गोकर्ण बिष्टलाई किन पदच्युत गरियो ? प्रधानमन्त्री र देउवा बिच भएको जुहारी!

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक सुरु

काठमाडौं-  नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु भएको छ। नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि मंगलबारबाट काठमाडौंमा सो बैठक सुरु भएको हो। जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए। बैठकमा पारवहन सन्धीका विविध विषयमा छलफल हुने पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

बैठकमा हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा पनि विस्तृत छलफल हुने सहसचिव ढकालले बताए। त्यसैगरी बैठकमा दुवै पक्षबीच विद्युतीय कार्गो निगरानी प्रणाली (ईटिएस) सम्बन्धमा पनि छलफल हुनेछ।

‘नेपालको कानुन र आयोगहरू अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्न असफल’

काठमाडौं– द्वन्द्व पीडितहरुले १३ वर्षपछि पनि न्याय नपाएको भन्दै चार संस्थाहरूले निश्कर्ष निकालेका छन्। १३ वर्षसम्म पनि न्याय नपाएको भन्दै इन्टरनेसनल कमिसन अफ जुरिस्ट, एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले मंगलबार एक विज्ञप्ति जारी गरेका हुन्।

जारी विज्ञप्तिमा लेखिएको छ ‘नेपालले आफ्नो दश वर्षे द्वन्द्व कालमा भएका मानवअधिकार उल्लङ्घन र ज्यादतीहरूमा न्याय, सत्य र परिपूरण प्रदान गर्ने सवालमा खासै कुनै प्रगति गरेको छैन्।’

उक्त संस्थाहरुले नेपालमा द्वन्द्वकालीन अपराधहरूलाई सम्बोधन गर्नका लागि दुई वटा आयोगहरू बनाइए पनि ती आयोगहरू प्रभावकारी हुन नसकेको र पीडितहरूलाई न्यायको पहुँचबाट इन्कारीका साथै दण्डहीनता व्याप्त रहेको निष्कर्ष निकालेका छन्।

उनीहरुले कानुनी संरचनामा आवश्यक संशोधन नगरी आयोगमा आयुक्तहरूको नियुक्ति गर्न लागेको जस्तो सन्देश प्रवाह गर्ने गरी सरकारले चालेको पछिल्ला कदमहरूबाट चिन्तित रहेको जनाएको छ।

२० गतेदेखि खानेपानीको मुल्य घट्ने

पोखरा- गण्डकी प्रदेशमा पानीकाे मुल्य घट्ने भएको छ। दैनिक उपभोग्य सामानमा मुल्य वृद्धि भइरहेको बेला गण्डकी प्रदेशमा मंसिर २० गतेदेखि लागु हुने गरी प्रशोधित पिउने पानीको मुल्य घट्ने भएको हो।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशले असोज १३ गतेदेखि गरेको अनुगमनमा पानीको मुल्य अत्यधिक बढी भएको पाइएपछि मुल्य घटाउन नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशसँग पटकपटक छलफल गरेपछि मुल्य घट्ने भएको हो।

निर्देशनालयले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाल बोटल वाटर उद्योग संघ गण्डकीले पानीको मुल्य घटाउने सहमति गरेको जनाएको छ। निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले अनुगमन गर्दा उत्पादकले बिक्री गरेको मुल्य र बजारमा उपभोक्ताले तिर्ने मुल्यमा बढी अन्तर भई उपभोक्ता मारमा परेकाले व्यवसायी र निर्देशनालयबिच आपसी छलफलबाट नयाँ मुल्य तोकिएको बताए।

सरकारले फेरि कालोसूचीमा राख्यो ४ वटा निर्माण कम्पनी

काठमाडौं – सरकारले फेरि ४ वटा  निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा होराइजन विल्डर्स पोखरा, तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढी, श्रीकृष्ण कन्सट्रकसन÷त्याडी निर्माण सेवा जेभी बझाङ र ओम श्री ओम इन्टरप्राइजेज मिनभवन रहेका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ती कम्पनीलाई कालोसूचीमा राखेको हो। निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालो सूचीमा राखेको हो।

पोखरा नगरपालिका, स्वास्थ्य निर्देशनालय डोटी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सम्बन्धीत कार्यायलबाट लेखिआएअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको मंसिर ६ को निर्णय अनुसार कालोसूचीमा राखिएको हो।

तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढीलाई २ वर्ष र अन्य तीन कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको हो। यसअघि सरकारले अन्य निर्माण कम्पनीलाई समयमा काम नगरेको भन्दै कालो सूचीमा राखेको थियो।

