हजार होइन लाखौलाई मुलुकमै रोजगारी दिन्छौ: मन्त्री बिष्ट

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्दै मुलुकमै वर्षेनी लाखौ नेपालीलाई रोजगारी सिर्जना गर्ने दाबि गरेका छन् । यसै वर्षको बजेटमा समावेश गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा विभिन्न राजनीतिक दलका युवा संगठनका पदाधिकारीहरु सँग गरिएको छलफलमा मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई सबैको साझा कार्यक्रम बनाउने बताए । मुलुको सबै भन्दा ठुलो समस्या गरिवी र बेरोजगारी भएको उल्लेख गर्दै मन्त्री बिष्टले त्यसलाई अन्त्य गर्ने गृहकार्यको अन्तिम चरणमा मन्त्रालय पुगेको जनाए ।

विकास बजेटको कम्तिमा २० प्रतिसत बजेट रोजगारी सिर्जना गर्न अनिवार्य खर्चिनु पर्ने बाध्यकारी व्यस्था मन्त्रिपरिषद मार्फत स्वीकृत गर्ने तयारीमा रहेको समेत मन्त्री बिष्टले बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्द युवा संगठनका प्रतिनिधीहरुले युवा र निजी क्षेत्र सँग सहकार्य गरेर रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका थिए । सभागीहरुले व्यसायिक शिक्षामा जोड दिन,सीप भएकालाई अवसर प्रदान गर्न,उद्यमीका समस्या समाधान गर्न,प्रधानमन्त्री रोजगार कार्यक्रमलै पार्टीको नीति भन्दा मुलुककै नीतिका रुपमा लिन आग्रह गरे ।

सहभागीहरुले रोजगारी अभावले मुलुकमा विभिन्न हिंसात्मक घटना बढेको भन्दै राष्ट्रिय गौरवका आयोजनामा युवा शक्तिलाई सामेल गराउन आग्रह गरेका थिए ।