भक्तपुरमा डुबान

भक्तपुर – बुधबार रातिदेखिको भीषण वर्षाले भक्तपुर डुबानमा परेको छ । डुबानमा परी  एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरीमा रहेको एउटा अस्थायी टहरामा रहेका तीनजनाको मृत्यु भएको छ।  मृत्यु हुनेहरूमा ७० वर्षीया हीरा लामा,
६५  वर्षीया दानमाया र दुई वर्षीया सम्पदा लामा रहेका छन् । उद्दार कार्य तीव्र रहेको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।

अविरल वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आएको छ। बाढीले खोला आसपासका क्षेत्र डुबानमा परेका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण विहान ३ बजेदेखि खोला आसपासका क्षेत्रको जल सतह बढेपछि खोला छेउछाउ बस्नेहरु विस्थापित भएका छन्।

डुबानले च्याम्हासिहंबाट जगाती जने पुल आसपासका क्षेत्र, महेश्वरी खेलमैदान, राममन्दिर क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण रातिदेखि अवरुद्ध भएको जगातीदेखि च्याम्हासिंहसम्मको मोटरबाटो बिहान साढे आठ बजेदेखि खुलेको छ।

त्यसैगरी निकोसेरा राधेराधे क्षेत्र पनि डुवानमा परेको छ । अस्थायी टहरा बनाइ बसिरहेका भूकम्प प्रभावित समुदाय यस बढीबाट बढी जोखिममा परेका छन् । बाढी टहरामा पसेदेखि उनीहरु रातिदेखि नै जाग्राम छन्। डुबानबाट पूरै जनजीवन अस्तव्यस्त भएको छ।

यहाँका स्थानीय अस्पतालहरु पनि डुबानमा पर्दा उपचाररत बिरामी, चिकित्सक आवतजावतमा समेत समस्या परेको मात्र नभई अस्पतालको पहिलो तल्लाको बिरामी राख्ने वेडसमेत डुबानमा परेपछि अस्पतालको आकस्मिक र नियमित सेवा अबरुद्ध भएका छन् ।