रातमा पनि हुलाकी सडकमा काम

बारा – महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलामा आउने भक्तजनलाई ध्यानमा राखी वीरगन्ज–कलैया–बरियारपुर निर्माणाधीन हुलाकी सडकको निर्माण रातमा पनि भइरहेको छ। वीरगन्ज महानगरपालिकाको लक्षुमनवादेखि महागढीमाई नगरपालिकाको बरियारपुरको इनर्वा चोकसम्म लगभग १९ किमि हुलाकी सडक निर्माणाधीन अवस्थामा रहेको छ। सो सडक वीरगन्जबाट कलैया हुँदै गढीमाई मन्दिरसम्म पुग्ने एक मात्र सडक रहेको छ।

२०७४ असार ११ सम्ममा सम्पन्न गर्ने गरी स्वछन्द/पप्पु/हिम सगरमाथा जेभीले ८५ करोड ८५ लाख रुपैयाँमा सो सडक २०७४ पुस १२ मा हुलाकी राजमार्ग आयोजनासँग ठेक्का सम्झौता गरेको थियो। सो राजमार्गको निर्माण गढिमाईको मेलाअगाडि नै सम्पन्न गराउन हुलाकी राजमार्ग निर्देशनालय प्रमुख अशोक तिवारी नेतृत्वको टोलीले काठमाडौंबाट पटकपटक आएर निर्माण कम्पनीलाई ताकेता गर्दा निर्माण कम्पनीले सडकको बाँकी काम पूरा गर्न रात पनि नभनी काम गरेको बताइएको छ।

महिलालाई असुरक्षित सामाजिक सञ्जाल

२०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै थिइन् । आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा कहिले पानी पिउँथिन्, कहिले उठेर यताउता गर्थिन् । उनको अनुहारमा छोरीको भविष्यको चिन्ता प्रष्टै झल्कन्थ्यो ।

सामाजिक सञ्जालको प्रयोग मार्फत भइरहेका अपराधबाट पीडित भएका मध्ये ८० प्रतिशत माथि महिला छन्।

कथा २०७५ असारबाट शुरू हुन्छ । एकदिन बालाजुकी रमिला (नाम परिवर्तन) को मोबाइलमा अपरिचित युवकको फोन आयो । उनी थिए सिन्धुपाल्चोक मेलम्चीका तेजबहादुर विक । फोन वार्ता बढ्दै गयो, रमिला ती युवकसँग फोनमा घण्टौं गफिन थालिन् । कहिले सिन्धुली, कहिले पोखरा घर बताउने तेजबहादुर घरमै आउजाउ गर्न थाले । लामो बिमारीले थलिएर आठ कक्षा पढ्दापढ्दै स्कूल जान छाडेकी, घरबाहिर खासै ननिस्कने छोरीको अनुहारमा खुशी देखेपछि आमाबुबा पनि खुशी थिए । आमाबुबाको समेत समर्थन पाएपछि घुम्न जाने र केटासाथीलाई घरमै ल्याउन रमिलालाई समस्या भएन ।

२८ करोड लगानीमा चितवन पूर्ण विधुतीयकरण

चितवन – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यही आर्थिक वर्षमा देशका ४१ वटा जिल्लालाई पूर्ण विद्युतीकरण बनाउँदैछ। जसमा चितवनलाई पनि समावेश गरिएको छ। चितवनका सबै घरधुरीमा यही वर्षभित्र विद्युत् पु¥याइने तयारी अघि बढाइएको छ।

चितवनका सबै घरमा विद्युतीकरण गर्न मन्त्रालयले २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट चितवनका तीनवटा विद्युत् वितरण केन्द्रमार्फत काम अघि बढाइएको छ।

नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्र, टाँडी वितरण केन्द्र र चनौली वितरण केन्द्रमार्फत आ–आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा विद्युतीकरण गर्न लागेका हुन्। त्यसका लागि भरतपुर वितरण केन्द्रमा १२ करोड तथा टाँडी र चनौली वितरण केन्द्रमा आठ–आठ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्राप्त बजेटमा काम गर्नका लागि टेन्डर आह्वान प्रक्रिया अघि बढाइसकिएको भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए। जिल्लामा करिब ९० प्रतिशत घरधुरीमा विद्युतीकरण भइसकेको र नपुगेका ठाउँमा पु¥याउने काम थालनी भएको उनले बताए।

