वैदेशिक रोजगारले बनायो बेसहारा

श्रीमतीको साथ,छोरा छोरीको माया अनि दिनभरी रिक्सा जोतेर कमाएको एक हजारले सुनसरीका अब्बास मियाको घर खर्च जेनतेन चलेको थियो। तर आमा बुवा प्रतिको जिम्मेवारी अनि छोरा छोरीको आँखामा झल्किएको तिनको भविष्यको चिन्ताले अब्बासलाई दिन दिनै पिरोल्न थाल्छ। महिनाभरि रिक्सा जोतेर आफनै देशमा अब्बास जेन तेन ३० हजार त कमाउछन्।

तर त्यो ३० हजारले घरखर्छ धान्न अब्बासलाई मुस्किल पर्न थाल्छ। त्यहि चिन्ताले अब्बासलाई वैदेशिक रोजगारको बाटो समाउन बाध्य बनाउछ। जीवनमा सधैं अरुको भलो चिताउने र जाल झेल गर्न नजानेका अब्बास पाइलै पिच्छे बिछ्याइएको वैदेशिक रोजगारको जालोमा पर्छन, अनि सुरुहुन्छ उनको दु:खको कथा।

सबै लुट्यो दलालले

विदेशिने धेरै नेपालीका सपना उस्तै हुन्छन् । गन्तव्य पनि उहिं हुन्छ । अनि जाने बाटो पनि एउटै । तर, त्यहि बाटोमा दलालले बिछ्याएका जालहरु भने अनगिन्ती हुन्छन् । त्यहि भएर विदेश गएर धन कमाउला भन्ने सपना देखेका अधिकांश नेपाली दलालको चंगुलमा परेर ठगिन्छन् । फरक यति हो कोहि यहि ठगिन्छन कोहि विदेश पुगेर । कोहि ठगीएपनि विदेश पुग्न पाउछन् । तर केहीको सपना भने विदेश नपुगी टुक्रिन्छ । विदेशिने नाममा नेपालमै ठगिएका नेपालीको कथा डलरको कथाको दोस्रो श्रृंखला:

दलालको जालमा परेपछि या विदेशजाने सपनाले नेपालमै ठगिएका केहीका कथा व्यवथा मात्र हुन् यी त । गरिवी,अशिक्षा,बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन,कोहि आफन्त बाटै ठगिन्छन कोहि भने आखाँ चिम्लेर कसैलाई विश्वासगर्दा फस्छन् । वैदेशिक रोजगार सम्बन्धी पर्याप्त जनचेतनाको अभावमा सयौ नेपालीको लाखौ पैसा डुबेको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका छन् । ति १ हजार १ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै असुल गरिदिन विभागमा उजुरी गरेका छन् । जस मध्ये १५ करोड २४ लाख ४५ हजार रकम विभागले असुल उपर गराईदिएको छ भने १ सय ९१ जना बिरुद्द अदालतमा मुद्दा नै दर्ता गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ को पहिलो ३ महिनामा मात्र १५ करोड भन्दा बढी ठगिएको भन्दै २ सय ७८ जनाले विभिन्न व्यक्ति बिरुद्द उजुरी दर्ता गराएका छन् ।