लिङ्ग परिवर्तित सुरेन्द्र न्याय माग्दै काठमाडौँमा

कालिमाटीपछिको ठूलो बुटवलको विषादी प्रयोगशाला पनि बन्द

रुपन्देही– २०७४ साल भदौदेखि सञ्चालनमा आएको बुटवलस्थित विषादी प्रयोगशाला कर्मचारी नहुँदा बन्द भएको छ। कालिमाटीपछिको दोस्रो ठूलो भनिएको बुटवल कृषि उपज थोक बजारभित्र सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाई दुई महिनादेखि बन्द भएको हो।

प्रयोगशालामा तरकारी तथा फलफूलको विषादी परीक्षण हुँदै आएको थियो। ८ महिनादेखि आंशिक परीक्षण हुँदै आएकोमा दुई महिनादेखि भने प्रयोगशाला पूर्ण रुपमा बन्द भएको हो। यो ईकाइमा थोक बजारभित्र आएका तरकारी र फलफूलको विषादी परीक्षण नियमित हुँदै आएको थियो।

बाल यौन दुराचार: क्यानेडियन नागरिक पिटरलाई नौ वर्ष जेल

काठमाडौं- बाल यौन दुराचारको आरोपमा थुनामा रहेका एक क्यानेडियन नागरिकलाई जिल्ला अदालतले ९ वर्षको जेल  सजाय सुनाएको छ। ६१ वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिसलाई जिल्ला अदालत काभ्रेले ९ वर्षको जेल सजाय सुनाएको हो।

विशेष सूचनाको आधारमा २०७४ चैत्र अन्तिम साता काभ्रेपलाञ्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट पिटर पक्राउ परेका थिए। बन्धक बनाइ राखेका १२ र १४ वर्षका २ नेपाली पीडित बालकलाई समेत प्रहरीले उद्दार गरेको थियो।

ढलको निकास थुनिँदा बस्ती डुबानमा

नेपालगन्ज – ढल तथा नालाको निकास थुनिँदा नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडा मंगलबार डुबानमा परेका छन्। ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगन्ज–१० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ।
न्युरोड हुँदै बागेश्वरी मन्दिर भएर बग्ने र सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य ढलको निकास थुनिँदा बस्ती डुबानमा परेको हो। उक्त ढल उपमहानगरपालिकाले एकीकृत सहरी विकास आयोजनामार्फत् एसियाली विकास बैंकको ऋण/अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको थियो।

ठेकेदारले अधुरो छाडेको उक्त नालामा झारपात उम्रिएर निकास थुनेपछि पानी बग्न नपाएर बस्ती डुबान गरेको स्थानीय शंकर ठकुरीले बताए। ‘नालामा उम्रेको झारपातले बग्ने पानी जाम गरेको छ,’ उनले भने। उक्त नाला घुमाउँरो हिसाबले बनेको छ। नालाको अगाडितिर निकास थुनिँदा घुमेर बग्न नसकेको पानी बस्तीतिर छिरेको हुन सक्ने स्थानीयको अनुमान छ। नाला निर्माणका क्रममा उपमहानगरपालिकाले ध्यान नपु-याउँदा अहिले समस्या बल्झिएको उनीहरुले बताएका छन्।

जबरजस्ती लिङ्ग परिवर्तन गरेर युवती बनाइएका सुरेन्द्र न्याय माग्दै काठमाडौंमा

काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह मालले भारतमा कार्यरत रहँदा जबरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउनेमाथि कारवाहीको माग गर्दै राजधानी काठमाडौं आएका छन्।

जिल्लामा न्याय नपाएपछि उनी काठमाडौं आएका हुन्। उनले मंगलबार रिपोटर्स क्लबमा आफ्ना बुवाको साथमा पत्रकार सम्मेलन गरेर न्याय र बाँच्न पाउने आधार दिन आग्रह गरे।

नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफूलाई अहिलेको हालतमा पुर्याएको उनको भनाई छ। उनले भने, ‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे।’

बिल बढाउँदै भुक्तानी लिँदै

रोल्पा – आर्थिक वर्ष सकिनै लाग्दा रोल्पाका केही कर्मचारी र केही जनप्रतिनिधिलाई बिल बनाउन भ्याईनभ्याई छ। कर्मचारीले खरिद गरेको सामानको दुई गुणा बिल बढाउनेदेखि जनप्रतिनिधि उपभोक्ता समितिका बिल तयार गर्न हतारोमा भेटिन्छन्।

