मान्दिन भन्नेलाई कानुनी कारवाही गर्छौ: कानुन मन्त्री ढकाल

कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुन मान्दिन भन्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन्। सोमबार कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले कानुन मान्दिन भन्नेलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने स्पष्ट पारेका हुन्। भर्खरै संसदबाट पारित अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयकमा संशोधनको माग गर्दै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को घोषणापछि मन्त्री ढकालको जवाफ आएको हो। ‘यदि कसैले कानुन मान्दिन भन्छ भने भएका कानुनअनुसार नै कारवाही हुन्छ’, उनले भने, ‘प्याब्सनले आन्दोलन गर्यो, नयाँ ऐन मान्दिन भन्यो भने कानुनी कारवाही गर्छाैं।’ मौलिक हकको कार्यान्वयनका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले न्यायाधिशको सम्पत्ति विवरण गोप्य नराखिने तर तत्कालै सार्वजनिक नगरिने आशय व्यक्त गरे। ‘न्यायाधीशको सम्पत्ति विवरण सम्बन्धमा पछिल्ला कानुनले पनि थप पारदर्शी बनाउने व्यवस्था गरेको छ। अहिले नै सार्वजनिक त हुँदैन तर गोप्य रहँदैन्’, उनले भने। मन्त्री ढकालले स्थानीय तह, प्रदेश र संघबीच साझा अधिकार छुट्याउन कानुन ल्याउने जानकारी दिए।