सडकमा मोटरसाइकलको राज

मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्।एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।

महानगरीय ट्राफिक प्रहरी वृत्त काठमाडौंका अनुसार गत वर्ष राजधानीमा १०३५९ सडक दुर्घटना भएकोमा ३७०० दुर्घटना मोटरसाइकलसँँग सम्बन्धित थिए। आर्थिक वर्ष २०७४÷७५ को जेठ मसान्तसम्म काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परेर ९७ जनाले ज्यान गुमाए।

सार्वजनिक यातायात सहज नहुनु, मुख्य सडकमा मात्रै सीमित हुनु  लगायतका अन्य कारणले सर्वसाधारण नेपालीमा मोटरसाइकल प्रतिको आकर्षण बढ्दो छ। तथ्याङ्क अनुसार काठमाडौंमा ८ लाख सहित देशभर २४ लाख भन्दा बढी मोटरसाइकल प्रयोगमा छन्। गत आ.व.मा मात्र नेपालमा प्रत्येक दिन करिब ९७० मोटरसाइकल भित्रिए।बढ्दो खपतसँगै मोटरसाइकलमा लगाइएको सवारी कर राज्यका लागि आयआर्जनको भरपर्दो स्रोत बनेको छ।

ह्वीलचियरमा विश्वकप

रुसमा जारी विश्वकप फुटबलको लहरले सवैलाई छोएको छ । खुट्टा चल्नेमात्र हैन खुट्टा नचल्ने पनि यसको रौनकमा रमाएका छन् ।
ह्वील चियरमा जीवन अगाडी बढाउँदै आएका उनीहरुको समूह अहिले जोरपाटीको नारायणस्थित बोधीसत्व नाम गरेको संस्थामा बसेर खेलको रमाइलो लिदै छन् ।
उनीहरु खेल सुरु हुन्दा केही समय अगाडी विभिन्न ठाएँबाट आएर भेला हुन्छन् । फुटबलको बारेमा चर्चा गर्छन । एक छिन उनीहरु हातले खेलिने बास्केटबलमा रमाउँछन् ।
यहाँ २० देखि २५ ले विश्वकपको खेल संयुक्तरुपमा बसेर हेर्दे आएका छन् ।
खु्टटाले खेलीने लोकप्रिय यो खेल ह्वील चियरमा बसेर हेर्दा उनीहरुमा उत्साहको कमि छैन । न त खेल्न नसक्दा खेल प्रति उनीहरुको गुनासो नै छ ।
उनीहरु चुपचाप बसेर हैन खेलको रमाइलो लिदै हेर्छन् । गोल पोष्ट तिर बल जान थालेपछि उनीहरुको उत्साह बढ्छ । गोल भएपछि त ह्वील चियरनै हल्लीने गरी उनीहरु खुसीले चिच्याउँछन् ।
‘हामीले खेल्न नसक्नुमा फुटबलको दोष छैन,’ ह्वील चियरमा बसेर फुटबल हेर्दे गरेका नवराज कार्कीले भने, ‘हामी सुरुदेखिनै रमाएरै फुटबल हेर्देै छौ ।’
उनीहरुजस्तै खुट्टा गुमाएका कलीला नानीहरुलाई पनि फुटबलले खुसी दिएको छ ।
यहाँ भेला भएका धेरैजसो विभिन्न समयमा खु्ट्टा गुमाउने छन् । कोही मेरुदण्डका समस्याका कारण त कसैले भूकम्पमा परेर खुट्टा गुमाएका छन् । सुरुमा फुटबल खेल्दै गरेको उनीहरु मध्ये धेरैले पछि आफ्नो खु्टटाको सक्ति गुमाएका हुन् । त्यसैले उनीहरुल फुटबल खेल्दा मात्र हैन, हेर्दा पनि उत्तिकै खुसी मिल्ने सुनाउँछन् ।

त्रिवि शिक्षण अस्पतालमा मानव अङ्गबाट बायो ग्याँस

काठमाडौं–शिक्षण अस्पताल महाराजगन्जमा मानव अङ्गबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।

न्युरो, सर्जिकल, अति सघन कक्ष (आइसीयू) र मृगौला रोगसँग सम्बन्धित (नेफ्रो वार्ड) बाट निस्कने रगतजन्य फोहोर, शल्यक्रियाका क्रममा निस्कने शरिरका विभिन्न अङ्गहरुलाई अलग्गै संकलन गरि बायो ग्याँस निकालिएको छ। बायो ग्याँसका लागि मानव अङ्गका अतिरिक्त फ्याँकिएका खानेकुरा र कुहिने फोहोरलाई प्रयोग गरिएको छ।यहाँ उत्पादित ग्याँस अस्पतालको भान्सामा प्रयोग गरिएको छ भने पानी तताएर प्रशोधन गर्ने काममा पनि सदुपयोग गरिएको छ।

अस्पतालजन्य फोहोरको संक्रमणको जोखिम अत्यधिक रहन्छ । शिक्षण अस्पतालको नयाँ प्रयोगलाई अन्य अस्पतालले पनि पछ्याउनु जरुरी देखिन्छ।

शिक्षण अस्पतालले बायो ग्याँस उत्पादन नगर्दासम्म अस्पतालको फोहोर काठमाडौ महानगरपालिकालाई बुझाइन्थ्यो जुन खुलम खुल्ला टेकुको संकलन केन्द्र हुँदै डम्पिङ साइट औखरपौवासम्म पुग्थ्यो। फोहोर जलाउँदा निस्कने धुवाँले वातावरण प्रदूषण हुने र महानगरपालिकाले ओखरपौवामा फाल्ने फोहोरमा कहिलेकाँही सुई र संक्रमित फोहोर मिसिदा थप जोखिम बढ्ने गरेको थियो।