महिनावारीलाई पाप वा धर्मको रुपमा लिनु हुँदैन: मन्त्री मगर

काठमाडौं- खानेपानीमन्त्री बिना मगरले महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने बताएकी छन्।

मन्त्री मगरले महिनावारीलाई धर्मसँग जोड्ने दृष्टिकोणलाई परिवर्तन गर्न महिलासँग सम्बन्धित सबै सामाजिक संघ, संस्था र स्थानीय तहले अभियाननै संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन्। महिनावारीलाई  पाप र अछुतो भन्दापनि सम्मानसँग जोडेर हेर्नुपर्ने मन्त्री मगरको भनाइ छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मगरले सार्वजनिक विद्यालयहरुमा सेनेटेरी प्याड वितरण गर्ने सरकारको कार्यक्रमले महिनावारीलाई हेयको दृष्टिकोणले हेर्न नहुने सन्देश दिएको पनि स्पष्ट पारिन्।

मन्त्री मगरले महिनावारी बार्ने चलन सामाजिक कूरीतिको रुपमा रहेको उल्लेख गर्दै त्यसमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने पनि बताइन्।

नेपाली फिल्मको लोकप्रियता घट्दो

काठमाडौं – सामाजिक सञ्जाल युट्युबमा नेपाली फिल्महरू अपलोड गर्ने शैली विकसित हुँदै गर्दा यसको लोकप्रियता घट्दै गएको छ। हलमा फ्लप भएका नेपाली फिल्म सामाजिक सञ्जाल युट्युबमा धेरैले हेरेपनि नकारात्मक प्रतिक्रियाका कारण यसको लोकप्रियता बिस्तारै घट्दो रहेको युट्युब च्यानल सञ्चालकहरू बताउँछन्।

पछिल्लो समय फिल्म निर्माता र निर्देशकहरू फटाफट युट्युबमा नेपाली फिल्म अपलोड गर्दै पैसा कमाउन लागि परेका छन्। विभिन्न युट्युब च्यानल सञ्चालकहरूले फिल्म निर्माता र निर्देशकहरू पैसा दिएर फिल्म किन्ने संस्कृति बढ्दो छ। त्यसबाहेक सफल भनिएका फिल्म निर्माता र निर्देशकहरू आफ्नै च्यानल खोलेर फिल्म अपलोड गर्न आतुर देखिन्छन्।

युट्युब अधिकांश फिल्म अपलोड गर्ने हाइलाइट्स नेपालका अनुसार युट्युबमा राखिएका फिल्महरू हेर्ने दर्शक तुलनात्मक रूपमा घटेका छन्। ‘फिल्म अपलोड गरेको केही समयसम्म दर्शकको संख्या बढेजस्तो देखिएपनि अहिले युट्युबमार्फत् नेपाली फिल्म हेर्न दर्शक घटेका छन्, ’हाइलाइट्स नेपालका जनक तामाङले भने, ‘दर्शकलाई मन परेको कथावस्तु र गुणस्तर विज्ञापन आउने फिल्म युट्युबमा अपलोड भए चारदेखि पाँच लाखसम्म कमाउन सकिन्छ।’

सागमा सहभागी हुने खेलाडीहरुलाई विशेष सम्बोधन

काठमाडौं- नेपालमा आयोजना हुन लागेको १३औँ दशिक्षण एसियाली खेलकुद (साग)मा सहभागी खेलाडीहरुलाई विशेष सम्बोधन गरिएको छ। दक्षिण एसियाली सात राष्ट्रले सहभागिता जनाउने साग यहि मंसिर १५ देखी २४ गते सम्म आयोजना हुँदैछ। सागमा २६ खेल समावेश छन्। खेलका लागि विदेशबाट करिब ३ हजारभन्दा बढी खेलाडी र पदाधिकारी नेपालमा आउँदै छन्। सागका लागि भनेर प्रविधिक समितिले करिब २ हजार ३५ कर्मचार खटाउने निर्णय गरेको छ।

नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठले खेल र खेलाडीले राष्ट्रको पहिचान बनाउने भएकोले खेलमा कटिबद्ध भएर लाग्नु पर्ने बताए। उनले दक्षिण एसियाली खेलकुद नेपालमा ऐतिहासिक खेल हुन लागेको बताए। नेपालमा एसियाली खेलकुद आयोजना हुँदा सधै विषेश रहने गरेको र यो संस्करणमा पनि नेपालमा आयोजना हुने सागमा नेपाललाई विशेष सफलता मिल्ने उनको भनाइ छ।