दाहालको दिल्ली दौड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरे। चार दिने भ्रमणको क्रममा उनले त्यहाँ राजनीतिक भेटघाट मात्र गरेनन्, बौद्विक कार्यक्रममा पनि सहभागि भए। सुरुकै दिन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग डिनर मिटिङ गरेका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटे। डोभाल छिमेक नीति र सुरक्षाको विषयमा निर्णायक मानिन्छन्।
आइतबार स्वदेश फर्कँदै गर्दा उनले त्रिभुवन विमानस्थलमा यस प्रकारको उच्चस्तरीय भेटघाट कमै हुने भन्दै प्रतिक्रिया दिए। उनको ‘वडि ल्यांग्वेज’ले पनि भ्रमण र त्यसको उपलब्धिमा उनी सन्तुष्ट छन् भने देखाउँथ्यो। दाहालले विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंह र कम्युनिष्ट पार्टीका नेताहरुलाई समेत भेटेर भ्रमण सन्तुलन राख्ने प्रयास गरे। कतिपयले दाहालको भ्रमणलाई ‘शक्ति आर्जन’ को समेत संज्ञा दिएका छन्। तर नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल भने यसलाई अस्वीकार गर्छन्। नागरिक न्यूजको संवादमा बोल्दै उनले शक्ति आर्जन गर्न छिमेक धाउन नपर्ने बताए। तर दाहालको भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनका निकटतमहरु झस्किएको देखिन्छ। दाहाल भारत भ्रमण लगत्तै चीन जाने कार्यक्रम छ। दाहाल सचिवालयका अनुसार उनी असोज १ गते चीन जाने कार्यक्रम छ। अन्यकुरा यथावत रहेमा दाहालले भारत भ्रमण गरेको हप्तादिन भित्रै उत्तरी छिमेकमा समेत उच्चस्तरीय भेट गर्नेछन्।
भारत भ्रमणमा कुनै राजनीतिक एजेण्डा नभएको बताए पनि नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका प्रतिबद्धता स्मरण गराउन मात्र दाहालले चार दिन दिल्लीमा पक्कै विताएनन्। उनले प्रधानमन्त्री ओलीले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई समेत अन्तरक्रिया कार्यक्रममा पटक पटक उच्चारण गरेर ओलीलाई समेत सन्तुलनमा राख्ने प्रयास गरे।
भारत भ्रमणबाट फर्किएको भोलीपल्ट सोमबार दाहाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटर पुगे। उनीहरुले त्यहाँ भ्रमणको समिक्षा गरेको भन्दै दाहालको नीजि वेभसाइटमा समाचार प्रकाशन भयो। त्यहाँ भनिएको छ, ‘ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको चार दिने भारत भ्रमण सफल भएको समिक्षा भएको छ। आज बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच प्रम निवास बालुवाटारमा भएको बैठकमा यस्तो समिक्षा भएको हो।’
नेपालको राजनीतिक वृतमा केही न केही गरिरहने नेताको रुपमा दाहालको छवी छ। उनी राजनीतिकमा शान्तरुपले बस्दैनन्। तर पार्टी एकतापछि प्राय: मौन देखिएका दाहाल एक्कासी सक्रिय भएका छन्। त्यो पनि दुई छिमिकीको भ्रमणसँगै।
पार्टीका तल्ला कमिटीहरुको समायोजन हुन सकिरहेको छैन। जिल्ला तहमा पनि एकतापछिको समायोजनमा विवाद देखिएको छ। पूर्व माओवादीलाई पाखा लगाउन खोजिएको भन्दै माओवादी वृत्तमा असन्तुष्टि छ। जनवर्गीय संगठनहरुको समायोजनले पनि पूर्णता पाएको छैन। यही समय दाहालको सक्रियतालाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ।