निर्मला हत्यामा प्रहरीबाट लापरवाही भएको छ, दोषीलाई कारवाही हुन्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले जनताको सुरक्षाका लागि गृह प्रशासनले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले एकाध घटनासँग जोडेर प्रहरी प्रशासनको इमान्दारी र निष्ठाप्रति उठाइएको प्रश्न जायज नभएको बताए। मन्त्री थापाले भने, “लागूऔषधको कारोवार, मदिरा सेवन र अश्लील वेबसाइटले महिला हिंसा र बलात्कारको घटना वृद्धि गराउन सहयोग गरेको छ, यसलाई नियन्त्रण गर्न जनता, नागरिक समाज र सरकारका निकायले वडा तहदेखि नै सशक्त रुपमा अभियान चलाउनुपर्छ।”

समाजमा देखिएका यावत् विकृतिजन्य घटना नियन्त्रण गर्न परम्पराभन्दा माथि उठेर नीति, नेतृत्व र संरचनामा व्यापक सुधारको खाँचो रहेको बताउँदै उनले कञ्चनपुरकी निर्मला पन्तको हत्याको घटनामा संलग्न दोषीलाई यथाशक्य छिटो कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण जसरी अनुसन्धान अघि बढ्नुपथ्र्यो त्यो हुन नसकेको स्वीकार्दै गर्दै गृहमन्त्री थापाले भने, “सामन्ती सोच र पूँजीवादको उपजका रुपमा यस्ता घटना हुने गर्छ। अपराधलाई राजनीतिकीकरण तथा राजनीतिलाई अपराधीकरण गर्न हुँदैन, अपराध नियन्त्रण गर्नु हामी सबैको साझा दायित्व हो।”

पन्तको हत्यासम्बन्धी प्रहरीले तयार गरेको मुचुल्कामा भारतमा रहेका उनका बाबुको पनि सहीछाप परेको भनी प्रहरीबाट कागज तयार गरिएको घटनालाई अनुसन्धानमा गम्भीर त्रुटिका उदाहरणका रुपमा लिँदै गृहमन्त्रीले समितिलाई त्यसबारे जानकारी दिएका थिए।