छवि – शिल्पा काण्ड उत्कर्षमा (घाटी समेत थिच्न आउनुभयो)

भारतको पत्रबारे झुक्याइयो, जनतासँग लज्जित छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताएका छन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूताबासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण आफूले नेपाली जनताको सामू लज्जित हुनु परेको उल्लेख गर्दै माफी समेत मागे।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनताको सामू पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनु परेको पनि स्पष्ट पारे। ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ, प्रधानमन्त्री ओलीको भनाई थियो, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनु पर्‍यो, त्यसप्रति क्षमाप्रार्थी छु ।’

विप्लव समूहसँग सरकारले थाल्यो वार्ता

सरकारले विप्लव समूहको पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनापछि औपचारिकरूपमै वार्ता सुरु गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक यसै हप्ताको आइतबार औपचारिक छलफल भएको हो ।

विप्लव राजनीतिको मूलधारमा आउनुको विकल्प नभएकाले वार्तामा बसेको वार्ता टोलीले बताएको छ। सरकार र प्रतिबन्धित पार्टीबीचको छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ ।

सरकारी टोलीको प्रतिनिधित्व गरेका तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले प्रारम्भिक चरणकै छलफल निकै सकारात्मक बनेको बताए। मंगलबार पाल्पामा भेटिएका पाण्डेले आफूहरू औपचारिकरूपमै बृहत्तर छलफलमा जुटेको बताए।

‘मिसन पत्रकारिताले हैरान बनायो’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाउन केही सञ्चारमाध्यमले मिसन पत्रकारिता गर्न थालेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदा जमिनमा ओछ्याइएको रातो कार्पेटबारे सञ्चारमाध्यमहरूले प्रकाशन गरेको समाचारलाई लिएर प्रधानमन्त्रीले मिसन पत्रकारिताबाट आफू हैरान भएको बताएका हुन्।

पानीले भिजेको रातो कार्पेटलाई सञ्चारमाध्ययमले ठूलो समाचार बनाउनु मिसन पत्रकारिता भएको र यसले सरकारविरुद्ध भ्रम सिर्जना गरेको उनको भनाइ थियो। ‘म प्रधानमन्त्री भएको एक वर्ष भयो,’ उनले भने, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु।’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै उनले भने, ‘धन्य छ मिसन पत्रकारिता।’

 

कांग्रेसलाई सरकारको प्रश्नः दिनभरि विपी, रातभर विप्लव हो?

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहको हिंसाको पक्षमा वकालत गरेर सरकारलाई खेद्ने काम नगर्न प्रतिपक्षी कांग्रेसलाई चेतावनी दिएका छन्।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले हिंसा भइरहेको कुरालाई नदेखेर सरकारलाई खेद्ने काम अनुचित भएको टिप्पणी गरे। ‘सत्ता गुमेको पीडामा कांग्रेसले यतिसम्म गर्न हुदैन्थ्यो। सरकालाई अप्ठेरो गर्ने काम नगरौं। भद्रगोल सिर्जना नगरौं’, मन्त्री बाँस्कोटाले भने।

‘हामीले प्रमुख प्रतिपक्षीलाई हिंसाका बारेमा पनि कन्भिन्स गराउँदै गयौं भने नेपाली कांग्रेसले उठाउँदै गरेको चार तारामध्ये एक शान्तिको तारो लोकतन्त्र र स्वतन्त्रताको तारो कहाँ गयो भनेर खोज्नुपर्ने हुन्छ’, बाँस्कोटाले थपे।