Story of Transgender

तेस्रो लिङ्गीहरुको समूहमा दिलु बुदुजालाई बद्री दाईु भनेर नचिन्ने सायदै होलान्। बद्री जन्मदा छोरी भएर जन्मिए तर हुर्कंर्दै जाँदा उनमा छोराको जस्तो व्यवहार र हाउभाउ बढ्दै गयो। गाँउघरमा उनको व्यवहारको खुवै चर्चा हुन थाल्यो। लाहुरेकी बहिनी उनी तेस्रो लिङ्गी हुन् कि भनेर सोधखोज हुने गरेको विगत अहिले पनि सम्झन्छन् बद्री। उनका बुवाको सानैमा मृत्यु भयो। आमा, दाजु र दिदिहरुले केटाको जस्तो व्यवहार सुधार्नका लागि धेरै पटक चेतावनी दिए, पिटे पनि तर बद्रीको व्यवहार परिर्वतन भएन।

बद्रीलाई राम्रो शिक्षा दिइयो। घरको परिवारको चित्त बुझाउनको लागि दिलु कुमारीबाट नागरिकता झिके। उनी विदेश पनि गए। विदेशबाट फर्के पछि उनले २०६८ सालमा दिलु बुद्दुजाबाट नागरिकता झिके। तर त्यसपछि विडम्बना बद्रीले कहिल्यै विदेशमा कामदारको रुपमा जाने अनुमति पाएनन्। बद्री अहिले पनि नेपाल कम्यूनिष्ट पार्टी म्याग्दीका जिल्ला नेता हुन्।

उनी २०४६ को जनआन्दोलन चलिरहेकै समयमा म्याग्दीबाट काठमाडौं पहिलो पटक आएका थिए। त्यतिबेला बेला राजधानी आँउदा हिजडा भन्दै प्रहरीले कुटेको नमिठो सम्झना छ उनी सँग। बद्री तेस्रो लिङ्गीको अभियानमा लागेको १८ वर्ष भैसक्यो। व्लुडाइमण्ड सोसाइटी , मितिनी नेपाल हुँदै अहिले समावेशी मंच नेपालसँग आवद्व भएर तेस्रो लिङ्गीको अधिकारका लागि लडिरहेका छन्। परिवार, समाजबाट हेपिएका गे, लेस्वीयन, ट्रान्सजेन्डर (पुरूष–महिला र महिला–पुरूष) र वायोसेक्सुअल (महिला,पुरूष दुवैप्रति आर्कर्षित हुने) इन्ट्रासेक्सुअल (महिला,पुरूष नछुट्टिएको) छन्। समाजबाट मात्र होइन अहिले राज्यबाट समेत हेपिएको गुनासो छ उनीहरुको। बद्रीले नयाँ संसोधित ऐनमा समलिङ्गी विवाहका पक्षमा उल्लेख नगरिएकाले कानुनी रुपले असुरक्षीत भएको भन्दै धेरै ट्रान्सजेण्डरका पार्टर्नले समेत छोडेर गएको बताए। जसले गर्दा अनौपचारिक रुपमा विवाह गरेर बसेका वा लिभिङ टुगेदरमा बसेका तेस्रो लिङ्गीहरु समस्यामा परेका छन्।

त्यसै पनि तेस्रो लिङ्गीलाई घरबेटीले कोठाभाडा दिन मान्दैनन्। कहि काम गर्न गयो हेपाहा प्रवत्ति हुन्छ। जसले गर्दा ट्रान्सजेण्डर सडकमा ुसेक्सु रोजीरहेका छन्। परिवारले उनीहरुमा आएको प्राकृतिक परिवर्तनलाई अस्वीकार गर्दाको तनाब अर्को छ। तेस्रो लिङ्गीमा महिलाबाट पुरूष बन्नेहरुले पाठेघर फ्याँक्ने प्रवृत्ति अहिले धेरै चलेको छ। पटक पटक महिनावारी हुने भएको कारणले पनि यसो गर्ने गरेको बद्रीले कुराकानीको क्रममा बताए। तर बद्रीले भने आफु प्राकृतिक रुपले जस्तो छन् त्यस्तै स्वीकार गरेको बताए। अरु ट्रान्सजेन्डरलाई पनि त्यस्तै स्वीकार गर्न उनको सुझाव छ।

पुरूषबाट महिला बनेका ट्रान्सजेन्डरहरुले भने छाती बढाउने, दाह्री जुङ्गा नआउने हर्मोनको औषधी प्रयोग गर्ने गरेका छन्। यो सहज र सस्तो छ। यसले ट्रान्सजेन्डरहरुमा शरिरमा एलर्जी हुने समस्या देखिएको छ। केहि पैसा भएकाहरु जो पुरूषबाट महिला बनेका छन् उनीहरुले स्तनमा सिलिकन प्रयोग गरेका छन्। लिङ्ग समेत परिवर्तन गराएका छन्। तर अंग प्रत्यारोपण गराउने केहि ट्रान्सजेन्डरमा समेत इन्फेक्सन भइरहने समस्याले सताएको छ।