रवि लामिछानेको द लिडर को लागि म योग्य: डा. सुरेन्द्र केसी

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

काठमाडौं – पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज़ मुशर्रफ़लाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहौर हाइकोर्टले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्।

बीबीसीकाअनुसार उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो।

चेक काण्डमा पूर्व रजिष्ट्रार श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा आरोप पत्र दायर गरेको छ।

मिलेमतोमा विल भरपाई नराखी एवं भौचरसमेत नउठाई चेकमार्फत प्रतिष्ठानको खाताबाट ५ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट खुलेको जनाउदै अख्तियारले मंगलबार पूर्व रजिष्ट्रर श्रेष्ठसहित चारविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले पुर्व रजिष्ट्रचारसँगै प्रतिष्ठानको आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल र क्लर्कद्धय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध पनि अदालतमा आरोप पत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरु बहालवाला पदाधिकारी एवं कर्मचारी भए स्वतः निलम्बनमा पर्ने अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए। ‘अनुसन्धान पश्चात बिशेष अदालतमा आरोपपत्र दायर गरिएको हो, बहालवालाको हकमा स्वतः निलम्बनमा पर्छन्,’मोवाइल सम्पर्कमा प्रवक्ता कोइरालाले भने।

उपप्रमुख कै नेतृत्वमा कलैया उपमहानगरपालिकामा तालाबन्दी

बारा-  उपप्रमुखको नेतृत्वमा कलैया उपमहानगरपालिकामा मंगलवार तालाबन्दी गरिएको छ। उपप्रमुख रहिनमा खातुन नेतृत्वमा रहेका केही वडाध्यक्षको टोलीले १३ सुत्रीय माग राखेर उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।

क्यान्सर रोगबाट ग्रसित रहेका वडा नम्बर ५ का वडाअध्यक्ष रामअयोध्या मण्डललाई कार्यपालिका बैठकबाट  ५ लाख उपचार खर्चको लागि सहयोग गर्ने निर्णय भए पनि सहयोग रकम नदिएको कारणले तालाबन्दी गर्नु परेको उपप्रमुख रहिमा खातुनले बताईन।

आर्थिक सहयोग दिनमा ढिलाई गर्नुका साथसाथै अन्य कामहरुमा समेत अपारदर्शिता रहेकोले १३ सुत्रीय माग सहित विरोध स्वरुप नगरपालिकामा तालाबन्दी गर्नु परेको उपप्रमुख खातुनले बताईन।

घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक र उप-प्रशासक पक्राउ

काठमाडौं- गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

 काठमाडौं महानगरपालिका १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस लिएको र फिर्तासमेत गरेको भन्ने सूचना एवं प्रमाणको आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

सभामुख चयन प्रक्रिया छिटो टुंग्याउन दवाब

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ।

२९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताए। ४ गते संसद आह्वान भएको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको उनको भनाई छ। नेता रावलले पार्टी भित्र देखिएका गुट उपगुटहरु अन्त्यगरी केन्द्रीय कमिटी बैठकसम्म सबै एकरुप भएर अगाडी बढ्नुपर्ने धारणा सदस्यहरुले राखेको बताए।

मंगलबारको बैठकमा २ जना आमन्त्रित सदस्यसमेत गरी १४ जनाले आफ्नो विचार राखेका थिए। अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनमाथि सदस्यहरुले आलोचनात्मक टिप्पणी राखेको प्रवक्ता नारायणकाजी श्रेठले बताए। बैठकमा उठेका कतिपय विषयहरुमा बैठकपछि पनि छलफल गर्न सकिने विचार व्यक्त भएको उनले बताए।

विद्या भट्टराईले लिइन् सांसद पदको शपथ

काठमाडौं – प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सपथ लिएकी छन्। मंगलबार संसद सचिवालयमा आयोजित कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसमक्ष पद तथा गोपनियताको शपथ लिइएकी हुन्।

नेकपाबाट उम्मेदवार बनेकी भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित भएकी थिइन्। कास्की–२ बाट जितेपछि मन्त्री भएका रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सोही क्षेत्रमा अधिकारीपत्नि विद्यालाई उम्मेदवार बनाइएको थियो।

