प्रहरीद्वारा जुम्लामा डाक्टर कुटपिट

चिकित्सा शिक्षामा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको छ। अनशनले गलेका केसीलाई सरकारले ‘तानाशाही शैली’ मा बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगेको हो। डा. केसीले माग पूरा नभएसम्म जुम्ला अनशन नतोड्ने बताउँदै आएका थिए। अनशनका कारण केसीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि अत्तालिएको सरकारले सुरक्षाकर्मी लगाएर उनलाई अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट उठाएर काठमाडौं लगेपछि स्थानीय आक्रोशित बनेका छन्। केसीले नमान्दानमान्दै बलजफ्ती उठाएर काठमाडौं लगिएको उनका समर्थकले बताएका छन्। केसीलाई जबरजस्ती काठमाडौं लैजान थालिएपछि प्रतिकारमा उत्रिएका अस्पतालका चिकित्सक, नर्स तथा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमाथि प्रहरी निर्ममताका साथ जाइलागेको थियो। प्रतिष्ठानको गेटमा बसेका उनीहरुका टाउकामा प्रहरीले अन्धाधुन्ध लाठी हानेको थियो। लाठी प्रहारबाट चिकित्सक, नर्स, विद्यार्थी र सर्वसाधारण रक्ताम्य भएका थिए। प्रहरी आक्रमणबाट चालीसभन्दा बढी चिकित्सक–विद्यार्थी घाइते भएका छन्। अस्पतालको तेस्रो तलामा डा. केसी थिए। भ¥याङमा बसेका विद्यार्थी, चिकित्सक र नर्समाथि पनि प्रहरीले निर्मम प्रहार गरेको थियो। लाठी प्रहारबाट ढलेका उनीहरूलाई कुल्चँदै प्रहरी डा. केसी अनशन कक्षमा पुगेका थिए। प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्न थालेपछि अस्पतालमा रुवाबासी चलेको थियो। आक्रामक बनेर अस्पताल प्रवेश गरेका प्रहरीले अस्पतालभित्र तोडफोडसमेत गरेका छन्। विद्यार्थीलाई लखेट्ने क्रममा प्रहरीले अस्पतालका बेड, टेबुल, सिसा तोडफोड गरेका छन्। अस्पतालभित्र फोडिएका सामान यत्रतत्र छन्। तोडफोडबाट प्रतिष्ठानमा लाखौं रुपैयाँको क्षति पुगेको छ।

सुशीला कार्कीको प्रश्न : मेडिकल कलेजमा व्यापार गरेर सरकारले के गर्न खोजेको ?

काठमाडौं– नागरिक अगुवाहरुले माइतीघर लगायत सार्वजनिक स्थानमा सरकारले लगाएको निषेधाज्ञा पञ्चायतकालिन शैलीको निरन्तरता भएको बताएका छन्। साथै मेडिकल कलेजमा व्यापार गर्नेगरी सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन्।

सोमबार ललितपुरमा सार्वजनिक सरोकार मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले दशकौ लगाएर स्थापित लोकतन्त्रिक ब्यवस्थाको अहिलेको सरकारले उपहास गरेको टिप्पणी गरिन्।

राजनीतिक दलहरु सत्ताको हावापानी लागेपछि बदलिएको भन्दै कांग्रेस नेताहरु गंगामाया अधिकारीलाई भेट्न गएको बिषयलाई समेत कटाक्ष गरिन्। आफू सत्तामा हुँदा वास्ता नगर्ने तर सरकार बाहिर हुँदा दोहोरो चरित्र देखाउने गरेको उनको आरोप छ।

जनताका छोराछोरीबाट महंगो शुल्क लिएर सरकारले व्यापार गर्न खोजेको आरोप लगाउँदै उनले मेडिकल कलेजमा व्यापार गरेर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरिन। सरकारले तत्काल माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उनको माग छ। ‘५०/६० लाख खर्च गरेर चिकित्सक बन्न पर्ने अनि २० हजार तलबमा काम गर्न पर्ने सरकारको यो कस्तो नीति हो?’ उनले प्रश्न गरिन्।

नन्दमाया अधिकारीलाई रातमा सम्झेर आफू झस्किने गरेको सुनाउँदे कार्कीले उनको साहसलाई उच्च सम्मान गर्दै तत्काल न्याय दिलाउन सरकारसँग माग समेत गरिन। ‘न्याय नपाएर गोरखाबाट सिंहदरबार आइपुगेकी अबला नारीलाई सरकारले भिमेसन थापाकी श्रीमतीलाई झैँ गरेर नंग्याउन खोजेको छ’, उनले भनिन्, ‘सरकारलाई एउटी नारीले दिएको यो चुनौतीले ग्लानी हुनपर्ने हो।’

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले जनताको आवाज प्रस्फुटन गर्ने स्थललाई निषेधित क्षेत्र घोषणा गर्नु पञ्चायती शासनको झल्को भएको भन्दै सरकारको आलोचना गरे। दश बर्षसम्म शिक्षा स्वास्थ्य जस्ता आधारभुत मुद्दालाई जनमैत्री बनाउने भन्दै युद्ध लडेर आएकाहरु नै अहिले जनताविरुद्ध उत्रिएको उनको आरोप छ।