्क अमेरिकामा |लालबाबुले गरे म्ह:पूजा |अर्का लालबाबुको गाडीलस्कर

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक बुधवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

 

मुख्यमन्त्री शेरधन राईका सहयोगीद्वारा पत्रकार कुटिए

समाचार लेखेको विषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार न्यूयोर्कमा पत्रकार लोकमणि राईलाई कुटेका छन्।
तिहारको एक कार्यक्रम चल्दै गर्दा एक परिचितले पत्रकार राईलाई एकछिन बाहिर हिड भन्दै कार्यक्रमस्थल बाहिर लगेर कुटपिट गरिएको बताइएको छ। उमेशले बाहिर लगेर मनपरी गाली गलौज गर्दै मुख्यमन्त्रीको विषयमा जेपायो त्यही लेख्ने पत्रकार तैहोस भन्दै पत्रकार राईको अनुहारमा मुक्का हानेका थिए। घाइते पत्रकार राईलाई लगत्तै एम्बुलेन्स मार्फत स्थानीय एलमहर्स्ट हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको थियो।
मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ। उपचारका लागि थाइल्यान्ड गएका राई त्यहाँबाट अमेरिका पुगेका छन्। अमेरिका जानेबारेमा राईले संघीय सरकारबाट स्वीकृति लिए÷नलिएको विषयमा स्पष्ट हुन नसकेका कारण उनी विवादमा परेका हुन्। पराराष्ट्र मन्त्रालय स्रोतले राईको विदेश भ्रमण विषयमा कुनै जानकारी नआएको जनाएको छ।

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्रीले तातोपानी कुण्डमा लगाए डुबुल्की

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्। पत्नी सीता, छोरी गंगा सहित परिवारका सदस्यलाई लिएर दाहाल तातोपानी पुगेका थिए।
भारत, सिंगापुर थाईल्याण्डका अस्पतालको उपचारबाट समेत सन्चो नभएपछि कुण्डमा स्नान र जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटन गर्न दाहाल परिवारसहित म्याग्दी पुगेका हुन्। दाहालसँगै पत्नी नैनकलालाई लिएर आएका गृहमन्त्री रामबहादुर थापा समेत उद्घाटन कार्यक्रम सकिए लगत्तै उनीसँगै एउटै गाडीमा कुण्ड तर्फ हानिए।

सभापतिलाई घेराबन्दी गर्दै कांग्रेसका असन्तुष्ट
नेपाली कांग्रेसका असन्तुष्ट पक्ष पार्टीको आसन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवालाई घेराबन्दी गर्ने तयारीमा जुटेका छन् । बहुमतको बलमा सभापति देउवा स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्ष महासमिति बैठकमा पेस हुने विधान संशोधन मस्यौदासहितका प्रस्तावमा फरक मत लैजाने तयारीमा जुटेको हो।
महासमिति बैठकमा पेस हुने विधान संशोधन मस्यौदासहितका अन्य प्रस्ताव सर्वसम्मतबाट केन्द्रीय समितिबाट पारित हुन नदिने रणनीति असन्तुष्ट पक्षको छ । पार्टी पदाधिकारी मनोनयन, नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद, विजयकुमार गच्छदारलाई उपसभापति बनाउनेसहितका प्रस्ताव सभापति देउवाले बहुमतबाट पारित गरेको ठहर असन्तुष्ट पक्षको छ।

निर्मलाका आमाबुवाको धर्ना जारी
छोरीको हत्यारा पत्ता लगाउनुपर्ने मागसहित निर्मलाका आमाबुवाले जिल्ला प्रशासन कार्यालयअगाडि सोमबार पनि धर्ना जारी राखेका छन् । उनीहरुलाई साथ दिँदै केही स्थानीय महिलाअधिकारकर्मी र नगारिक समाजका व्यक्ति पनि धर्नामा बसेका छन् । ‘छोरीको हत्यारा पत्ता नलागेसम्म यहाँबाट उठ्दिनँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘सरकार गम्भीर नभएकाले न्यायका लागि म धर्नामा बसेको हुँ।’
निर्मलाकी आमा दुर्गादेवी भने घरमा रहेका दुई छोरी डराउने भएकाले दिउँसो धर्ना बसेर राति फर्कने गरेकी छन् । ‘म दिनभरि धर्नामा बसें । छोरीहरु एक्लै हुने भएकाले साँझ घर फर्केकी हुँ’, उनले भनिन्, ‘मेरो छोरीको हत्यारा प्रहरीभित्रै अनुसन्धान गरे पत्ता लाग्छ । प्रहरीले पत्ता लगाइरहेको छैन ।