मधेसमा शीतलहर, जनजीवन प्रभावित

लहान – प्रदेश २ का जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरी जसो कुहिरो लाग्नाले एक्कासी बढेको चिसोले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिरहा सप्तरीलगायतका जिल्लाहरुमा कुहिरोसंगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको हो।

११ महिनामा साढे १३ लाख पर्यटक लुम्बिनीमा

भैरहवा – प्रदेश ५ सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारले मनाउने संघारमा रहेको नेपाल भ्रमण वर्ष २०२० ले लुम्बिनीमा पर्यटक आगमन अपेक्षा अनुसार बढ्न सकेको छैन। लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको ११ महिनामा (जनवरी देखि नोबेम्बरसम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या खासै नबढेको देखिएको छ।

गत वर्ष यही अवधिसम्म तेस्रो मुलुकका एक लाख ५१ हजार सात सय ३७, नेपालका १० लाख ४३ हजार ४५ र भारतका एक लाख ७६ हजार ६ सय ४४ गरी जम्मा १३ लाख ५६ हजार नौ सय ९३ पर्यटकले लुम्बिनी भ्रमण गरेको भए पनि यस वर्ष दुई तहका सरकारका अभियान भए पनि हालसम्म १३ लाख ८१ हजार आठ सय ६९ पर्यटक यस वर्षको नोभेम्बरसम्म लुम्बिनी आएकोे लुम्बिनी विकास कोषले जानकारी दिएको छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा भ्रमण गर्ने विदेशी, भारतीय र नेपाली पर्यटकको संख्या गत वर्षको तुलनामा खासै बढ्न सकेको छैन। लुम्बिनी भ्रमणमा आएका पर्यटकको बसाइँ अवधि लम्ब्याउन नसकिरहेको अवस्थामा पर्यटक आउने क्रम पनि त्यति उत्साहजनक देखिएको छैन।

मन्त्रीबाटै ‘एमसिसी’ को विरोध

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा भएका कतिपय बुँदा र प्रावधान संशोधन गर्नुपर्ने बताएका छन्। आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा सोमबार भट्टराईले त्यसमा भएका कतिपय प्रावधानले अन्योल जन्माउन खोजेको र त्यसमा उल्लेख भएका सर्त र प्रावधानसहित जस्ताको जस्तै संसद्बाट पास भए दीर्घकालीन रुपमा सरकार र पार्टीलाई समेत हित नगर्ने बताएका हुन्।

‘पार्टीको स्थायी कमिटी बैठक बसेको छ। यो विषयमा गहन रुपले छलफल होस्, एससिसी स्वीकार गर्दा नेपालले तयार पार्ने परियोजनाको हितमा होस्, नेपालको असंलग्न नीतिविपरीत पनि नहोस्’, मन्त्री भट्टराईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने। उनका अनुसार बैठकमा एससिसीको विषय मन्त्री भट्टराईले नै प्रवेश गराएका थिए। एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य प्रभाव विस्तार गर्न अमेरिकाले सञ्चालन गरिरहेको ‘इन्डो प्यासिफिक रणनीति’ अन्तर्गतकै एमसिसीको परियोजनामा उल्लेख गरिएका बुँदालाई संशोधन गरेर मात्रै अघि बढाउन भट्टराईले जोड दिएका थिए। बैठकमा सोमबार बोलेका १२ जनामध्ये भट्टराईसहित तीनजनाले एमसिसीअन्तर्गतका कार्यक्रम संसद्बाट पारित गर्दा त्यसका उल्लेख गरिएका प्रावधान तथा सर्त संशोधन गर्नुपर्ने बताएका थिए।

कांग्रेस विवाद सहमतितर्फ

काठमाडौं – नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले संस्थापन पक्षसँग केन्द्रीय समिति बैठक बाहिर नै सहमतिमा पुगेपछि मात्र बैठकमा सहभागी हुने निष्कर्ष निकालेका छन्। महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा आइतबार साँझ नेता रामचन्द्र पौडेलसहितको बैठकले महाधिवेशनको कार्यतालीकसहित सबै विषयमा सहमतिपछि मात्र बैठकमा सहभागी हुने निष्कर्ष निकालेका हुन्। ‘केन्द्रीय समितिबाहिर एउटा समझदारी नभई फेरि बैठकमा सहभागी हुने र त्यहाँ विवाद गर्नुभन्दा पहिला नै निष्कर्षमा पुगेर मात्र सहभागी हुने समझदारी बनेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीभित्र देखिएका समस्याका विषयमा सिद्धान्तत एउटा खालको कुरा भएको छ, त्यसलाई व्यवहारमा ढाल्न बाँकी छ।’

