आंशिकरुपमा खुल्यो कालिमाटी तरकारी तथा फलफूल बजार

सरकारले अनुगमन गरी तरकारी नियन्त्रणमा लिएको भन्दै आन्दोलन गरिरहेका कालिमाटी तरकारी बजारका व्यापारी र बिचौलियाले बुधबारबाट आंशिकरुपमा कारोबार सुरु गरेका छन।
गत सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कालीमाटी तरकारी बजारबाट दुई वटा तरकारी बोक्ने गाडी नियन्त्रणमा लिएको थियो। विभागको १२ जनाको टोलीले उपत्यका बाहिरबाट फर्सी, काक्रोलगायतका तरकारी लिएर आएका गाडिसँग बिल बिजकलगायतका कागजात नभेटिएको भन्दै ती गाडी नियन्त्रणमा लिएको थियो।
सरकारले अनुगमन गर्दा ‘धरपकड’ भएको बहाना बनाएर विरोधमा उत्रिएका व्यापारीले मंगलबार तरकारी तथा फलफूल आपूर्ति रोकेका थिए। बजार अनुगमनमा अवरोध र हुलहुज्जत गरेको आरोपमा प्रहरीले कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव भरत खतिवडा लाई पक्राउ गरेपछि व्यापारीले विरोधलाई अझ सशक्त बनाउने भन्दै मगलबार कालिमाटी बजार ठप्प बनाएका थिए। कालीमाटी बजारबाट दैनिक साढे छ सय टन तरकारी बिक्री हुँदै आएकोमा मंगलबार न्यून कारोबार भयो। मंगलबार नै उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका प्रवक्ता नवराज ढकालले आन्दोलन नरोके कडा कारबाही गर्ने चेतावनी दिएपछि बुधबारबाट बजारमा चहल पहल बढेको हो।
तर उपभोक्ता भने बजारमा तरकारी नै नभएको गुनासो गर्छन। कालिमाटी तरकारी तथा फलफूल बजारमा तरकारी किन्न पुगेका कृष्ण मुरारी घिमिरे भन्छन, ‘म सातामा एकपटक आउँछु, आज त करेला पनि छैन, फर्सी पनि गतिलो छैन, भन्टा पनि छैन।’
तर व्यापारी रामप्रसाद खकुराल भने सरकारले व्यापारीहरुलाई बद्नाम गरेकोे आरोप लगाउछन्। सरकारले सिस्टम नबसालेकाले बिलबिजकको समस्या आएको उनी बताउछन्।
‘सरकारले बिलबिजक छैन भनेर हाम्रो अनुगमन गर्यो तर सिस्टम बसाउने तर्फ चासो नै छैन, सरकारले सिस्टम बसाउने भए हामी सोही अनुरुप काम गर्न तयार छौ, कृषकबाट नै बिलबिजक को व्यवस्था गर्नुपर्यो। ’

सडकमा मोटरसाइकलको राज

मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्।एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।

महानगरीय ट्राफिक प्रहरी वृत्त काठमाडौंका अनुसार गत वर्ष राजधानीमा १०३५९ सडक दुर्घटना भएकोमा ३७०० दुर्घटना मोटरसाइकलसँँग सम्बन्धित थिए। आर्थिक वर्ष २०७४÷७५ को जेठ मसान्तसम्म काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परेर ९७ जनाले ज्यान गुमाए।

सार्वजनिक यातायात सहज नहुनु, मुख्य सडकमा मात्रै सीमित हुनु  लगायतका अन्य कारणले सर्वसाधारण नेपालीमा मोटरसाइकल प्रतिको आकर्षण बढ्दो छ। तथ्याङ्क अनुसार काठमाडौंमा ८ लाख सहित देशभर २४ लाख भन्दा बढी मोटरसाइकल प्रयोगमा छन्। गत आ.व.मा मात्र नेपालमा प्रत्येक दिन करिब ९७० मोटरसाइकल भित्रिए।बढ्दो खपतसँगै मोटरसाइकलमा लगाइएको सवारी कर राज्यका लागि आयआर्जनको भरपर्दो स्रोत बनेको छ।