सबै लुट्यो दलालले

विदेशिने धेरै नेपालीका सपना उस्तै हुन्छन् । गन्तव्य पनि उहिं हुन्छ । अनि जाने बाटो पनि एउटै । तर, त्यहि बाटोमा दलालले बिछ्याएका जालहरु भने अनगिन्ती हुन्छन् । त्यहि भएर विदेश गएर धन कमाउला भन्ने सपना देखेका अधिकांश नेपाली दलालको चंगुलमा परेर ठगिन्छन् । फरक यति हो कोहि यहि ठगिन्छन कोहि विदेश पुगेर । कोहि ठगीएपनि विदेश पुग्न पाउछन् । तर केहीको सपना भने विदेश नपुगी टुक्रिन्छ । विदेशिने नाममा नेपालमै ठगिएका नेपालीको कथा डलरको कथाको दोस्रो श्रृंखला:

दलालको जालमा परेपछि या विदेशजाने सपनाले नेपालमै ठगिएका केहीका कथा व्यवथा मात्र हुन् यी त । गरिवी,अशिक्षा,बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन,कोहि आफन्त बाटै ठगिन्छन कोहि भने आखाँ चिम्लेर कसैलाई विश्वासगर्दा फस्छन् । वैदेशिक रोजगार सम्बन्धी पर्याप्त जनचेतनाको अभावमा सयौ नेपालीको लाखौ पैसा डुबेको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका छन् । ति १ हजार १ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै असुल गरिदिन विभागमा उजुरी गरेका छन् । जस मध्ये १५ करोड २४ लाख ४५ हजार रकम विभागले असुल उपर गराईदिएको छ भने १ सय ९१ जना बिरुद्द अदालतमा मुद्दा नै दर्ता गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ को पहिलो ३ महिनामा मात्र १५ करोड भन्दा बढी ठगिएको भन्दै २ सय ७८ जनाले विभिन्न व्यक्ति बिरुद्द उजुरी दर्ता गराएका छन् ।