सोमबारको केन्द्रीय समिति बैठकअघि दुवै पक्षबाट छलफलमा खटिएका नेताहरूबीच कुराकानी हुने र एउटा टुंगोमा पुग्ने नेताहरूको बुझाइ छ। ‘कार्यतालिका, समान्नजनक सहभागितासहित चारै कुरामा न्यायोचित टुंगोमा पुग्ने प्रयास भइरहेको छ,’ एक नेताले भने, ‘एउटै पार्टीभित्रको कुरा हो, तलमाथि भइहाल्छ, नमिल्ने भन्ने कुरा छैन।’

मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु

खोटाङ- खोटाङको दिक्तेलमा नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको छ। १ नम्बर प्रदेशभित्रका खेलाडीलाई जमघट गराएर धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी दिँदै नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको हो।

दिक्तेलको माटिकोरेमा नौ वर्ष लगाएर निर्माण गरिएको कबर्डहलमा मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले पानसमा बत्ती बालेर व्याडमिन्टन प्रतियोगीता उद्घाटन गरेका हुन्। आगामी पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा प्रथम स्थान प्राप्त टिमलाई नगद १ लाख ५१ हजार, दोश्रो हुने टिमले ८१ हजार र दुई सेमीफाइनलिष्ट टिमलाई ४१/४१ हजारका सामाथ मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ।

रविले गरे बाबाको लाइफ ड्यामेज

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा असहमति राखेका छन्। आइतबार बसेको नेकपाको सचिवालय बैठकको विषयमा नेता नेपालले लिखित असहमति राखेका हुन्।

मंगलबार बसेको सचिवालय बैठकमा नेता नेपालले लिखित रुपमा ७ बुँदे असहमति राखेका हुन्।

सांसदको प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन? सिंगापुर नै जानुपर्ने?

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको स्वास्थ्य उपचार नेपालमै गर्नसकिने व्यवस्था मिलाउन माग गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सुवालले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग प्रश्न गरे, ‘के प्रधानमन्त्रीको स्वास्थय उपचार गर्ने क्षमता भएको अस्पताल नेपालमा छैन र? सिंगापुर नै जानुपर्ने?’

लोकसेवाको विज्ञापन समावेशी नै छः पण्डित

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन तत्कालिन अवस्थामा समावेशी भएको दाबी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिदै उनले आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका हुन्।

उनले लोक सेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालिन कानुन अनुकुल रहेकाले रद्द गर्नुनपर्ने स्पष्ट पारे। उनले भने ‘अहिले गरिएका लोकसेवा आयोगको विज्ञापन तात्कालिन स्थितिमा समावेशी छ। लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालिन कानुनी व्यवस्था अनुकुल भएकाले रद्द गरिहनु पर्ने आवश्यकता छैन्।’

पुडासैनी र रवी लामिछाने प्रकरणमा सत्तारुढ सांसद आक्रोशित, प्रतिपक्षी सांसद बोलेनन्

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या र रवी लामिछानेको गिरफ्तारी प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले आक्रोश व्यक्त गरेका छन्। यो प्रकरणलाई नेकपाकै सांसद महेश्वरजंग गहतराजले आइतबारको प्रतिनिधिसभा बैठकमार्फत संसदमा प्रवेश गराएका थिए। हालसम्म यो प्रकरणमा नेकपाका पाँच सांसद बोलेका छन्। जसमा अधिकांश रवी लामिछानेका समर्थकप्रति आक्रोशित देखिएका छन्। प्रतिपक्षी नेपाली कांग्रेस र राजपाका सांसद भने यो प्रकरणमा अहिलेसम्म बोलेका छैनन्।

रवि लामिछानेसहित तीन जनालाई फेरि ५ दिन हिरासतमा राख्न आदेश

काठमाडाैं- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनका लागि पक्राउ गरिएका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ। मंगलबार जिल्ला अदालत चितवनले लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता भन्ने रूकु कार्कीलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

