भाइरल धर्तिमाताको अर्को तमाशा, आइफामा पैसाको खोलो

आइफा अवार्डबारे सञ्चारमन्त्री भन्छन्: सरकारले घाटाको व्यापार गर्दैन

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पारेका छन्।

मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे। मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको प्रष्टयाए। मन्त्री बाँस्कोटाले आइफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पारे। उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले सो अवार्ड आयोजना गर्न स्वीकृति दिएको पनि बताए।

‘हली’ बन्दै गृहजिल्लाको रोपाइँमा बाबुराम

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेर राष्ट्रिय धान दिवस मनाएका छन्। गोरखाको पालुंगटार नगरपालिका–१ स्थित सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुर्ख्यौली थलोमा धान दिवस मनाएका हुन्।

धान रोपाइँमा सरिक भएका उनले कृषिको आधुनिकिकरण र व्यवसायीकरणमा जोड दिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा ‘हो हो तारे हो हो। हो हो माले हो हो’ भन्दै पोष्ट गरेका छन्। उनले पोष्ट गरेको तस्बिरमा हली बनेर दाँदे लगाइरहेको देखिन्छ भने अर्को तस्बिरमा बाउसे गरिरहेको देखिन्छ।

आइजिपी खनालको प्रश्नः घरबाट ढिला निस्कने, ट्राफिक जाममा परियो भन्ने?

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले ट्राफिक जाम व्यवस्थापनका लागि व्यवहार परिवर्तन गर्नुपर्ने बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सडक सभ्यता सम्बन्धी तीन महिने कार्यक्रमको समीक्षा समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले जामका लागि समय व्यवस्थापन गर्ने बानी बसाल्न सुझाव दिएका हुन्।

‘हामी घरबाट ढिला निस्किने, ढिलो हुँदा ट्राफिक जाममा परियो भन्ने?’ आइजिपी खनालले प्रश्न गरे, ‘काममा हिड्दा अलिकति मार्जिन राखेर हिड्नुपर्यो। ट्राभल टाइम राख्ने गरौं।’

एउटा घरमा तीनपटक पुग्नुस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई सर्वोपरी ठानेर आम जनताको घरघरमा पुग्न पार्टीका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन्। पहिलो चरणको जागरण अभियान समीक्षाका लागि बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय प्रतिनिधिसँगको छलफलमा सभापति देउवाले गुट उपगुटभन्दा माथि उठेर संगठन निर्माणमा जुट्न आग्रह गरेका हुन्।

अब हुने तीनै तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएरै छाड्ने बताउँदै सभापति देउवाले थपे, ‘जनता भन्दा सर्वोपरी कोही छैन। एउटाको घरमा तीनपटक पुग्नुस् अनि समस्यामा हातेमालो गर्नुहोस्।’ पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयासलाई कमजोरीका रूपमा प्रस्तुत गर्न खोजिएको गुनासो पनि देउवाले गरे।

टिप्परमा २२० किलो गाँजा

चितवन प्रहरीले पूर्वी चितवनको राप्ती नगरपालिका–४ को भवानीपुरबाट दुई सय २० किलो गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले भवानीपुरको लाहुरे चोकबाट हाइवेतर्फ आउँदै गरेको टिप्परबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

मंगलबार बिहान ना ४ ख २२९५ नम्बरको टिप्परमा लोड भएको बोरामा पोको पारेको २२० किलो गाँजा चेकजाँच गर्दा बरामद गरेको प्रहरीले जनाएको छ।

टिप्पर चालक हेटौंडा उपमहानगरपालिका–७ बस्ने सौगात श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए।