महिलाको अस्मिता मिलापत्र गर्ने कुरा होइन : प्रहरी प्रवत्ता

पछिल्लो समय देशैभर बलात्कारका घटना बढीरहेका छन् । कति घटना दबाउन त प्रहरीकै मिलोमतो रहेको स्थानीयको आरोप छ । कंचनपुरमा भएको निर्मला पन्त बलात्कार पछि हत्याको घटना र प्रहरीसँग जोडिएका अन्य घटनालाई जोडेर नेपाल प्रहरी प्रवक्ता शैलेस थापासँग गरिएको कुराकानी:

पछिल्ला दिनमा देशभर बढेका बलात्कारका घटना अनि त्यसमा प्रहरीको निष्पक्षतामा उठेका प्रश्नलाई प्रहरी हेडक्वाटरले कसरी हेरेको छ ?

यदाकदा प्रहरीबाट लापरबाही भएको कुरा पक्कै हो तर हामीले यो बिषयलाई पहिलेदेखि गम्भीर रुपमा हेर्दै आएका छौ र त्यस्ता मुद्दाहरू हेर्न महिला तथा बालबालिका सेवा निर्देशालय नै खडा गरिएको छ । संगठन भित्र रहेका विभिन्न सेल र ब्युरो मार्फत त्यस्ता घटना छानबिन गर्न हामी लागि पर्दै आएका छौ र गल्ती गर्ने प्रहरी अधिकृतहरुलाई हामी दण्डित पनि गरिरहेकै छौ ।

 

प्रहरी अधिकृत नै कारबाहीमा परेको कुनै उदाहरण छ ?

छ । दरबार मार्गको घटनामा हामीले डीएसपी र इन्स्पेक्टर लगायतलाई विभागीय कारबाही गर्यौ, सुनसरीको घटनामा तत्कालिन एसपी लाई नै निलम्बन गर्यौ । कन्चनपुरकै घटनामा पनि प्रहरी अधिकारीहरु कारबाहीको दायरामा छन् । हामी अनुसन्धान गरिरहेकै छौ । गल्ती गर्ने प्रहरीलाई हामी कठोर सजायँ दिनमा ढिला गर्दैनौ ।

 

यस्ता घटनाहरु बढ्नुको कारण चै के होला?

दर्ताको हिसाबले हेर्दा यो चेतना स्तरको वृद्धि नै हो, त्यसमा पनि हामीले हाम्रो संगठन भित्र महिला अस्मिताका बिषयमा आउने उजुरीहरु मिलापत्र गर्न हुदैन भनेर संदेश प्रवाह गरेका छौ । खासगरी त आजभोली महिलाहरुले हिंशा सहन हुँदैन भन्ने ज्ञानको वृद्धि नै हो, अपराधका घटनाहरु प्रहरी समक्ष पुर्याउ भन्ने चेतना नै हो । तेश्रो कारण भनेको अनियन्त्रित इन्टरनेट प्रयोग हो, अपरिपक्व किशोर किशोरीहरुले के कुरामा समय बिताउँछन भन्ने कुरामा अभिभावकको चासो शून्य प्राय छ । सामाजिक संजालको दुरुपयोग र अधिक प्रयोगले पनि यस्ता घटनालाई बढावा दिएको हो । र चौथो कारणमा एकल परिवार हो । पारिवारिक माहोल कम रहने र अभिभावकत्व कम हुँदा पनि यस्ता घटना बढेका छन । श्रीमान् वा श्रीमती वैदेशिक रोजगारमा जाँदा घरमा अभिभावकको खाचो हुन्छ ।

 

तर जनताले प्रहरीले केही गरेन भन्ने आरोप लगाउने गरेका छन् । घटनाहरु दिनानुदिन बढिरहेकै छन् के गर्दै छ प्रहरीले ?

प्रहरीको मुख्य र एकल भूमिका अनुसन्धान नै हो तर यस्ता घटना रोकथाममा भने सबैको चासो हुनु पर्ने देखिन्छ । त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक छ । विद्यालय,आमा समूह, संचार माध्यम, राजनैतिक दल मन्त्रालय लगायत सबैले सहयोग गरे यस्ता अपराधिक घटना न्यूनीकरण गर्न सकिन्छ । यसमा हामीले जनताको घर घरमा पुग्न कुनै कसुर बाकि राखेका छैनौ ।

 

अनुसन्धान माथि प्रश्न आउने गरेको छ नि ? पछिल्ला धेरै केस दबाउन प्रहरी नै मिलेको कुरा बाहिर आएको छ । स्थानीयले प्रहरीको निष्पक्षता माथि पनि प्रश्न गरेका छन् ?

अनुसन्धानको प्रशंगमा हामी माथि आउने आरोप साँचो हो । तर अहिलेको समयमा प्रहरीले कसैलाई फसाउने कुरा सम्भव छैन । विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेका छौ । बिना सबुत कसैलाई दोषी करार गर्न सकिने अवस्था छैन । अनुसन्धानलाई चुस्त बनाउन कतिपय अवस्थामा डग स्निफिंग,पोस्टमार्टम, फोरेन्सिक ल्याबको प्रयोग गरिरहेका छौ । हाम्रो मुलुकमा अनुसन्धानमा तीन पक्ष सामेल हुन्छ । प्रहरी अनुसन्धान, सरकारी वकिल र जिल्ला अदालत, सरकारी वकिललाई हामीले गरेको अनुसन्धानमा शंका लागेमा प्रश्न उठाउन सक्ने अधिकार पनि हुने भएकाले कसैले गलत नियत राखी निर्दोष नागरिकलाई फसाउने कुरा सम्भव छैन ।

 

तर अमुक व्यक्तिका छोरा वा भतिजा जोगाउन प्रहरी लागेको आरोप पनि छ ?

त्यस्तो होइन । प्रहरी आफैमा एउटा उच्च छवि बनाएको संगठन हो । व्यवसायिक अधिकृतहरुको संगठन हो । हामी त्यसमा आँच आउने गरि काम गर्दैनौ र गर्न दिदैनौ ।

 

जोगाउन नलागे पनि फसाउन लागि परेका आरोप त प्रशस्तै होलान ?

सम्भव छैन, फिंगर प्रिन्ट र डीएनए परीक्षणको युगमा यी आरोप मिथ्या हुन । प्रहरीले सबुत प्रमाण सहित अदालत पेश गर्दा पनि अदालतबाट प्रमाणित नभए बेइज्जत हुन्छ । अपराधि करार हुँदैन । प्रहरीकै बलमा कसैलाई आज अपराधि भनेर भोली छोड्ने भन्ने हुन्न ।