ओलीलाई सुझावः मेरो सरकार ढल्छ, पद जान्छ कि भन्ने हिसाबले छिमेकीसँग सम्बन्ध नराख्नुस्

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले छिमेकीसँग सम्बन्ध राख्दा भयमुक्त हुन सरकारलाई आग्रह गरेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले सरकार ढल्ने र पद जाने भयले छिमेकी र मित्र राष्ट्रसँग सम्बन्ध नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए।

‘मित्र राष्ट्रसँग सम्बन्ध राख्दा मेरो सरकार ढल्छ वा मेरो पद जान्छ कि भन्ने हिसावले सम्बन्ध नराख्नुस्। छिमेकी कमजोर भयो भने अर्को छिमेकीलाई पनि असर पर्छ। यसमा सरकारको ध्यानाकर्षण गराउँछु। हामी असल छिमेकी भएर अघि बढ्नुपर्छ’, उनले भने।

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएकाे  साहका प्रेस सल्लाहकार निभेष कुमारले जानकारी दिए।

सुरूमा स्थायी कमिटीमा राख्ने सहमति भएकाे थियाे। प्रेस सल्लाहकार निवेषले नागरिकसँग भने, ‘स्थायी समितिमा राखिएन। एकता अघि बढाउन भनेर केही भन्नु भएन। प्रदेश कमिटी बनाउदा पनि सल्लाह भएन। रहेक ठाउँमा नेतृत्वबाट अहयाेग भयाे।’ पार्टी नेतृत्वले चातर्फी घेराबन्दी गरेपछि उहाँले राजिनामा दिनुभएकाे हाे।’  यद्यपि राजीनामा भने अहिलेसम्म स्वीकृत भइसकेको छैन।

श्रम मन्त्रालयले भन्याे- श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नू

काठमाडाैं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य सेवा सुविधा इमान्दारिताका साथ उपलब्ध गराउन आग्रह गरेको हो।

मन्त्रालयले श्रम कानूनले निर्दिष्ट गरेको सेवा सुविधा तथा न्यूनतम पारिश्रमिकलगायत अन्य वित्तीय सुविधा उपलब्ध नगराउने प्रतिष्ठानमाथि कारवाही गरिने बताएको छ। सरकारले २०७५ साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ तोकेको छ । रोजगारदाताले उक्त पारिश्रमिकभन्दा कम नहुने गरी र श्रम ऐन तथा नियमावली र प्रचलित कानूनबमोजिम श्रमिकले खाइपाइ आएका अन्य सुविधालाई पनि सुनिश्चित गराउन मन्त्रालयले आग्रह गरेको छ।

नियमित प्रशिक्षणमा प्याराग्लाइडिङ खेलाडी

पोखरा – पोखरामा केही सातायता सडक नै हिलाम्मे हुने गरी झरी परेको छैन। बिहानदेखि खुलेको आकाश साँझसम्म नीलै देखिन्छ। आकाशभन्दा मुनि डाँडाभन्दा माथि भने रंगीविरंगी प्याराग्लाइडिङ उडिरहेका देखिन्छन्। एकल र व्यावसायिक उडान भइरहेको छ। वर्षे सिजन भए पनि उडान रोक्ने पानी परेको छैन। आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङका खेलाडीहरू नियममित उडान भर्दै प्रशिक्षण लिइरहेका छन्।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म महिला र पुरुष गरी २८ जना पाइलट नियमित प्रशिक्षणमा छन्। सराङकोट र कास्कीकोटको तोरीपानी डाँडाबाट उडान भर्दै फेवातालको किनारमा अवतरण गर्दै प्रशिक्षणमा व्यस्त छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एवं १८औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएका प्याराग्लाइडिङका खेलाडीहरू यति बेला दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीमा जुटेका छन्।

पर्यटन, लगानी र नागरिकतामा केन्द्रित

रोम – १२ औं युरेपेलि गैर आवासिय नेपाली संघ (एनआरएनए) को बैठक इटालीको रोममा शुरु भएको छ। बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मन्त्री भानुभक्त ढकालले गरे। ‘युरोपका एनआरएनएहरुको उदेश्य देश विकासका लागि लगानी र पर्यटन प्रवद्र्धन’ नाराका साथ शुरु कार्यक्रममा पर्यटन, लगानी र नागरिकतासहित विभिन्न विषयमा छलफल हुने छ।

उद्घाटन कार्यक्रममा मन्त्री ढकालले नेपालको समग्र विकास गर्ने अहिले उचित समय रहेको बताए। तीनवटै तहको सरकार बनिसकेको उनीहरुले अहिले आर्थिक रुपान्तरणमा आफ्नो ध्यान केन्द्रित गरेको उनको भनाई थियो। साथै लगानी सम्मेलनदेखि लगानी गर्नका लागि वातावरण तयार पार्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार भइसकेकाले विदेशमा रहेका नेपाललीलाई लगानी गर्न अनुरोध गरे। मन्त्री ढकालले नेपालको विकास गर्न स्वदेशी स्रोतले नपुग्ने भएकाले विदेशी लगानी भित्र्याउन सरकारले प्रयत्न गरिरहेको बताए।

Rabi Lamichhane ले पाए यत्रो ठुलो प्रशंसा | Dinesh Kafle ले किन तारिफ गरे?

 

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई सर्वाेच्चले छाड्यो

काठमाडाैं- प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउने व्यक्तिलाई सर्वाेच्च अदालतले मंगलबार असाधारण क्षेत्राधिकार अन्तर्गत रिटद्वारा १० दिनपछि रिहा गरिदिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्धय दीपककुमार कार्की र हरि प्रसाद फुयालको संयुक्त इजलासले बुटवल उपमहानगरपालिका वडा नंं. १ बाट बैशाख ७ गते पक्राउ परेका आरपी भन्ने रुद्र प्रसाद घिमिरेलाई ‘गैर कानुनी थुनामा राखेको ठहर’ गर्दै रिहाई गरिदिएको हो।

घिमिरेलाई जितगढी विजयोत्सव मनाउदै गर्दा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको अभियोगमा पक्राउ गरिएको थियो भने पक्राउ लगत्तै कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले अनुसन्धानको लागि थुनामा राख्न नेपाल प्रहरीलाई निजलाई अनुमति दिएको थियो।

प्रदेश १ को मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा

विराटनगर- प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज यहाँ बसेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारको प्रवक्तासमेत रहेका हिक्मतकुमार कार्कीले बैठकले कानून मस्यौदा सुझाव समितिको म्याद थप गर्ने निर्णय गर्नुका साथै कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि २०७६ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए। यसैगरी धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिनुका साथै प्रदेश योजना आयोगको गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन गर्ने निर्णय भएको छ।

तलबले किनिदिए ज्येष्ठ नागरिकलाई लौरी

बनेपा – पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप छ। तर केही मनकारी जनप्रतिनिधि आफ्नो सुविधाभन्दा जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै क्रियाशील छन्। त्यस्तैमध्येका एक हुन् काभ्रे, बेथानचोक गाउँपालिका वडा नं. ५ का अध्यक्ष खजेन्चीबहादुर लामा। वडाभरिका ज्येष्ठ नागरिकको सुविधाका लागि दुई लाख रुपैयाँको लौरी (लट्ठी) बाँडेर उनी चर्चामा आएका हुन्।

‘उहाँहरुको पहिलो सहारा भनेकै लट्ठी हो, त्यसपछि अरु सहाराले काम गर्छ भन्ने सोचेरै पहिलो चरणमा अढाई सय लट्ठी वितरण गरेको हुँ। गाउँपालिकाबाट मासिक पाउने तलब सुविधा ज्येष्ठ नागरिकको सेवामा लगाएको हुँ’, लामाले भने। बेथान्चोक–५ का स्थायी बासिन्दा लामा सानै उमेरमा गाउँबाट कमाउन भनी काठमाडौं झरेका थिए। उनले अनेकौं हन्डर र ठक्करबीच ३० वर्षसम्म निरन्तर गलैंचा उद्योग चलाए। छोराछोरी पनि हुर्केबढेर आआफ्नो खुट्टामा उभिन सक्ने भएपछि लामा गाउँ फर्केका हुन्।

हुम्लामा अज्ञात रोगबाट मत्यु हुनेको संख्या १० पुग्यो, दुई सय बढी विरामी

हुम्ला- तीन सातादेखि हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। भने २ सय भन्दा बढी विरामी परेका छन्। अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको हो। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको छ। आज मात्रै ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको छ। यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा रहेका छन। दमको रोग भएकी बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए।

१५ खर्बको बजेट ल्याउँदै सरकार

काठमाडौं–बजेट अधिवेशनका रुपमा चल्ने संघीय संसद्का दुवै सदनको चौथो(वर्षे) अधिवेशन आज (सोमबार)बाट सुरु हुँदैछ।

यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने संघीय संसद्को महासचिव मनोहर प्रसाद भट्टराईले बताए। सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम केही दिनमै प्रस्तुत गर्ने गरी तयारी गरिरहेको छ। संवैधानिक व्यवस्था अनुसार सरकारले वार्षिक बजेट १५ जेठमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

यहि वैशाख ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौथो अधिवेशन आह्वान गरेकी थिइन्।

तेस्रो अधिवेशन सकिएपछि सांसदहरू आगामी आवको योजना तथा कार्यक्रमका बारेमा बुझ्न आ–आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए।

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीसँग राष्ट्रपतिको आग्रह

बेइजिङ – चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान बेइजिङमा चिनियाँ व्यवसायीहरुको एक भेलालाई सम्बोधन गरेकी छन्। चिनियाँ वाणिज्य सेयर बजारसँग चीनका लागि नेपाली दूताबासले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रम ‘नेपाल–चाइना आर्थिक तथा व्यापारिक मञ्च–२०१९, लगानीका अवसर र आर्थिक सहकार्य’ लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अनुरोध गरेकी हुन्।

राजनीतिक स्थिरतासँगै आर्थिक विकासको मार्गमा हिँडिरहेको नेपालमा लगानीको वातावरण राम्रो रहेको भन्दै राष्ट्रपति भण्डारीले छिमेकी मुलुकका हैसियतले नेपालमा चिनियाँ पुँजी र प्रविधि आवश्यक रहेको र चिनियाँ व्यवसायीले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उनले बताइन्। एक महिनाअघि काठमाडौंमा लगानी सम्मेलन सम्पन्न भएको र सम्मेलनमा चिनियाँ उद्यमीको राम्रो उपस्थिति रहेको बताउँदै राष्ट्रपति भण्डारीले चिनियाँ लगानीका लागि नेपाल सर्वोत्कृष्ट स्थान रहेकोमा जोड दिइन्।

संसदमा देउवाको सम्बोधनः सरकारले झुटा कुरा गर्‍यो, खबरदारी गर्छाैं

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्।

सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गरेको आरोप लगाए। ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफैले गरेको भनी प्रचार गरिएको छ’, उनले भने, ‘विरामीलाई ५ हजार भत्ता दिने मेरै नेतृत्वको सरकारको निर्णय खारेज गरिदियो। चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गराएर सरकारले गैरजिम्मेवारको पराकाष्ठा नाघ्यो। दिनानुदिन भ्रष्टाचार बढेको छ। यसरी आर्थिक विकास हुँदैन, म प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’

साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाडाैं- दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।

प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौँमा हुनेछ। बैठकले यस वर्षका लागि उमेर समूहका तीन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा आयोजना गर्ने र महिलाको साफ यु–१५ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भुटान वा बङ्गलादेश मध्ये एक देशलाई दिने निर्णय भएको छ।

अन्तरप्रदेश यु–१६ त्रिकेटको तयारी पूरा

काठमाडौं – मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबारदेखि हुने मनमोहन मेमोरियल अन्तरप्रदेश यु–१६ त्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता रहनेछ। जसअनुसार समूह ‘ए’ मा प्रदेश ७, गण्डकी प्रदेश, प्रदेश ३ र कर्णाली प्रदेश गरी ४ टोली छन् भने समूह ‘बी’ मा प्रदेश १, प्रदेश २ र प्रदेश ५ रहेका छन्। २४ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल ३० ओभरका हुनेछन्। प्रतियोगितामा ह्वाइट ड्रेस र रातो बलको प्रयोग गरिने मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले बताए।