राज्यले मलार्इ अपहरण शैलीमा उठाउन खाेज्याे : डा केसी

  २० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीले आफूलाई राज्यले अपहरण शैलीमा उठाउन खोजेको भन्दै आफ्नो मानव अधिकार नखोस्न सरकारलाई आग्रह गरेका छन् ।

 बिहिवार उनलाई राज्यले जबरजस्ती उठाएर काठमाडौँ लैजाने तयारी भएको भन्ने जानकारी पाएपछि डा. केसीले राज्यले आफ्नो आन्दोलन तुहाउन गुण्डागर्दी शैलीमा राज्य प्रस्तुत भएको बताए ।

 बिहिवार पत्रकारहरुलाई अडियो सम्बोधन गर्दै डा. केसीले भने ‘राज्यले मेरो मानवअधिकार खोस्न पाउँदैन, गुण्डागर्दी चल्दैन,सुनेको छु मलाई राज्यले अपहरणशैलीमा जुम्लाबाट उठाएर लैजाने तयारी गरिरहेको छ रे ।’ जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसीको स्वास्थ्य उपचारका लागि भन्दै सरकारले काठमाडौँ लैजाने अन्तिम तयारीमा गरेको स्थानीय प्रशासन स्रोतले जानकारी दिएको छ ।

 तर डा. केसीले जुम्लामा आफ्नो उपचार प्रभावकारी भएको भन्दै उपचारको बहाना देखाएर आफूलाई राज्यले अपहरण गर्न खोजेको बताए ।

 ‘म चन्दननाथबाबाको पवित्र काखमाअनशन बसेको छु,’डा. केसीले भने ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकहरूले मेरो राम्रो हेरचाह गरिरहनु भएको छ, मेरो उपचारको चिन्तालाई कारण बनाएर हाम्रो सत्याग्रहलाई तुहाउन खोजिँदै छ ।’ उनले वर्तमान सरकार माफिया  र अधिनायकवादलाई पोस्नतिर उन्मुख रहेको भन्दै यो सरकारको अधिनायकवादकाे विराेधमा जनताको जीत हुने विश्वास समेत दिलाए ।