मंसिर भित्र पार्टी एकता टुंगिन्छ स् नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आउँदो मंसिरभरमा तल्लो तहसम्मै पार्टी एकता भइसक्ने दाबी गरेका छन्। उनले माथिल्ला कमिटी निर्माण भइसकेपनि तल्लो तहसम्म पार्टी एक हुँदा मात्र पार्टी सशक्त हुने बताए।
उनले तलैसम्म एकता भएपछि मात्र पार्टी सशक्त र जनव्यापी हुने बताए। ‘संविधानको भावना अनुसार समाजवादी बाटोको अगुवाई पार्टीले गरिरहेको छ,’ गृहजिल्ला इलामस्थित नेकपाले सोमबार आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भने, ‘नेकपाले कल्पना गरेको सुखी नेपाली समृद्ध नेपाल निर्माणको लक्ष्य पूरा हुने आधार तयार भएको छ।’

सरकारलाई दिएको समर्थन चाँडै फिर्ता हुन्छ  झा
राजपा नेपालका अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झाले राजपाले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका छन्। दीपावली, नेपाल संवत् तथा छठको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजपा नेता झाले सरकारले संविधान संशोधनतर्फ चासो नदेखाएकोले मधेस आन्दोलनका मागहरु सम्बोधन गराउन आन्दोलन गर्नुपर्ने हुँदा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्।
राजपाले सरकारलाई सर्त सहित समर्थन दिएको तर सरकारले कुनै वास्ता नगरेकोले समर्थन फिर्ता लिएर अधिकारका लागि आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए।

नेपाली मूलका एचबि भण्डारी अमेरिकी मध्यावधि निर्वाचनमा विजयी
अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मूलका एचबि भण्डारी निर्वा्चित भएका छन्। भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट निर्वा्र्चित भएका हुन्।
मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भए। उनी अमेरिकी राजनीतिमा उपल्लो तहमा निर्वा्चित हुने पहलो नेपाली मूलका अमेरिकी राजनीतिज्ञ हुन्। तीन जना निर्वा्चित भएकोमा उनी दोश्रो धेरै मत ल्याएर विजयी हुन सफल भए। यो जितसँगै भण्डारी अमेरिकी राज्य संसद् भवन छिर्न सफल भएका छन्।
निर्वाचन क्षेत्र संख्या ८ मा भण्डारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटीक पार्टीका तर्फबाट प्रतिस्पर्धामा थिए। ह्यारीले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
फेरि उठ्यो इपिएस सुधारको आवाज
नेपाली श्रमिकले मन पराएको कोरिया रोजगारी प्रक्रिया रोजगार अनुमति प्रणाली (इपिएस) सुधारका लागि पुनः आवाज उठेको छ । विगतमा इपिएसमार्फत कोरिया पुगेका श्रमिकले सुधारका लागि माग गर्दै आए पनि पछिल्लो समयमा श्रमिकको अधिकारबारे निरन्तर आवाज उठाउँदै आएका विज्ञहरूले समेत इपिएस सुधारमा जोड दिन थालेका हुन्।
बसोबास, सुरक्षा तथा आर्थिक दृष्टिकोणले राम्रो मानिँदै आएको कोरिया रोजगारीमा छनोट प्रक्रियाका कारण कामदार शोषित हुँदै आएको ठहर गर्दै विज्ञहरूले इपिएस सुधारको आवश्यकता देखिएको बताएका छन् । इपिएस प्रणाली अन्तर्गत कोरिया जाने कामदारको अवस्था र सुरक्षाबारे केन्द्रित रहँदै केही दिनअघि सोलमा आयोजित नेपालसहित विभिन्न मुलुकका श्रमिक, श्रमविज्ञ, नागरिक समाजका अगुवाहरूको भेलाले युवाको कोरिया सपनामा इपिएस बाधक बन्ने खतरा रहेको निष्कर्ष निकालेका छन्।

एमनेस्टीले फिर्ता लियो सुकीलाई दिएको सम्मान
मानवअधिकार सम्बन्धी अन्तरराष्ट्रिय सँस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ। सुकीको मानवअधिकार प्रतिको प्रतिवद्धता र व्यवहारप्रति विश्वव्यापी रुपमा प्रश्न उठेपछि उक्त सम्मान फिर्ता लिइएको हो।
सन् १९९१ को नोबेल पुरस्कार विजेता सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदान गरेको थियो । त्यतिबेला नोबल पुरस्कार जितेसँगै मानवअधिकार र शान्तिका लागि सुकी विश्वव्यापी विम्ब नै बनिन्। लामो अवधिको निर्वासन, जेल र नजरबन्दको जीवन गुजारी आफ्नै देशभित्र प्रजातन्त्र प्राप्तिका लागि संर्घष गर्दै आएकी थिइन । आफ्नै घरमा नजरबन्दमा रहेको अवस्थामा सुकीलाई एम्नेस्टीले सर्बोच्च सम्मान प्रदान गरेको थियो।