Pension program for Farmer | Bridge Train | What’s Trending – Ep. 3 | यो हप्ता के रह्यो चर्चामा?

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक शुक्रवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

वामदेव गौतमको रहरले नेकपा शीर्ष तहमै विवाद।

नेपाल कम्युनिस्ट पार्टी्भित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिइरहेका बेला नेता वामदेव गौतमले उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ। नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं–७ बाट निर्वा्चित सांसदलाई राजीनामा गराएर संसद्मा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भनै चर्काएको हो। मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलनमार्फत गौतमका लागि राजीनामा दिने घोषणा गरेका थिए।
सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमसँग छलफल गरी राजीनामा दिन लागेको जनाएपछि नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्नुपर्ने बताएका छन्। पोखरेलले भनेका छन्, ‘प्राप्त भएको उचाइसँगै चुनौती पनि प्रकट हुन सक्छन् भन्ने कुरालाई यति बेला पनि हेक्का राख्नु जरुरी छ।

नेपाल प्रहरी सफल छ, तर पर्याप्त होइनः प्रधानमन्त्री ओली।

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेपनि त्यो पर्याप्त भने नभएको बताएका छन्।
नेपाल प्रहरीको ६३औं स्थापना दिवस समारोहलाई संबोधन गर्दै अपराध अनुसन्धानमा नेपाल प्रहरीको सफलता ९० प्रतिशत रहेको भन्दै ओलीले कुनै विषयका असफलताले नकरात्मक असर पर्न जाने भन्दै प्रहरीको साख रक्षाका लागि नेपाल प्रहरी थप व्यवसायिक हुन जरुरी रहेको औल्याए। प्रहरीले ९० प्रतिशत अपराधी पत्ता लगाए पनि त्यो पर्याप्त होइन,’ उनले भने, साख जोगाउन नेपाल प्रहरी अझै व्यवसायिक बन्नैपर्छ।’
ओलीले नेपाल प्रहरीलाई अझै नागरिकमूखि बनाउन सक्दा सरकारकै प्रभावकारिता देखिने भन्दै प्रहरीको मनोबल बढाउने कृयाकलाप सञ्चालन गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए। ‘प्रहरीलाई थप साधनश्रोत सम्पन्न बनाउन जरुरी छ,’ उनले भने, ‘ त्यसका लागि सरकार लागि रहेको छ। यसका लागि सरकार प्रतिवद्ध छ।’

कञ्चनपुरमा थप २ प्रहरी निलम्बित।

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको घटनास्थल अनुसन्धानमा जिम्मेवार प्रहरीहरुले गम्भीर लापरबाही गरेको पाइएको बताएको छ।
कार्यालयले गम्भिर लापरबाही गरेको भन्दै उक्त घटनाको अनुसन्धानमा संलग्न थप २ जना प्रहरीलाई निलम्बनसमेत गरेको छ। निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत घटनास्थल अनुसन्धान अधिकृत प्रहरी नायव निरिक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन।
स्थानीयले समेत उनीहरुमाथि घटनापछिको अनुसन्धानमा प्रमाण लोप गर्ने काम मा सक्रिय रहेका आरोप लगाउँदै आएका थिए।। पन्तको हत्याको सम्बन्धमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको भूमिका छनविन गर्न प्रहरी प्रधान कार्यालयले एक छानविन समिति गठन गरेको थियो।

किसान पेन्सन कार्यक्रम।

राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्य्विधि तय गरेको छ। कार्य्विधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन। मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न आयोगले कार्यक्रमको कार्य्विधि तयार गरेको हो।
कार्य्विधिभित्र मुख्यरुपमा किसानका वर्गीकरण, परिचयपत्र वितरण तथा योगदानमा आधारित पेन्सन सहुलियतसम्बन्धी व्यवस्था रहेको बताइएको छ। साथै पेन्सन कार्यक्रमभित्र मुख्यतः किसानलाई सहुलियतरुपमा मल, बीउबिजन, नगद अनुदान, बीमाजस्ता क्षेत्रलाई सम्बोधन हुने छ।

