कमल खत्री | १८ करोडको गाडी | सालीलाइ उपहार राजदूत |वाइडबडी भाडाको कि किनेको?

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक बुधवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

राष्ट्रपतिलाई कार किन्ने योजनाको चर्को विरोध
राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बुलेट प्रुफ’ सहितको विलासी गाडी किन्ने र उनको निवास विस्तार गर्न प्रहरीको तालिम केन्द्र सार्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।
अर्थ मन्त्रालयले राष्ट्रपतिको नयाँ कारका लागि १८ करोड रुपैयाँ निकासा गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मान्छेहरु खनिएका हुन्।
धेरै व्यक्तिले ट्वीटर र फेसबुकमा महंगो विलासी कार किन्ने सरकारी निर्णयको भर्त्सना गर्दै करदाताको पैसा दुरुपयोग नगर्न सचेत गराएका छन्।
अञ्जना शाक्य नयाँ राजदूत
सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर अञ्जान शाक्यलाई नयाँ राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।
यही कार्तिक २५ गते बसेको मन्त्रीपरिष्दको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी गराए। राप्रपाका नेता थापालाई प्रचण्डको प्रधानमन्त्रीकालमा राजदूत नियुक्त गरिएको थियो। त्यस्तैगरी अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको छ।
उनहरुलाई तीन साताको म्याद दिइएको छ। सरकारले त्यही दिन भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको छ।
वायुसेवा निगम उच्च वित्तीय जोखिममा
लामो समयदेखि ग्राउन्ड हेन्डलिङ (भूमिस्थ सेवा) को आम्दानीबाट बाँचिरहेको नेपाल वायुसेवा निगम नयाँ दुई जहाज खरिदसँगै उच्च वित्तीय जोखिममा पुगेको छ।
अर्बौं रुपैयाँ कर्जा लिएर खरिद गरेका दुई वाइड बडी जहाजलाई निगम व्यवस्थापनले पूर्ण क्षमतामा उडाउन नसकेपछि निगम वित्तीय जोखिममा पुगेको हो। आगामी दिनमा पनि निगमले व्यावसायिक योजनाअनुसार ठूला जहाजलाई उडाउन नसके निगमले आफ्नो सम्पत्ति बेचेर मात्र वित्तीय व्यवस्थापन गर्नुपर्ने अवस्था आउनेछ । अर्बौं रुपैयाँ ऋण लिएर किनेका जहाजलाई निगमले दैनिक १२ घन्टा पनि उडाउन सकेको छैन।
राष्ट्रियसभा सदस्य पासवान माथि कुटपिट
राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रवार उनकै गाउँमा कुटपिट भएको छ। कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो। उनी सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका थिए। छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उनले बताए। उनको शरीरमा चोट लागेको बताइएको छ।
मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक गरिने
परिपक्व नहुदैँ निर्णय सार्वजनिक भइदिँदा गलत सूचना प्रवाह भएको भन्दै मन्त्रिपरिषद्को हरेक निर्णय प्रत्येक बिहीबार सार्वजनिक गरिने भएको छ। सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकार र मन्त्रिपरिषद्सम्न्धी धारणा हरेक बिहीबार सार्वजनिक गर्ने जनाएका हुन्।
‘निर्णय परिपक्व नभई सार्वजनिक गर्दा गलत सन्देश प्रवाह भएकाले त्यसलाई सुधार गर्न सरकार गम्भीर भएको छ,’ प्रवक्ता बाँस्कोटाले भने, ‘मन्त्रिपरिषद् तथा सरकारसम्बन्धी धारणा अब हरेक बिहीबार सार्वजनिक गरिनेछ ।’ सो क्रममा हरेक मन्त्रालयका प्रवक्तासमेत उक्त पत्रकारसम्मेलनमा उपस्थित हुनेछन् भने पत्रकारले सोही क्रममा प्रवक्तासमेतसँग पनि जिज्ञासा राख्न पाइनेछ।
निर्मलाको हत्यारालाई सरकारले लुकायो स्देउवा
 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार हत्यारा र बलात्कारीको संरक्षणमा लागेका कारण देशमा दण्डहिनता मौलाउ“दै गएको बताएका छन्।
मंगलबार विराटनगरमा आयोजित प्रदेश स्तरिय नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा बोल्दै देउवाले सरकारले नै निर्मला पन्तको हत्यारालाई लुकाएको दाबी पनि गरे। देउवाले भने ‘सरकारले नै निर्मलाको हत्यारालाई लुकाएको छ।’
सरकारले चाहेको खण्डमा निर्मलाको हत्यारा पत्ता लगाउन केही बेर पनि नलाग्ने उनको भनाई छ। ‘हत्यारालाई कारवाही नै गर्न नचाहेका कारण जति दबाव दिएपनि सरकारलाई तातो लागेको छैन।’ उनले कम्युनिष्ट अधिनायकवाद विरुद्धको आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। देशमा कम्युनिष्ट शासकहरू अधिनायकवादतर्फ अघि बढीसकेको उनको दाबी छ।
अध्ययनका लागि अमेरिका जाने नेपाली १४ प्रतिशतले बढे
अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या यो वर्ष १४.३ प्रतिशतले बढेको छ। अमेरिकी शिक्षा तथा संस्कृति मामिला ब्युरो र अन्तरराष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम (आईआईई)ले गरेको अध्ययनले नेपाली विद्यार्थीको संख्या उल्लेख्य बढेको देखाएको हो।
अध्ययनले अमेरिकामा विद्यार्थी अपूर्ति गर्ने देशमा उत्कृष्ट २५ भित्र परेको जनाएको छ। उक्त अध्ययन अनुसार अमेरिकमा प्रमाणपत्र तह(अन्डर ग्र्याजुएट)का विद्यार्थी आपूर्ति गर्ने देशमा नेपाल १०औ स्थानमा परेको छ।
 सन २०१८मा १३ हजार २७० जना नेपाली अध्ययनका लागि अमेरिका पुगेको रिपोर्टमा औल्याइएको छ।
पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग
संघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ । संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुईवटा एक करोड रुपैयाँभन्दा बढीका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको छ । माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी खरिद गर्न लागिएको हो । स्कारर्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद् सचिवालयले जनाएको छ।
इपिएलको खेलतालिका सार्वजनिक
एभरेस्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्सले ललितपुर प्याट्रियोट्सको सामना गर्ने भएको छ।
सोमबार आयोजक इपिएल प्राइभेट लिमिटेडले मंसिर २२ बाट सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । दोस्रो दिनको पहिलो खेलमा ललितपुरले चितवन टाइगर्सको सामना गर्नेछ भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजको सामना गर्नेछ।
पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । जसको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि तेस्रो र चौथो स्थानको टोलीबीच हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।