भारतले सप्तकोसीको नदीको बहाव परिवर्तन गरिदिंदा सप्तरीका हजारौं घर डुवानमा

सप्तरी– सोमबार अबेर साँझ बस्ती पसेको बाढी अझै साम्य भएको छैन्। थोरै पानी घटेको छ तर अवस्था भने उस्तै। अझै घरहरुमा डेढ फिटसम्म पानी रहेको स्थानीय पीडितहरुको भनाई छ। बस्तीको तल्लो भेगमा भने ५ फिटसम्म पानी रहेको स्थानीयहरु बताउँछन्।
सप्तकोसी नदीको बहाव पश्चिमतर्फ मोडिएका कारण पछिल्लो तीन दिनदेखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा झण्डै ५ सय बढी घर डुबानमा परेका छन्। रातको समयमा एक्कासी बाढी बस्ती पसेका कारण खद्यान्न, लत्ता कपडा लगायतका दैनिक उपभोग्य सामग्रीहरु समेत निकाल्न नसकिएको बाढी पीडितहरुको भनाई छ।
सोमवार रातिदेखि नै झण्डै तीन हजार बाढी पीडितहरु आ–आफ्नो घर बस्तीबाट विस्थापित भई कोसी पश्चिमी तटबन्ध लगायतका सुरक्षित स्थानमा बसिरहेका छन्। ‘न त ओत लाग्न सक्ने भरपर्दो साधन छ, न त खाद्यान्न र खानेपानीकै उचित प्रबन्ध’, हनुमाननगर कंकालिनी नगरपालिका–१२ का जलेश्वर मुखियाले गुनासो गरे, ‘घर बस्तीमा बाढी पसेको छ बाहिर चर्को घाम, छाला जलाउने घाममा बाहिर बस्न सक्ने अवस्था छैन, रातविरात बर्षा भइदियो भने कलिला बालबालिका र महिलाहरुलाई लिएर कहाँ ओत लाग्नु त्यसको पनि समस्यै हुन्छ।’

पछिल्लो दुई दशक देखि पूर्वि तटवन्ध छेउवाट वग्ने गरेको कोशी नदिको वहावलाई भारतको विहार राज्य सरकार मातहतको कोशी योजनाले सन् २०१० यता कोशी नदिमा पाइलट च्यानल खनेर वहावलाई पश्चिम तर्फ फर्काईएको हो । झण्डै २५ वर्ष पछि कोशीको वहाव पश्चिमी तटवन्ध तर्फ मोडिएको हो । प्यालट च्यानल निर्माणकालागि कोशी योजनाले गत आर्थिक वर्षमा २५ करौड भारू खर्चेको कोसी योजनाको विरपुर स्थित कार्यालयले जनाएको छ ।