यो के.पी ओलीको सरकार ठूल्ठूला गफ गर्ने मात्र होइन निरंकुश बन्न खोजिरहेछ

काठमाडौं– नेकपा मालेका महासचिव सीपी मैनालीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निरंकुश बन्ने बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्।
प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ (प्रिकोन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता मैनालीले एकतर्फी निषेधित क्षेत्र घोषणा गरेर सरकार निरंकुश बन्न खोजेको बताए।
‘सरकार ठूल्ठूला गफ गफ गर्ने र साना कुरा नगर्ने मात्र होइन निरंकुश पनि बन्न खोजिरहेको छ, अब कहाँ जुलुस गर्ने, कहाँ प्रदर्शन गर्ने भनेर निषेध गरेको छ। त्यो ठाउँ तोक्नको निम्ति राजनीतिक दलबाट सुझाव लिनुपथ्र्यो। एकतर्फी रुपमा गएपछि नागरिक समाज, दलहरु सबैले विरोध गरे’, उनले भने– ‘हिजो मात्रै सर्वाेच्च अदालतले यसलाई खारेज गरिदियो, अब सर्वाेच्चले एकैचोटी खारेज गर्नुपर्ने निर्णय किन गर्नु? सरकार निरंकुश बनिरहेको छ।’
नेता मैनालीले अघिल्लो सरकारले सबैको सहमतिमा ल्याएको चिकित्सा शिक्षा अध्यादेशलाई पारित गर्न छाडेर विधेयक ल्याउनु गलत भएको बताए। ‘कार्यान्वयनको सम्बन्धमा लत्याएर नयाँ ल्याउनु गलत हो’, उनले भने।
उनले आफ्नो चीन भ्रमणमा प्रधानमन्त्री ओलीले लिपुलेकबारे कुरा नउठाएकोमा आलोचना गरे। भारतसँग भएको सम्झौता चीनले पुनर्विचार गर्छु भन्दा भन्दै भारत भ्रमण पछि चीन गएका ओलीले यस विषयमा कुरा नउठाउनु रहस्यमय भएको उनको भनाई थियो।
चीन भ्रमणमा सम्झौताहरु हुनु सुखद भएपनि कार्यान्वयन हुन्छन कि हुँदैनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए। ‘चीनसँग जे सम्झौता भएको त्यो ठिक, कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने मुख्य प्रश्न हो। भारतमाथिको परनिर्भरता हट्छ कि हट्दैन भन्ने मुख्य कुरा हो’, उनले प्रश्न उठाए।