रामबाबु, जसले एसिड हानेर कुरुवाको नाटक गरे

सोमवार अपरान्ह युवतीमाथि एसिड प्रहारको समाचार संकलन गर्न हामी कीर्तिपुर अस्पताल पुग्यौं।

पीडित किशोरीहरु सम्झना र सुस्मिता दास अस्पतालको बेडमा छटपटाई रहेका थिए। भदौ २९ गते मंगलबार राति १२ बजे चन्द्रपुर नगरपालिका ६ बजारटोलका दास दिदी बहिनीमाथि एसिड प्रहार भएको थियो। चन्द्रपुरमा उपचार सम्भव नभएपछि उनीहरुलाई बुधबार बिहान काठमाडौंको कीर्तिपुर ल्याइएको हो।

पीडित किशोरीका बाबु जादवलाल दास छोरीहरुको उपचार खर्च जुटाउन नसक्दा निराश देखिन्थे। उनी बारम्बार जिल्ला प्रहरी कार्यालयमा फोन गर्दै अपराधी पत्ता लागे नलागेको जानकारी लिइरहेका थिए।

किशोरीकी आमा पर्शिला दास आफ्नो चार महिने शिशु स्याहार्दै बसेकी थिइन। उनी छोरीलाई भेट्न बारम्बार भित्र जान्थिन। घटनाबारे किशोरीका बाबु आमा र चिकित्सकसँग कुरा ग¥यो।

चिकित्सकले एसिड खन्याएको पत्ता लागेपछि शरीरमा पानीले नुहाएकाले केही मात्रामा खतरा कम भएको बताए।

त्यहीँ भिडमा थिए अर्का एक बयस्क व्यक्ति, हेर्दा ४५/५० वर्षका। कपाल औसत भन्दा लामो, अनुहार हतास तर केही नबोल्ने। उनी नयाँ मान्छे आउँदा दायाँबायाँ हेर्ने र छिटपुट रुपमा जादवलाललाई सहयोग गर्ने गरेको देखिन्थ्यो।

हामीले उनलाई घटनाबारे प्रश्न गर्दा, आफू पीडित परिवारको नजिकको छिमेकी रहेको र एसिड प्रहार भएको थाहा पाउने बित्तिकै आफूले किशोरीलाई कलमा नुहाइदिएको बताए।

रामबाबुले त्यसरात ‘तेजाब पो रहेछ’ भन्दै कलमा दुवै किशोरीलाई नुहाइदिएका थिए। लगत्तै रामबाबु किशोरीका बाबुको सहयोगी बन्दै अस्पताल आए। चन्द्रपुरमा उपचार सम्भव नभएपछि सहयोगी छिमेकीको अभिनय गर्दै काठमाडौंसम्म आइपुगे।

कसैले रामबाबु माथि शंका गरेनन तर जादवलालले जेठी छोरी सम्झनासँग गरेको कुराकानीले सबै स्पष्ट भयो।

छोरीको भर्खरै होस आएकाले लामो कुरा गर्न सकेनन। बारम्बार आएको कल र छोरीसँगको कुराकानीलाई आधार मानेर जादवलालले रामबाबुमाथि किटानी जाहेरी दिए।

त्यसपछि उनी रामबाबु नजिकै गएर अपराधी पत्ता लागिसकेको र अब चाडै नै पक्राउ पर्ने बताए। रामबाबुको अनुहारको रंग एकाएक उड्यो। उनी आफ्नो फोनलाई कुनामा मिल्काएर अपराधीबारे अनविज्ञताको नाटक गरेर बसे। त्यसको केही बेरमै प्रहरीले रामबाबुलाई पक्राउ गरेर सार्वजनिक ग¥यो।

पछिल्ला दुई महिनामा पासवानले सम्झनालाई ३ सय पटक भन्दा बढी फोन गरेका थिए। पासवानको कल डिटेल र पीडित किशोरीका पिताको किटानी जाहेरीबाट घटना भएको ६ दिनपछि पासवानलाई कीर्तिपुरबाट पक्राउ गरेको छ।

रौतहट प्रहरीका अनुसार सम्झनालाई एकोहोरो प्रेम गर्ने रामबाबुले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको खुलेको छ।