बन्धक बनाइएका तीन महिलाको उद्दार।

ओमनमा जागिर लगाइदिने भन्दै दलालले भारत पु(याएका तीन नेपाली महिलाको उद्दार गरिएको छ। मनकामना एकता फाउन्डेसन र प्रहार जनशक्ति पार्टीले उत्तरी मुम्बइको एउटा घरमा बन्धक बनाएर राखिएका तीन महिलाको उद्दार गरेको हो।
फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपानेलाई एक अपरिचित व्यक्तिले फोनमा तीन महिलालाई एक घरमा बन्धक बनाएको सूचना दिएपछि उनको पहलमा महिलाहरुको उद्दार गरिएको हो। न्यौपानेले फाउन्डेसनका अन्य पदाधिकारीलाई खबर गर्दा फाउन्डेसनका पदाधिकारी कम्लेश सिंह जनशक्ति पार्टीको कार्यकर्ता रहेको र उनले आफ्नो पार्टीलाई खबर गरेपछि प्रहरीको सहयोगमा उनीहरुको उद्दार भएको हो।

जनकपुर आइपुग्यो ‘ब्रोडगेज रेल’।

पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल रेल विभागका साइट इन्जिनियर विनोदकुमार ओझाको दाबी छ।
सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालबाहक बोगी (डब्बा) सहित रेल बुधबार दिउँसो जनकपुर आइपुग्यो। उक्त रेलले अनुमानित पाँच हजार टन ब्लास्ट (गिटी) बोकेर जनकपुर आएको इन्जिनियर ओझाले बताए। सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणक्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलवेको स्तरोन्नति गर्ने सम्झौता भएको थियो।

दसैं आयो तर खुलेन सडक।

दसैं आयो तर घर जाने बाटो छैन्। सडकमा घर भन्दा ठुला ढुङ्गा छन्। वर्षा सकिएको एक महिना बढि भयो तर पनि समयमा खुलाउने प्रयास कतैबाट पनि भएन,’ सदरमुकाममा पढ्ने रोल्पा थवाङका रबिन रोका मगरले पैदल घर जानुपर्ने पीडा पोखे। ‘बाटो खनेर के गर्नु ४ महिना भयो गाडी चल्न सक्दैनन्। आधा बाटोसम्म बल्ल बल्ल गाडी जान्छ रे। त्यहाँबाट हिड्नु पर्छ।’ अहिले दाङ, होलेरी थवाङ सडक खण्ड अन्तर्गत छेर्लावाङसम्म दुख सुख सवारी साधन चले पनि त्यो भन्दा अगाडि सडक अवरुद्ध छ।
सडक मर्मत नहुँदा रोल्पालीलाई मात्र नभएर पूर्वी रुकुमका जनतालाई समेत असहज भएको छ। कार्यालयको कामले सदरमुकाम लिवाङ आएका थवाङ गाउँपालिकाका कर्मचारी अधिकार बुढा दसैं मनाउन आफ्नो घर पूर्वी रुकुम कसरी जाने भन्ने चिन्तामा छन्। उनी भन्छन ‘दसैं आइसक्यो। घर जानुपर्ने बाटो खुल्ने छाट छैन। छेर्लावाङसम्म त वाइक जान्छ। त्यहाँबाट हिँडेर जाने त होला। भन्न त दसैंसम्म खुल्छ कि भन्छन।’
करिब ४ महिनादेखि सडक अवरुद्ध भएपछि स्थानीयलाई आवत जावत गर्न मात्र नभएर दैनिक उपभोग्य सामग्री ओसार पसारमा पनि सकस परेको छ। गाउँ भन्दा बाहिर बस्नेहरू दसैंको लामो बिदा मनाउन घर फर्किने सोच गाराइरहदा सडक सम्झेर दिक्क पर्ने गर्दछन।

११ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस।

गृह मन्त्रालयको बढुवा समिति सचिवालयले ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा सिफारिसका लागि शनिवार बसेको समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उप(नियम (४) बमेजिम बढुवा सिफारिस गरेको जानकारी दिएको छ।
समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ भने विकास श्रेष्ठलाई दुई नम्बरमा डिआईजीका लागि बढुवा सिफारिस गरेको छ। सिफारिस हुने अन्यमा क्रमशस् ठाकुर प्रसाद ज्ञवाली, पुर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्य प्रसाद उपाध्याय रहेका छन्।

सीके राउत प्रहरी नियन्त्रणमा।

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। रौतहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ। सिके राउतका समर्थकहरु गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि बाक्लै संख्यामा उपस्थित थियो।