म्याग्देली पुजालाई पूर्व न्यायाधीशको सहयोग

म्याग्दीकी पुजालाई पूर्व न्यायाधीशको सहयोग काठमाडौं– चरम गरिबीको कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी म्याग्दीकी पुजा खत्रीलाई सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले आर्थिक सहयोग गरेका छन्। केसीले पुजाको पठनपाठनको लागि २५ हजार सहयोग गरेका हुन्। बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीले बृद्ध हजुरबुबा, भाईबहिनीको रेखदेख, विहान बेलुकी हातमुख जोड्न समेत गाउँघरमा माग्न हिड्नुपर्ने भएकाले विद्यालयमा प्रयाप्त समय दिन नसक्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र सहितका समाचार नागरिकन्यूजमा प्रकाशित भएको थियो। समाचार प्रकाशन भएपछि उनको अध्ययनको लागि स्वदेश तथा विदेशबाट सहयोग आउन थालेको छ। जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले गत भदौ १ गते विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई रहर भएपनि बाध्यताले नियमित विद्यालयमा आउन नसक्ने अवस्थालाई जनाउ दिदैं आफ्नो नाम कक्षाको रजिष्टरबाट हटाइदिन अनुरोध गरेको पत्रले सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। यस अघि खत्रीलाई जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले २१ हजार सहयोग गरेका थिए। खत्रीको अध्ययनको लागि सहयोग आउने क्रम जारी रहेको छ।