दैनिक उपभोग्य सामग्रीका पसलदेखि होटल, स्टेशनरी, इलेक्ट्रिक र कम्प्युटर पसलहरूमा खाली पान बिल माग्ने वा त्यहीँ बनाउने चलन पुरानो भने होइन। ‘बिल बढाउनका लागि जिल्ला बाहिर पुगेर खरिद गरिन्छ,’ रोल्पा उद्योग वाणिज्य संघ अध्यक्ष विश्वकुमार चन्दले भने, ‘बिल बढाउने काम जिल्लामा मात्राका हिसाबले थोरै छ, कमिसन नदिने हो भने पसलमा सामान नै किन्दैनन्।’

जिल्लामा प्राय स्थानीय तह, एनजिओ, आइएनजिओ, सरकारी सबै कार्यालयले बिल बढाउने गरेको उनको भनाइ छ। ‘यो सिस्टममा नआउनुको परिणाम हो, पटक्कै राम्रो भएको छैन,’ उनले भने, ‘सरोकारवालाले अनुगमनमा जोड दिनुपर्छ।’

नेविसंघले भन्योः सडकबाटै सरकार ढाल्छौं

काठमाडौं – आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई दबाब दिएको छ।

नेविसंघले मंगलबार काठमाडौंको प्रमुख जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा सो निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ।

नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जनतालाई तरकारी र फलफूलसँगै विष सेवन गराएर मार्ने सो निर्णय तत्काल खारेज नभए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिए। त्यस अवसरमा नेविसंघले सरकारले भारतको दबाबमा सो निर्णय लिएको दाबी गर्दै व्यंग्यस्वरुप प्रधानमन्त्री ओलीलाई विषादीयुक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत् उपहार पठाएको छ।

नेपाली कामदार लैजान नपाएपछि बंगलादेशबाट कामदार लिने अन्तिम तयारीमा मलेसिया

काठमाडौं– पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ। आगामी अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने  मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म कामदार लैजान नपाएपछि मलेसियाका विदेशमन्त्री साइफुद्दीन अब्दुलाह बन्द रहेको बंगलादेशबाट कामदार लिने विषयमा छलफल गर्न बंगलादेश आइपुगेका छन्।

मलेसियालि विदेशमन्त्री साइफुद्दीनले बंगलादेशी कामदारका लागि गतवर्ष डिसेम्बरदेखि बन्द रहेको मलेसियाको ढोका अगष्ट महिना भित्रै खुल्ने आशा व्यक्त गरेकोको भनाइ उदृतगर्दै बंगलादेशका संचार माध्यमले भनेका छन्- ‘विदेशी कामदार आपूर्ति गर्ने विषयमा प्रधनमन्त्री महाथिरले नै एउटा प्रक्रियाको नेतृत्व गरिरहनु भएको छ। मलाई लाग्छ त्यहि नेतृत्वले कामदार आपूर्तिको विषयमा भविष्यमा थप निर्णय गर्नेछ। बंगलादेशकालागि एउटा नयाँ अवसर खुल्दैछ।’

गृहमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएपछि कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

काठमाडाैँ – गृहमन्त्री राम बहादुर थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले संसद बैठक अवरुद्ध गरेका छन् ।

पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री थापाले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै सासदहरुले संसद अवरुद्ध गरेका हुन् । गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेकोभन्दै सोही क्रममा सर्लाहीको घटना  भएको स्पष्ट पारे।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको दावी गरे ।

विषादीबारे मन्त्री यादवकाे प्रष्टीकरणः तीन सचिवले डुबाए

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन्। सोमबार अपरान्ह मन्त्री यादवले पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको बताएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका तीन जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ। मन्त्री यादवले सो निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पारे। उनले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराए।

अण्डाको मूल्य बढ्यो, किसानको लागत अझैं पुगेन

चितवन – कुखुराको अण्डाको मूल्य  वृद्धि भएको छ। अण्डाको मूल्य बढे पनि लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन्। प्रतिक्रेट २००रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य अब २८० रुपैयाँ पुगेको छ। सानो अण्डाको मूल्य ११५ रुपैयाँबाट बढेर २३० रुपैयाँ पुगेको छ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्दछ। बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ। हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ। यो सङ्ख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको कँडेलको भनाइ छ। अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन्। यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ।