किन रुख नकाटी बन्दैन निजगढ विमानस्थल ?

काठमाडौं– नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नभएको बताएका छन्। उनले यो विमानस्थलका लागि बाराजतिको उपयुक्त ठाउँ अरु कहीँ नभएको पनि बताए।

‘नेपालको टेरिटोरीमा चुरेभन्दा दक्षिण, बोर्डरबाट उत्तर तराईतिर यो लेभलको एयरपोर्ट बनाउन सक्ने ठाउँ अन्त कतै छैन्’, उनले भने, ‘भौगलिक हिसाबले उपयुक्त छ, एयर स्पेसको हिसाबले पनि उपयुक्त ठाउँमा र राजधानीको नजिकको हिसाबले पनि असाध्यै करेक्ट ठाउँमा छ।’

विमानस्थल अहिलेको आवश्यकता रहेकोले स्थान परिवर्तन हुनै नसक्ने स्पष्ट पार्दै उनले यद्यपी इआइएका केही बुँदामा त्रुटि रहेको बताउँदै त्यसलाई सच्याइने बताए।

विश्वमा सन् २०१७ मा ४ अर्ब १० करोड यात्रा गरेको र यसमध्ये एसिया प्यासिफिक क्षेत्रमा १ अर्ब ५० करोड रहेको भन्दै अबको १० वर्षमा २ अर्ब पुग्ने तथा त्यसका लागि भारत र चीन विशाल जनसंख्या भएको देशको बीचमा रहेको नेपालले अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य रुपमा बनाउनुपर्ने उनको भनाई छ।

‘नेपालको जनसंख्या वृद्धि ९ देखि १० प्रतिशतको हाराहारीमा छ। यो वृद्धि र यात्रु वृद्धिले हामी के भन्न सक्छौं भने अर्काे अन्तर्राष्ट्रिय विमानस्थल नभई नहुने भन्ने निष्कर्षमा हामी पुगेका छौं। यो बनाउनुपर्छ त्यही ठाउँमा’, निर्देशक अधिकारीले भने। फास्ट ट्रयाकले राजधानी र तराई जोड्ने भएका कारणले पनि निजगढको विकल्प नभएको उनले जिकिर गरे।

‘अहिले हामीसँग भएको काठमाडौं, पोखरा, भैरहवा विमानस्थल भुगोलअनुसार उपयुक्त विमानस्थल होइनन्। त्रिभुवन विमानस्थलमा पनि चार तत्व पुगेको छैन्’ निर्देशक अधिकारीले प्रष्ट्याए, ‘किनभने हामीले मान्नुपर्ने नियम कानुन स्ट्यान्डर र रिकुमेन्डेसन, सिभिलाइजेसन, अर्गनाइजेसन हो। त्यो आइक्यापले निर्धारण गरेको सबै मापदण्ड, स्ट्यान्डर र रिकुमेन्डेसन फुलफिल गर्न निजगढ जतिको उपयुक्त ठाउँ अरु कुनै छैन्। त्यसको लागि पनि हामीले यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनैपर्छ।’

विदेशमा पनि विमानस्थल बनाउँदा रुख काटिने गरेको भन्दै उनले भने, ‘संसारभरी एयरपोर्ट बन्ने भनेकै कि रुख काटेर हो कि समुद्र पुरेर हो।’ ‘अहिले टर्कीको इस्तानबुलमा एयरपोर्ट बन्दैछ, त्यहाँ पनि २५ लाख रुख काटेको छ’, उनले उदाहरण दिँदै थपे, ‘६ लाख रुख चाँही साच्चै काट्यो, बाँकी जिओटी गरेर अन्यत्र लगेको छ।’

उनले निजगढ विमानस्थल निर्माणका क्रममा अहिले नै २४ लाख रुख नकाटिने स्पष्ट पार्दै एयरफोर्समा पर्ने रुखहरु काटिन लागेको जानकारी गराए। ‘८ हजार हेक्टरको २४ लाख रुख अहिले हामी काट्ने होइन। ८ हजार हेक्टर भनेको विमानस्थल क्षेत्र मात्रै हो। विमानस्थल क्षेत्र भनेको सिंगल रनवे (फर्स्ट फेजको), टर्नेल विल्डिङ, अरु सञ्चार सामग्रीहरु छन्। तर एयरफोर्सको रुखहरु त काट्नुपर्यो नी। एयरफोर्समा पर्ने रुखहरु त काट्नै पर्छ’, उनले भने।

रुख काट्न हतार भएको कुरालाई अस्वीकार गर्दै भने, ‘रुख काट्न हतार गरेको होइन, नेपाली सेनासँग हाम्रो सम्झौता भएको डेढ/दुई वर्ष भइसक्यो।’